त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अधिकांश विभागका कक्षा दिवा सत्रमा मात्रै सञ्चालन हुँदा अध्ययनसँगै रोजगारी, अनुसन्धान तथा सीप विकासमा जोडिन कठिन भएको विद्यार्थीहरूले गुनासो गरेका छन्।
व्यवस्थापन केन्द्रीय विभागअन्तर्गत सञ्चालित स्नातकोत्तर तहको एमबीएस कार्यक्रमको कक्षा दिउँसो मात्रै सञ्चालन हुँदै आएको भन्दै विद्यार्थीहरूले वैकल्पिक सत्रको व्यवस्था गर्न माग गरेका छन्। यस विषयमा उनीहरूले त्रिविका उपकुलपति प्राडा भोला थापाको ध्यानाकर्षणसमेत गराएका छन्।
एमबीएस दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले दिउँसो कक्षामा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्थाले रोजगारीमा जोडिन समस्या भएको बताए। सेमेस्टर प्रणालीमा ८० प्रतिशत हाजिरी अनिवार्य रहेकाले आफूजस्ता आर्थिक रूपमा परिवारमा निर्भर हुन नसक्ने विद्यार्थी थप समस्यामा परेको उनको भनाइ छ।
विद्यार्थीहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने अधिकांश विद्यार्थी अध्ययनसँगै रोजगारी, इन्टर्नसिप, अनुसन्धान, सीप विकास तथा अन्य व्यावसायिक गतिविधिमा सहभागी हुने अवसर आवश्यक रहेको बताएका छन्। तर, एमबीएसको कक्षा दिवा सत्रमा मात्र सञ्चालन हुँदा त्यस्ता अवसरबाट वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ।
विशेषगरी विभिन्न जिल्ला तथा दुर्गम क्षेत्रबाट काठमाडौँ आएर अध्ययन गरिरहेका विद्यार्थीहरू कोठा भाडा, यातायात, दैनिक जीवनयापन र अध्ययन खर्च जुटाउन काममा निर्भर हुने भएकाले दिवा सत्रको कक्षाले उनीहरूलाई प्रत्यक्ष असर गरेको विद्यार्थीहरूको भनाइ छ।
एक विद्यार्थीले केही प्राध्यापक, उपप्राध्यापक तथा सहप्राध्यापकहरू बिहान र बेलुका अन्य कलेजमा अध्यापन गराउन जाने गरेको उल्लेख गर्दै त्रिविमै पनि बिहान र बेलुका सत्र सञ्चालन गर्न सकिने बताए। विद्यार्थीहरूले एमबीएसको कक्षा मर्निङ र इभिनिङ सिफ्टमा समेत सञ्चालन गर्नुपर्ने माग गरेका छन्। त्यसका लागि नयाँ भवनमा एमबीएसका सम्पूर्ण कक्षा यथाशीघ्र सञ्चालन गर्न उनीहरूले आग्रह गरेका छन्।
त्यसैगरी एमबीएस अध्ययनरत विद्यार्थीले शुल्क किस्ताबन्दीमा तिर्न सक्ने व्यवस्था तत्काल लागू गर्नुपर्ने, कक्षा सञ्चालन, प्रशासनिक सेवा तथा शैक्षिक व्यवस्थापन प्रणालीलाई विद्यार्थीमैत्री, लचिलो र समावेशी बनाउनुपर्ने माग गरेका छन्।
विद्यार्थीहरूले व्यवस्थापन केन्द्रीय विभागले प्रत्येक विद्यार्थीबाट प्रत्येक सेमेस्टर पुस्तकालय विकास शुल्कबापत दुई हजार पाँच सय रुपैयाँ लिने गरेको भए पनि विभागीय पुस्तकालयको पर्याप्त उपयोग गर्न नपाएको गुनासो गरेका छन्। शुल्क लिइसकेपछि पुस्तकालय सेवा नियमित र सहज रूपमा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
प्रकाशित: ३० श्रावण २०८३ १५:११ शनिबार