शिक्षा

भक्तपुरबासीलाई शिक्षा मन्त्री पौडेलले भनेः मलाई गाह्रो छ

शिक्षामन्त्री देवेन्द्र पौडेलले ‘चिकित्सा शिक्षा ऐन’ का कारण आफूलाई गाह्रो भएको बताएका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी)बाट मंसिर ८ गते प्रकाशित स्टाफ नर्स विषयको भर्ना आवेदन फाराम भर्ने सम्बन्धी सूचनामा ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम छुट भएको विषयमा ध्यानाकर्षण गराउन पुगेका टोलीसामु ऐनको कारण आफूलाई गाह्रो भएको बताएका हुन्।

उनले सो ऐनमा आफ्नै सय बेडको अस्पताल हुने शिक्षण संस्थाले मात्रै नर्सिङको पठनपाठन गर्न पाउने व्यवस्था भएकोले मन्त्रालयले सोही अनुसार निर्णय गरेको टोलीलाई बताए।

संघीय सांसद प्रेम सुवालको नेतृत्वमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत प्रतिनिधिमण्डलले शुक्रबार शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेट्न गएका थिए। सो भेटमा शिक्षामन्त्री पौडेलले भक्तपुर नगरपालिकाले राखेको माग जायज भए पनि ऐनको प्रावधानले गर्दा गाह्रो भएको बताए।

भेटमा सांसद सुवालले भक्तपुर नगरपालिकाले सर्वसाधारण जनताको आधारभूत स्वास्थ्यसम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै प्रत्येक वर्ग र तप्कासम्म गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ २०३० सालदेखि जनस्वास्थ्य सेवा केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोमा २०७८ वैशाख १७ गतेदेखि ख्वप अस्पताल सञ्चालनमा रहेको जानकारी गराए।

उनले ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम समावेश गरी अविलम्ब अर्को सूचना प्रकाशित गर्ने व्यवस्थाको लागि शिक्षामन्त्री पौडेललाई अनुरोध गरे।

सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक संस्थानअन्तर्गत नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरुलाई ख्वप अस्पताल, भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, वीर अस्पताल, प्रसुतीगृह, कान्ति बाल अस्पताललगायत सरकारी अस्पतालहरुमा विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्दै आएको जानकारी गराए ।

सीटीईभीटीले यही मंसिर ८ गते ४५ वटा शिक्षण संस्थाहरुको मात्र नाम प्रकाशित गरी नर्सिङ भर्नाको लागि सूचना प्रकाशित गरेको थियो।

प्रकाशित: १० मंसिर २०७८ ११:४४ शुक्रबार

शिक्षामन्त्री देवेन्द्र पौडेल