शिक्षा

म्याग्दी बहुमुखी क्याम्पसले बीआईसीटीई पढाउने

जिल्लाको पुरानो म्याग्दी क्याम्पसमा यसै शैक्षिक सत्रबाट शिक्षाशास्त्रतर्फ स्नातक तहमा विज्ञान र सूचना तथा प्रविधि शिक्षा (बीआईसीटीई) विषयमा अध्यापन हुने भएको छ। समय सुहाउँदो प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण देखिएपछि सूचना तथा सञ्चार प्रविधि शिक्षाको अध्यापनका लागि अहिले प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरिसकेको छ। आगामी फागुन १ गतेदेखि कक्षाको औपचारिक शुभारम्भ गर्ने गरी यही पुस मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताए।  

उनका अनुसार कक्षा १२ मा न्यूनतम २.०१ ‘सि’ जिपिए प्राप्त गरी उत्र्तिणा भएका विद्यार्थीले उक्त विषयमा अध्ययन गर्न पाउने छन्। माघ १५ गते प्रवेश परीक्षा सञ्चालन गरी फागुन देखि नियमित कक्षा सञ्चालन गरिने छ। चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने क्याम्पसले जनाएको छ।

‘प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित अधिकांश पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डमा आधारित छ’, क्याम्पस प्रमुख गोरखबहादुर जिसीले भने। बीआइटीई उत्र्तिणा भएका विद्यार्थीलाई सरकारी तथा गैरसरकारी संस्थामा आईटी अधिकारी, विद्यालयमा आइटी शिक्षक, सफ्टवेयर डेभलपरसहित सूचना र सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिमा समेत सघाउने जनाइएको छ। ३५ जनाको क्षमता रहेकाले अहिलेसम्म १० जनाले प्रवेश परीक्षाका लागि फारम लगेका छन भने १० जना सम्पर्कमा रहेको बताइएको छ।  

जिल्लाभित्र आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सघाउने भएकाले सबै स्थानीय तहलाई समेत जानकारीसहित भर्ना अभियानमा साथ दिन समेत  अनुरोध गरिएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले क्याम्पसले भावी दिनमा जिल्लाको आवश्यकता तथा विद्यार्थीको रुचि, क्षमता र करिअरमा मेल खाने पाठ्यक्रम लागु गर्ने गरी योजना समेत बनाएको बताए। उनले सञ्चालक समितिको बैठकबाट शुल्क निर्धारण गरिने बताए।

कयाम्पसले उत्पादन र ब्यवहारिक शिक्षालाई प्राथमिकता दिएकाले विज्ञान विषयमा पनि कक्षा सुरु गर्न तयारी भइरहेको क्याम्पसले जनाएको छ । विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त क्याम्पसले यसअगाडी स्नातकोत्तर तहको व्यवस्थापन संकायमा समेस्टर तथा यस वर्षदेखि बिएडमा बार्षिक प्रणालीमा विज्ञान शिक्षा कक्षा सञ्चालन गरिरहेको छ।

क्याम्पसले १० जोड २ विस्थापित गरी शिक्षा र मानविकी संकायमा पनि स्नातकोत्तर (एमए/एमएड) तह सञ्चालन तयारी थालेको उनले बताए । २०४८ साल पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल दश जोड दुई र स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन विषयमा पढाई हुँदै आइरहेको छ भने करिब १४ सयजना विद्यार्थीहरु अध्ययनरत रहेका छन्।

प्रकाशित: २४ पुस २०७८ १२:४९ शनिबार