शारीरिक अपंगतालाई मानसिक तन्दुरुस्तीले ओझेल पार्न सकिन्छ भन्ने विश्वास छ भक्तपुरकी प्रिता बल्ललाई । आँट, लगनशीलता र त्याग गर्न सकियो भने सफलता नजिकिनुको विकल्प नै नहुने उनको तर्क छ । मस्तिष्क पक्षघात भई शारीरिक अपांगतामा जीवन बिताइरहेकी उनी स्नातक तह उतीर्ण गर्न सफल भइन ।
भक्तपुर नगरपालिका-३ तेखापुखू निवासी प्रिता आफैंले केही पनि गर्न सक्दिनन् । उनको हातखुटासहित कुनै पनि अंगले प्रभावकारी कामै गर्न सक्दैन । अधिकांश अंग चल्दैन् । त्यसैले उनको दैनिकी घरको कोठामै सीमित हुन्छ । अरुको सहायताले ह्विलचियरमा राखेपछि मात्रै उनी आवतजावत गर्न सक्छिन् ।
परिवारका अनुसार प्रिताले २०५२ सालमा सुस्त मनस्थिति कल्याण संस्थाको सहयोगमा भक्तपुर स्काउटबाट सञ्चालित कक्षामा १ वर्ष अध्ययन गरिन् । त्यसपछि २०५३ सालदेखि समुदायमा आधारित पुनः स्थापना केन्द्र (सिविआर) भक्तपुरबाट सञ्चालित बहुअपांगता विशेष विद्यालय इन्द्रायणी भक्तपुरमा ९ वर्ष अध्ययन गरिन् । २०६२ वैशाख ६ गतेदेखि २०६८ साउन १ गतेसम्म एभरेस्ट इंगलिश स्कुल मिवाछें ब्यासीमा ३ देखि ८ कक्षासम्म अध्ययन गरिन् ।
२०७० सालदेखि २०७३ सालसम्म शान्ति निकेतन मावि राममन्दिर अध्ययन गरी २०७३ सालमा उनले एसइई उत्तीर्ण गरिन् ।
प्रिता खासै बोल्न पनि सक्दिनन् । तथापि बोल्न अप्ठेरो मानीमानी गाह्रो गरीगरी बोल्छिन् । उनको बोली सामान्यतयाः अरुले बुझ्न सक्दैन । तर घरपरिवारले भने बुझ्न सक्छन् । उनी मात्रै सुन्न सक्छिन् । यही आधारमा उनले पढेर स्नातक तहसम्मको पढाई पास गर्न सफल भएकी हुन् ।
उनले स्नातक तह पास गरेको ख्वप कलेज देकोचा भक्तपुरका प्राचार्य प्रकाशकुमार श्रेष्ठका अनुसार कक्षामा उनी ह्विलचियरमै बसेर सुन्छिन् मात्रै । नोट लेख्नेलगायतका काम गर्न सक्दिनन् । उनलाई कक्षामा परिवारले पुर्याइदिन्छन् । कक्षा सकेपछि फेरि परिवारकै सदस्यले घर लान्छन् । परीक्षामा भने उनले दोभाषे (लेखिदिने सहायक)को मद्धतमा उत्तर लेख्ने गरेकी छन् ।

प्रिताले अब आफूले स्नातकोतर तहको अध्ययनमा रुची बढेको बताइन । अहिले उनी भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा स्नातकोतर तहमा भर्ना हुने तयारीमा छिन् । उनी कविता संग्रह पुस्तकको प्रकाशनको अन्तिम तयारीमा पनि छन् ।
शारीरिक दुर्वलतालाई शक्तिका रुपमा प्रयोग गर्न प्रेरणा दिने प्रिताको सुखमय जीवनको कामना ।
प्रकाशित: १६ कार्तिक २०८२ १६:४९ आइतबार