पोखराको पालिखेचोकस्थित प्रतिभा बिजनेस स्कुलले काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी’ (बिआइटी) को अध्यापन गराउने भएको छ। पोखरामा सूचना प्रविधिको पहुँच बढाएर नयाँ जनशक्ति उत्पादन गर्नका लागि नयाँ पाठ्यक्रम अध्यापन गराउन थालेको स्कुलले बताएको छ।
स्कुलले सन् २०२६ अगस्टदेखि अध्यापन गराउने गरि नयाँ सेमेस्टरका लागि विद्यार्थी भर्ना गर्ने बताएको छ। पोखरा क्षेत्रका विद्यार्थीलाई सूचनाप्रविधि सम्बन्धी शिक्षा लिनका लागि अहिलेसम्म काठमाडौं धाउनुपर्नेमा अब त्या बाध्यता हटेको प्रतिभा माविका प्राचार्य किरण सापकोटाले पत्रकार भेटघाटमा बताए। काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कोर्ष गण्डकी प्रदेशमै पहिलोपटक सञ्चालन हुन लागेको स्कुलले बताएको छ।
प्राचार्य सापकोटाका अनुसार पहिलो सेमेस्टरमा ३० जना विद्यार्थी मात्र भर्ना गरेर अध्यापनेछ। त्यसका लागि विश्वविद्यालयकै प्रावधान अनुसार छनोट परीक्षा लिइने उनले बताए। यो कोर्ष अध्ययनका लागि विद्यार्थीले कक्षा ११ र १२ मा विज्ञान संकाय लिएर उत्तिर्ण भएको हुनुपर्नेछ। यस्तै सिटिइभिटीको तीनवर्षे कोर्षमा गणित, भौतिकशास्त्र, रसायनशास्त्र, र कम्प्युटर विज्ञान अध्ययन गरेका विद्यार्थीले पनि भर्ना हुन पाउने उनले बताए। चारवर्षे यो कोष अध्यापन गर्दा विद्यार्थीले सबैगरि ९ लाख ६० हजार रुपैयाँ खर्च तिनुपर्ने उनले बताए।
बिआइटी कार्यक्रममा पाठ्यक्रममा कम्प्युटर प्रविधिसँग सम्बन्धित नयाँनयाँ पाठ्यक्रम अध्यापन गराउने प्रतिभा बिजनेस स्कूलका प्राचार्य रविप्रसाद बरालले जानकारी दिए। यसका साथै साइबर सेक्युरिटी, मोबाइल एप डेभलपमेन्ट, सफ्टवेयर आर्किटेक्चर लगायत जस्ता विषयले विद्यार्थीलाई दक्ष बनाउने उनले बताए। सूचना प्रविधिको तीव्र विकाससँगै विश्वव्यापी रुपमा बढ्दो रोजगारीको अवसरलाई ध्यानमा राखेर पाठ्यक्रम तयार पारिएको पनि बरालको भनाई छ। ‘पोखरा क्षेत्रमा यो पाठ्यक्रमको माग थियो। विद्यार्थीले यो पाठ्यक्रम पोखरामा अध्ययन गर्न नपाएर काठमाडौं नै धाउनुपरेको थियो,’ उनले भने, ‘यसले केही सहज हुनेछ।’
प्रतिमा मावि संचालक समितिका अध्यक्ष अध्यक्ष नारायणप्रसाद पौडेलले उच्च शिक्षामा सूचना प्रविधि विषय थपेर आधुनिक प्राविधिक शिक्षाको केन्द्रका रुपमा विद्यालयलाई विकास गर्न लागेको बताए। ‘गण्डकी प्रदेशका विद्यार्थीलाई काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता हट्दै जानेछ भन्ने विश्वास लागेको छ। कम्तिमा पोखरामै अध्ययन गर्न पाउँदा सहज पनि हुनेछ,’ उनले भने, ‘यसले विद्यार्थीको आर्थिक भार कम गर्नुका साथै स्थानीय प्रतिभालाई घरदैलोमै विश्वस्तरीय अवसर प्रदान गर्नेछ।’ प्रतिभा माविले अहिले पोखरामै नर्सरीदेखि १२ कक्षासम्म अध्यापन गराउँछ।
प्रकाशित: १७ असार २०८३ १७:११ बुधबार


