काठमाडौं महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा रिक्त रहेका प्रधानाध्यापक पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
महानगरपालिकाले २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालयमा रिक्त रहेका तथा प्रधानाध्यापकको पदावधि सकिन एक महिनाभन्दा कम अवधि बाँकी रहेका पदमा नियुक्तिका लागि आवेदन माग गरेको हो।
शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ को उपनियम (२) तथा महानगरपालिकाको निर्णयअनुसार तोकिएको योग्यता पुगेका इच्छुक स्थायी शिक्षकले आवेदन दिन सक्नेछन्।
इच्छुक उम्मेदवारले भदौ १६ गतेभित्र आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित सम्बन्धित विद्यालयमा रीतपूर्वक दरखास्त पेस गर्नुपर्नेछ।
महानगरपालिकाका अनुसार विज्ञापन गरिएका विद्यालयको नामावली, उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया तथा अन्य विस्तृत विवरण र दरखास्त फारामको ढाँचा महानगरपालिकाको आधिकारिक वेबसाइट वा शिक्षा विभागबाट प्राप्त गर्न सकिनेछ।
महानगरपालिकाले निर्धारित समयभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न योग्य तथा इच्छुक स्थायी शिक्षकलाई आग्रह गरेको छ।
प्रकाशित: २ भाद्र २०८३ ०८:२१ मंगलबार