कक्षा एकमा अध्ययन गर्ने विद्यार्थीको उमेर पाँच वर्षको हाराहारी हुन्छ । पाँच वर्षको कलिलो उमेरका बालबालिकाले कति सिक्ने भन्ने विषयबस्तु पाठ्यक्रम विकास केन्द्रले तय गरेको छ । यो उमेरमा बालबालिकालाई खेलाउँदै कक्षाकोठामा शिक्षकहरुले बस्ने बानी बसाल्नु पर्ने मुख्य विषय हो ।
तर एकता पब्लिकेशनको ‘हाम्रो सेरोफेरो’ किताबले पाठ्यक्रमभन्दा बढी विषयबस्तु राखेर बोझिलो बनाएकाले पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पुस्तकमाथि नै प्रतिबन्ध लगाएको छ । बाल मनोविज्ञानलाईनै गलत असर पर्ने गरी बोझिलो र गलत विषयबस्तु उक्त किताबमा उल्लेख भएको भन्दै केन्द्रले उक्त किताबको विक्रीवितरण र पठनपाठनमा रोक लगाएको छ ।
केन्द्रका निर्देशक बिजय बडुले भने, ‘एकताको प्रकाशनको कक्षा १ को हाम्रो सेरोफेरो किताबमा पाठ्यक्रमले तोकेको भन्दा बढी भार बोकाएको पाइयो । यसकारण यो किताबलाई अहिले पाठ्यक्रमले बजारमा जानबाट रोकेको छ । ५ वर्षको उमेरका बालबालिकालाई १२ वर्षको उमेरमा पढाउने विषयबस्तु थोपारेर किताब छपाई गरेको पाइयो ।’
एकता प्रकाशनलाई पाठ्यक्रमले तोकेको भन्दा बढी विषयबस्तु पाठ्यक्रममा राखिएको विषयमा स्पष्टिकरण सोधेको जानकारी दिँदै बडुले किताबका लेखक र सम्पादकसँग पनि जवाफ मागेको बताए । बडुले थपे,‘पाठ्यक्रमले कक्षा एकका लागि २५ वटा विषयबस्तु तोकेको छ । तर यो किताबमा दोब्बर विषयबस्तु राखिएको छ । बालबालिाकाको कलिलो दिमागले नसक्ने विषयबस्तु थपेर बोझिलो बनाएकोले यो किताब कारवाहीमा परेको छ ।’
अचेल निजी विद्यालयमा अध्ययन हुने केही विषयका पाठ्यक्रममा गलत सामग्री पढाएको पाइएको बताउँदै निर्देशक बडुले रिफरेन्स बुक भनेर अनिवार्य विषय जस्तै पढाउने गरेको गुनासो पनि सुन्नमा आएको उल्लेख गरे ।
केही पुस्तकमा पुरानै सोचका चित्रहरु समावेश गरिएको बारे अध्ययन भइरहेको बताउँदै बडुले लुगा धुने, खाना पकाउने, सरसफाई गर्ने लगायत काममा महिलालाई चित्रण गर्नु गलत भएको बताए ।
एकताका प्रकाशनका अध्यक्ष रामचन्द्र टिमोटीले कक्षा एकको हाम्रो सेरोफेरो किताबमा राखिएको विज्ञानको पाठलाई नेपालीमा रुपान्तरण गरेर राख्दा त्रुटि हुन गएको बताए । त्यसलाई सच्याएर चाँडै नै नयाँ पुस्तक बजारमा पठाउने उनको भनाइ छ ।
प्रकाशित: २९ श्रावण २०८२ १९:०४ बिहीबार