१७ वर्षे गौतम जन्मँदै दृष्टिविहीन हुन्। ‘८ कक्षासम्म त साथीहरूलाई पढ्न लगाएर कण्ठ पार्नुपर्थ्यो,' उनले भने, ‘अहिले १० कक्षाका सामाजिक, म्युजिक र नेपालीका पुस्तक पेनड्राइभमा भएपछि आफैंले कम्प्युटरमा राखेर पटक-पटक सुनेर एसएलसीको तयारी गरिरहेको छु।'
उनीजस्तै मालती तामाङ पनि एसएलसीको तयारीमा छिन्। सामान्य विद्यार्थीसँग बसेर पढ्दा समस्या भएकाले उनी तीन कक्षादेखि ल्याब पढ्न थालिन्। ‘विद्यार्थीकै पहल र नेपाल ब्लाइन्ड एसोसिएसनको सहयोगमा सामाजिक, म्युजिक र ऐच्छिक नेपालीका पाठ्यपुस्तक पेनड्राइभमा राखिएको हो,' उनलेृ भनिन्। स्कुलमा नेपाली र अंग्रेजीका पाठ्यपुस्तक मात्र ब्रेलमा उपलब्ध रहेको उनले बताइन्।
गणित, भूगोल, ज्यामितिलगायत रेखाचित्र भएका विषय अध्ययन गर्न अप्ठ्यारो हुने गरेको अर्का विद्यार्थी मोहन विकको गुनासो छ। चार वर्षको हुँदा दृष्टि गुमाएका दोलखाका १८ वर्षे विक अन्य पाठ्यपुस्तक पनि सहज पढ्ने व्यवस्था मिलाउनुपर्ने बताउँछन्।
‘सुनेरभन्दा छामेर सजिलो हुने भएकाले सरकारले सबै विषयका ब्रेल बुक बनाउनु पर्छ,' स्कुलको चौरमा शिक्षक रमेश सुवेदी र सहपाठीसँगै बसेर डिजिटल अडियो प्लेयरबाट म्युजिकको तयारी गरिरहेका आशिष दाहालले भने। गणित, भूगोलजस्ता विषय सुनेर मात्र बुझ्न गाह्रो भइरहेको उनी बताउँछन्।
शिक्षक सुवेदी भने पोहोरभन्दा यो वर्ष दृष्टिविहीन विद्यार्थीलाई केही सजिलो भएको बताउँछन्। ‘अहिले पाठहरू पेनड्राइभमा राखिएको छ,' उनले भने, ‘सुन्ने माध्यमबाट विद्यार्थीलाई केही सजिलो भएकाले पेनड्राइभबाटै एसएलसी तयारी गर्दैछन्।' सरकारले दृष्टिविहीन विद्यार्थीका लागि आपांगमैत्री विद्यालय र पठनपाठनको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
स्कुलका प्रिन्सिपल लाक्पा शेर्पाअनुसार यस वर्ष ६१ विद्यार्थी एसएलसीको तयारीमा छन्, यसमा पाँच दृष्टिविहीन छन्। सार्वजनिक गुठीअन्तर्गत सञ्चालित ल्याबले देशमै पहिलोपटक २०२३ सालदेखि ल्याबले दृष्टिविहीनका लागि पढाउन सुरु गरेको हो। ‘सरकारले दृष्टिविहीनका लागि स्रोतसाधनको व्यवस्था गर्ने हो नतिजामा सुधार आउनेछ,' शेर्पाले भने।
यता ललितपुरको नमुना मच्छिन्द्र माविका दृष्टिविहीन विद्यार्थी भने स्रोतसाधन अभाव र दृष्टिविहीनमैत्री वातावरण नभएकै एसएलसी दिनबाट वञ्चित हुने भएका छन्। ‘पाठ्यपुस्तक अभावले अन्य कक्षाका विद्यार्थीलाई पनि समस्या छ,' स्रोत शिक्षक बुद्धलक्ष्मी श्रेष्ठले भनिन्।
प्रकाशित: ६ माघ २०६९ २२:२६ शनिबार