नेपालगन्जस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालय र भारतको उत्तर प्रदेशमा रहेको लखनउ विश्वविद्यालयबीच शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकाल र लखनउ विश्वविद्यालयका उपकुलपति प्राध्यापक जे.पी. सैनीबीच औपचारिक रूपमा हस्ताक्षर भएको हो। सम्झौताले नेपाल र भारतबीचको उच्च शिक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। सम्झौताले दुई छिमेकी मुलुकका प्राविधिक तथा प्राज्ञिक संस्थाहरूबीच दीर्घकालिन सम्बन्धको जग बसाएको सम्बद्धहरूको विश्वास छ।
सम्झौतालाई दुवै विश्वविद्यालयका नेतृत्वले अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने दिशामा उठाइएको महत्वपूर्ण कदमका रूपमा लिएका छन्। लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. ढकालले यसलाई विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण यात्रामा उल्लेखनीय उपलब्धी भएको बताएका छन्। यस्तै लखनउ विश्वविद्यालयका उपकुलपति प्राध्यापक सैनीले लखनउ विश्वविद्यालयले सधैं अन्तर्राष्ट्रिय शैक्षिक साझेदारीलाई प्राथमिकतामा राख्दै आएको र यो सहकार्य दुवै संस्थाका लागि पारस्परिक लाभदायक हुने विश्वास व्यक्त गरे।
हस्ताक्षरका क्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा. नीरज केसी, अनुसन्धान निर्देशक डा. प्रदीप कर्ण, परीक्षा नियन्त्रक जेन्टिल गौतम र सेवा आयोग सदस्य कृष्णप्रसाद घिमिरेको उपस्थिती रहेको थियो। यस्तै लखनउ विश्वविद्यालयको तर्फबाट इन्जिनियरिङ तथा प्रविधि संकायका डिन प्रा. सत्येन्द्र पाल सिंह, र्याङ्किङ सेलकी निर्देशक प्रा. गीतांजली मिश्रा, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक प्रा. आर.पी. सिंह र कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका सह–प्राध्यापक डा. सी.एल.पी. गुप्ताको उपस्थिती रहेको थियो।
उक्त सम्झौता प्राविधिक शिक्षा, अनुसन्धान र संस्थागत विकासका क्षेत्रमा ठोस सहकार्यको आधार तयार पार्ने उद्देश्यले भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले जनाएको छ। ‘सम्झौता अन्तर्गत दुवै विश्वविद्यालयका विद्यार्थी तथा शिक्षकहरूबीच आदान–प्रदान कार्यक्रम सञ्चालन गरिने, संयुक्त अनुसन्धान परियोजना र प्रकाशनमा सहकार्य गरिने तथा सम्मेलन, कार्यशाला र तालिम कार्यक्रमहरू संयुक्त रूपमा आयोजना गरिने अपेक्षा गरेका छौं,’ उपकुलपति ढकालले भने, ‘यसले पाठ्यक्रम विकास, प्रयोगशाला साझेदारी र नवप्रवर्तन तथा स्टार्टअप इन्क्युबेसन जस्ता क्षेत्रमा पनि सहकार्यको ढोका खोलेको छ।’
इन्जिनियरिङ र कम्प्युटर विज्ञानको क्षेत्रमा विशेष जोड दिँदै, यस सम्झौताले कृत्रिम बुद्धिमत्ता, डेटा विज्ञान, सूचना प्रविधि, साइबर सुरक्षा र डिजिटल रूपान्तरणजस्ता समकालीन विषयक्षेत्रमा संयुक्त अनुसन्धान गर्ने बाटो खोलेको विश्वविद्यालयका डिन केसीले बताए। यसका साथै दिगो विकास र उद्यमशीलतासम्बन्धी पहलहरूलाई पनि यस सम्झौताले सम्बोधन गर्ने अपेक्षा गरिएको उनको भनाई छ। डिन केसीले भने, ‘जसले दुवै संस्थाका शिक्षक र विद्यार्थीहरूलाई व्यावहारिक तथा प्रयोगमूलक ज्ञान आर्जन गर्न सघाउनेछ।’
सम्झौताबाट स्नातक तहका विद्यार्थीदेखि विद्यावारिधि तहका अनुसन्धानकर्तासम्म फराकिलो दायराका व्यक्तिहरूले लाभ लिन सक्नेछन्। संयुक्त सुपरीवेक्षण, अनुसन्धान क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय प्राज्ञिक सञ्जालीकरण र सीप विकासजस्ता अवसरहरूले विद्यार्थी तथा शिक्षक दुवैको प्राज्ञिक स्तर उकास्न सघाउने विश्वास गरिएको छ। साथै यसले क्षमता निर्माण र ज्ञान आदान–प्रदानलाई संस्थागत रूपमा नियमित बनाउने अपेक्षा पनि राखिएको विश्वविद्यालयका परीक्षा नियन्त्रक गौतमले बताए।
‘क्षेत्रीय दृष्टिकोणबाट हेर्दा यो साझेदारी नेपाल–भारत शैक्षिक सम्बन्ध सुदृढ बनाउने र दक्षिण एसियाली उच्च शिक्षा क्षेत्रमा सीमापार ज्ञान आदान–प्रदानलाई प्रवर्द्धन गर्ने प्रयासको एक महत्वपूर्ण उदाहरण मानिन्छ,’ गौतमले भने, ‘यसले दुई मुलुकका प्राविधिक शिक्षालयबीचको भरोसा र सहकार्यलाई अझ प्रगाढ बनाउने देखिन्छ, भविष्यमा यो सहकार्य संयुक्त डिग्री कार्यक्रम, अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, भ्रमणकारी प्राध्यापक व्यवस्था र संयुक्त प्रकाशनजस्ता थप उच्चस्तरीय पहलमा विस्तार हुने सम्भावना रहेको छ।’
दुवै विश्वविद्यालयका नेतृत्वले यस सम्बन्धलाई निरन्तरता दिँदै आगामी दिनमा थप ठोस कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। ‘लुम्बिनी र लखनउ विश्वविद्यालयबीचको उक्त सम्झौता दुवै संस्थाबीचको दीर्घकालीन प्राज्ञिक सहकार्य, प्राविधिक नवप्रवर्तन र अनुसन्धान उत्कृष्टताको जगका रूपमा हेरिएको छ, जसले विद्यार्थी, शिक्षक तथा व्यापक प्राविधिक समुदायका लागि अर्थपूर्ण अवसरहरू सिर्जना गर्नेछ,’ गौतमले थपे।
प्रकाशित: २८ असार २०८३ १३:१७ आइतबार



