शिक्षा

गरुडा ९ श्रीपुरका विवादित शिक्षक साह विद्यालयबाट निष्कासित

रौतहटको गरुडा नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालय नयाँ गम्हरियामा कार्यरत शिक्षक रवीन्द्रप्रसाद साहलाई विद्यालयबाट खारिजसहित निष्कासन गरिएको छ। शिक्षक साहले आफ्नै विद्यालयको कक्षा १० मा अध्ययनरत एक १६ वर्षीया छात्रालाई मोबाइलमार्फत ‘ह्यापी बर्थडे मेरी जान’ भन्ने सन्देश पठाएको आरोपमा विद्यालयमा विवाद भई तोडफोडको स्थिति सिर्जना भएको थियो। 

विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष राजकुमार दासका अनुसार असार २९ गते वडाध्यक्ष राजेशकुमार सहनीको संयोजकत्वमा बसेको वडा समिति, स्थानीय अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरूको बैठकले आरोपित शिक्षक साहलाई विद्यालयबाट हटाउने र विद्यालयबाट निष्कासित गर्ने निर्णय गरेको थियो।

पीडित छात्राका अभिभावकले दिएको उजुरीका आधारमा विगत एक वर्षदेखि शिक्षक साहले यौनजन्य मनसाय राखी डिजिटल सन्देश पठाउँदै आएको खुलासा भएको बैठकमा छलफल भएको थियो।

४९ वर्षीय शिक्षक साह कक्षा ७ सम्म अंग्रेजी र कक्षा ९ लाई सामाजिक विषय अध्यापन गर्दै आएका थिए। शिक्षक साहले छात्रालाई मोबाइलमा पठाएको सन्देश सार्वजनिक भएपछि विद्यार्थीहरू आक्रोशित बनेका थिए। गत हप्ता विद्यार्थी र अभिभावकहरू समेतले विद्यालय परिसरमै प्रदर्शनसमेत गरेका थिए।

साहलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै विद्यार्थी र अभिभावकहरूले विद्यालयमा तोडफोड र आक्रमण गरेका थिए। आक्रोशकै बिचबाट साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई नियन्त्रण लिने र विद्यालयलाई तोडफोडबाट जोगाउने क्रममा प्रहरी निरीक्षक ओमप्रकाश यादवसहित पाँच जना प्रहरीलाई पनि चोटपटक लागेको थियो। प्रहरीले एक सेल अश्रुग्याँससमेत चलाउनु परेको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले साहविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी सात दिनको म्याद लिइएको बताएका छन्।

यसअघि २०६२/६३ सालतिर पनि साह यस्तै किसिमको दुर्व्यवहारमा संलग्न भएका थिए र सामाजिक दण्ड भोगेका थिए। स्थानीय सर्फलाल पासवानले भने गरुडा नगरपालिकाले उनलाई जोगाउन प्रयास गरिरहेको आरोप समेत लगाएका छन्।

राहत साह राहत निमावि दरबन्दीका करार शिक्षक हुन्। निज शिक्षकको नियुक्ति प्रक्रिया कानुन सम्मत नभएर दिएको उजुरी आधारमा २०७२ मा अख्तियारले समेत बर्खास्त गरेका थिए तर पनि पुनः विद्यालयले सोही पदमा विज्ञापन निकाली तत्कालीन विव्यस अध्यक्ष राजकुमार दास तत्माले रवीन्द्रप्रसाद साहलाई नियुक्त गरेका थिए।

प्रकाशित: २ श्रावण २०८२ ०८:५३ शुक्रबार

#NagarikNews