शिक्षा

९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८/७९ मा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्नको लागि छनोट भएका ९८ जना विद्यार्थीहरुलाई बिहीबार छात्रवृत्ति प्रदान गरेको छ। 

भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित कलेजहरु ख्वप मावि, बागीश्वरी मावि, बासु मावि, श्री पद्म मावि, आदर्शआजाद, शारदा मावि र शारदा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विज्ञान विषयका ३५ जना, व्यवस्थापन विषयका ४८ जना, कानुन विषयका ४, शिक्षा विषयका ६ जना र मानविकी विषयका ५ जना गरी ९८ जना विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाले बिहीबार छात्रवृत्ति प्रदान गरेको हो।  

नगरपालिकाका प्रमुख एवम् छात्रवृत्ति छनौट समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालयहरुलाई संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ अनुसार शैक्षिक सत्र २०७८/७९ मा छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरुलाई एक समारोहबीच छात्रवृत्ति छनोट सिफारिस पत्र प्रदान गरे।

कार्यक्रममा प्रमुख प्रजापतिले नपाले गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि सहुलियत दरमा शैक्षिक ऋण प्रदान गर्नुका साथै इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र, भाषालगायतका विषय अध्ययन गर्ने विद्यार्थीहरु छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताए। उनले विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न नपाले सातवटा कलेज सञ्चालन गरिरहेको पनि दोह्याए।  

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष एवम् छात्रवृत्ति छनौट समितिका सदस्य उकेश कवांले विद्यार्थीहरुले आफ्नो लक्ष्य र उद्देश्य पूरा गर्न मेहेनतका साथ अध्ययनमा जोड दिनुपर्ने बताए। उनले भक्तपुरको शैक्षिक विकासमा नपाबाट सञ्चालित कलेजहरुको विशेष योगदान रह्को बताए।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र र शैक्षिक गन्तव्यस्थल बनाउने उद्देश्यमा विद्यार्थीहरुले आफ्नोतर्फबाट भूमिका खेल्नेमा विश्वास व्यक्त गरे।

ख्वप माविका प्रअ प्रकाशकुमार धौबजी श्रेष्ठले छात्रवृत्ति पाएका विद्यार्थीहरुले सार्थकताका साथ अध्ययनमा जोड दिँदै सामुदायिक भावना उत्प्रेरित गर्नुपर्ने बताए। कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् छात्रवृत्ति छनौट समितिका सदस्य रबिन्द्र ज्याख्व र नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले पनि विविध विषयमा चर्चा गरे।

प्रकाशित: १४ आश्विन २०७८ १३:४१ बिहीबार