शिक्षा

भोटेकोशी बाढीले २० विद्यालयमा क्षति, चार विद्यालय बगर बन्यो

अस्थायी सिकाई केन्द्रमार्फत बालबालिकालाई जोड्ने तयारीमा मन्त्रालय

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकाेट र धादिङसहितका जिल्लामा विद्यालयसमेत नराम्ररी प्रभावित भएका छन्।

बाढीपछि शिक्षा तथा खेलकुद मन्त्रालयले संकलन गरेको तथ्यांकको प्रारम्भिक विवरणअनुसार रसुवा र नुवाकोट र धादिङमा गरी हालसम्म २० विद्यालयमा क्षति पुगेको छ।

त्यसमध्ये नुवाकोटका संस्थागत र सामुदायिक गरी चार विद्यालय पूर्ण क्षति भई बाढीले बगाएर बगर बनेको मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीले जनाए।

उनका अनुसार  बाढीले पुर्‍याएको विद्यालयगत क्षतिको पूर्ण र एकीकृत सरकारी विवरण भने अझै संकलन भइरहेको छ।

‘सरकार तथा सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहले क्षतिको विवरण संकलन गरिरहेका छन्,’ सूचना अधिकारी थामीले नागरिकसँग भने, ‘विनाशकारी बढीले गर्दा अभिभावका र विद्यार्थीहरू निकै मानसिक रुपमै विक्षिप्त अवस्थामा हुनुहुन्छ। यस्तो संवेदनशील अवस्थामा पहिलो प्राथमिकता उद्धार र तत्काल राहत सहयोग उपलब्ध गराउने नै हो।’

उनले थपे,‘ विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएकाले पनि प्रभावित क्षेत्रबाट विवरण संकलनमा कठिनाइ भइरहेको छ।’

मन्त्रालयका उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म धादिङका ८, नुवाकोटका ७ र रसुवाका ५ विद्यालयमा बढीले क्षति पुगेको छ।

नुवाकोटको विद्यालयमध्ये तीन सामुदायिक र चार संस्थागतमा क्षति पुगेको छ। विदुर नगरपालिका १ त्रिशूलीमा रहेको त्रिभुवन त्रिशूली मावि, विदुर नगरपालिका १०मा बेत्रावतीमा रहेको रामचन्द्र आवि सामुदायिक विद्यालय र विदुर नगरपालिका ७ तुप्चेमा रहेको चण्डेश्वरी मावि दृष्टिविहीन विद्यार्थीको छात्रावास पूर्ण रुपमा क्षति भएका छन्।

यसैगरी विदुर नगरपालिका त्रिशूलीमा रहेको त्रिशूली सामुदायिक बोर्डिङ स्कुल र विदुर नगरपालिका १० कै बेत्रावतीमा रहेको उत्तरगया बोर्डिङ स्कुल पूर्ण क्षति भएको छ।

रसुवामा सबैभन्दा बढी क्षति गोसाईंकुण्ड गाउँपालिका क्षेत्रमा देखिएको छ। टिमुरेस्थित टिमुरे सामुदायिक विद्यालयको भवनमा ठुलो क्षति पुगेको छ।

त्यसैगरी उत्तरगया गाउँपालिकास्थित उत्तरगया विद्यालय पनि बाढीबाट प्रभावित भएको छ। बाढी आएपछि विद्यालयमा रहेका विद्यार्थीहरू भागेर सुरक्षित स्थानमा पुगेका थिए।

रसुवामा सामुदायिक र संस्थागत गरी पाँच विद्यालय क्षति भएको मन्त्रालयले जनाएको छ। सबै भन्दा बढी क्षति भएको धादिङका विद्यालयमा भएका छन्।

धादिङमा संस्थागत र सामुदायिक गरी कुल ८ विद्यालयमा बाढीले क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ।

विद्यालय परिसरमा हिलो, लेदो तथा बाढीले बगाएर ल्याएका विभिन्न सामग्री थुप्रिएका छन्। विद्यालयको भौतिक संरचनामा ठुलो क्षति पुगेको त्रिभुवन त्रिशूली माविका प्रअ राजेन्द्र दवाडीले बताए।

बाढी आउँदा विद्यालयमा विद्यार्थी रहेको र समयमै उनीहरूलाई सुरक्षित स्थानतर्फ निकालिएको विवरणले विद्यालयको भौतिक संरचना जोगाउन नसकिए पनि ठुलो मानवीय क्षति टरेको प्रअ दवाडीको भनाई छ।

अहिलेसम्म सार्वजनिक विवरणमा सबैभन्दा ठुलो समस्या विद्यालयको नाम र क्षतिको प्रकृति खुल्न नसक्नु हो। प्रारम्भिक रिपोर्टमा रसुवाको टिमुरे क्षेत्रमा रहेका तीन बोर्डिङ र दुई सामुदायिक विद्यालय प्रभावित भएको उल्लेख भए पनि क्षति हुने विद्यालयको संख्या थप हुने जनाइएको छ ।  

बाढीले विद्यालय मात्रै होइन, विद्यार्थीको पढाइ पनि रोक्यो

विद्यालय भवनमा भएको क्षति तत्काल मर्मत गर्न नसकिएमा विद्यार्थीको नियमित पठनपाठनमा प्रत्यक्ष असर पर्ने देखिन्छ।

विशेष गरी भवन नै बगेका विद्यालयमा वैकल्पिक कक्षाकोठा, अस्थायी सिकाइ केन्द्र र शैक्षिक सामग्रीको व्यवस्था तत्काल गर्नुपर्ने अवस्था छ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका बस्ती, बजार, सडक र पुलमा समेत ठुलो क्षति पुगेको छ। सरकारले यी जिल्लाका प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

शिक्षा मन्त्रालयले के गर्दै छ ?

शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सम्बन्धित स्थानीय तह र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले सूचना सेयरको ह्वाट्सएप समूह बनाएको मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीले जनाए।

हाल विद्यालयगत क्षतिको छुट्टाछुट्टै विवरण, विद्यालयको नाम, विद्यार्थी संख्या, शिक्षक संख्या, भवनको क्षतिको अवस्था र पुनः पठनपाठन सुरु गर्न आवश्यक क्रियाकलापबारे छलफल भइरहेको उनले जनाए।

प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार हाल मन्त्रालयको पहिलो प्राथमिकता नै जोखिममा रहेका विद्यार्थी , अभिभावक र नागरिकको उद्धार र राहत सहयोगमै केन्द्रित रहने हो। दोस्रो प्राथमिकतामा बालबालिकाको सिकाई निरन्तरताका रहेको उनले जनाए।

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू सम्मिलित शिक्षा समूहको बैठकबाट क्षतिग्रस्त क्षेत्रमा पहिलो प्राथमिकता र उद्धार र तत्काल राहत उपलब्ध गराउने नै हो,’ प्रवक्ता भट्टराईले नागरिकसँग भने,‘दोस्रो प्राथमिकतामा क्षतिग्रस्त क्षेत्रमा पहिले बालबालिका र अभिभावकलाई जो विनाशकारी बाढीमा घरपरिवार गुमाएर मानसिक रूपमा विक्षिप्त अवस्थामा हुनुहुन्छ उहाँहरूलाई मनोसामाजिक परामर्श दिने काम हुन्छ।’

उनले थपे,‘त्यसपछि ती क्षतिग्रस्त क्षेत्रमा अस्थायी सिकाई केन्द्र निर्माण गरी बालबालिकाको शिक्षण सिकाईलाई जोडिने छ।

हाल मन्त्रालयमा चार हजार विद्यार्थीको लागि शिक्षण सिकाई किट तयार रहेको समेत उनले जनाए।

प्रकाशित: ११ भाद्र २०८३ १९:०४ बिहीबार