त्रिभुवन विश्वविद्यालयले अद्यावधिक गर्दै लैजाने नीतिअनुरूप वार्षिक प्रणालीका विषय बन्द गर्ने तयारी गरेको छ। त्रिवि नीतिअनुसार बिबिएस,बिए,बिएड र बिएस्सीलगायतका वार्षिक प्रणालीका विषय बन्द गर्ने निर्णय लिएको उपकुलपति प्राडा दीपक अर्यालले बताए।
असार मसान्तसम्म पुराना विद्यार्थीलाई एकपटक मौका परीक्षामा सहभागी गराई शैक्षिक योग्यता प्रमाणपत्र उपलब्ध गराउने उनको भनाइ छ। ‘स्नातकतर्फ फुड एन्ड टेक्नोलोजीमा यसै शैक्षिक वर्षदेखि वार्षिक प्रणालीको भर्ना बन्द गरिसकिएको छ’, प्राडा अर्यालले भने, ‘पछिल्लो समय बिबिएस, बिए, बिएड र बिएस्सी तथा तीनबर्से ‘ल’ विषयहरूको खासै चार्म नरहेकाले त्रिविले पुराना विद्यार्थीको हकमा मौका परीक्षा लिएको हो।’
उनका अनुसार विश्व बजारको मागअनुसार शैक्षिक प्रणाली लागु गर्दै जानका लागि आगामी दिनमा वार्षिक प्रणालीका विषय बन्द हुन लागेका हुन्।
२०५८ सालदेखि पुराना विद्यार्थीलाई मौका परीक्षा दिँदै आएको त्रिवि सहायक परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले बताए। स्नातकोत्तर तहका चार हजार विद्यार्थीले गत असार–साउनमै सबै परीक्षा सकाइसकेको उनले जनाए। उनका अनुसार पुराना ब्याचमा तीनबर्से स्नातक तहका तेस्रो वर्षको परीक्षा फागुन १३ मा सकिएको छ। ‘तीनबर्से स्नातकको दोस्रो वर्षको परीक्षा चैत्त २ देखि र प्रथम वर्षको परीक्षा जेठदेखि सुरु हुने छ’, सहायक नियन्त्रक कलौनीले भने, ‘चारबर्से स्नातक तहको परीक्षामा चौथो वर्ष, तेस्रो वर्ष र दोस्रो वर्षको सबै परीक्षा सकियो भने प्रथम वर्षको परीक्षा जेठदेखि सुरु हुन्छ।’
त्रिविका नियमित परीक्षा चैत्त २५ देखि सुरु भएर वैशाख २५ सम्म सञ्चालन हुने भएकाले पुरानाको परीक्षामा अलि ढिलाइ हुन गएको उनको भनाइ छ। उनले थपे, ‘भर्ना भएर पनि शैक्षिक तह पार नगरेका पुराना विद्यार्थीको अध्ययन पेन्डिङमा रहेको पाइयो। यसकारण त्रिविले यसपटक पुरानाको शैक्षिक योग्ता पूरा गराउन मौका परीक्षाको अवसर दिएको हो। स्नातक तह कानुन संकायका विद्यार्थीको संख्या थोरै भएकाले कुनै पनि तहको परीक्षा सञ्चालन गर्न सकिएको छैन। हजारको हाराहारीमा रहेका यी विद्यार्थीको परीक्षा पनि असारसम्म सकिन्छ।’
२०८१/८२ मा त्रिविले मुख्यगरी मानविकी बिए, व्यवस्थापनतर्फका बिबिएस, शिक्षातर्फका बिएड, विज्ञान तथा प्रविधितर्फका बिएससी र कानुन संकाय समेटेको छ। सहायक नियन्त्रक कलौनीका अनुसार यी संकायका पुराना वार्षिक प्रणालीका विद्यार्थीलाई एकपटक मौका दिइएको हो।
त्रिविले यसअघि शैक्षिक वर्ष २०६८/६९, २०७३/७४ र २०७९/८० मा पनि बिए, बिबिएस, बिएड र बिएस्सीका पुराना विद्यार्थीलाई परीक्षा मौका दिएको थियो। २०८१/८२ मा पनि पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिन लागिएको कलौनीको भनाइ छ। ‘हालको मौका परीक्षामा २० वर्षभन्दा पुराना विद्यार्थी पनि समेटिएका छन्। धेरै संकायका विद्यार्थीलाई एउटै निर्णयबाट अवसर दिइयो’, उनले भने, ‘करिब पचास हजार विद्यार्थीले परीक्षा दिँदैछन्। असारसम्म पुराना ब्याचका विद्यार्थीका सबै परीक्षा पूरा हुने छ।’
उनका अनुसार वार्षिकभन्दा सेमेस्टर खर्चिलो हुन्छ किनभने वार्षिकमा चारवटा मात्र परीक्षा सञ्चालन हुन्छ भने सेमेस्टरमा ६/६ महिना गरी आठवटा परीक्षा सञ्चालन हुन्छ।
प्रकाशित: २८ फाल्गुन २०८२ १२:१२ बिहीबार