विद्यार्थीको नोबेल पुरस्कार भनेर चिनिने दश लाख अमेरिकी डलरसहितको पुरस्कार पाइने हल्ट प्राइजको प्रतियोगिताको प्रथम चरण स्वरुप अन क्याम्पस कार्यक्रम आगामी डिसेम्वरमा नेपालमा हुने भएको छ। डिसेम्बर १५, २०२० सम्ममा नेपालमा आयोजना भइसक्नपर्ने यो कार्यक्रम यो वर्ष सन् २०२० को डिसेम्बर १० सम्ममा आयोजना गरिसक्ने जनाइएको छ।
नेपालका विभिन्न विश्वविद्यालयहरूमा यो प्रतिस्पर्धा हुने भएको छ। त्यसमध्ये नेपाल इन्जिनियरिंग कलेज चाँगुनारायण भक्तपुरले आयोजना गर्ने कार्यक्रममा पोखरा विश्वविद्यालयका दशवटा कलेजका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने छन्। हल्ट प्राइज नेपाल इन्जिनियरिङ कलेजको आयोजक समिति गठन भइसकेको र तीव्र गतिमा काम भइराखेको जनाइएको छ।
विद्यार्थीहरूले तीनदेखि चार जनाको समूह बनाइ प्रतिस्पर्धामा भाग लिन पाउने छन्। सहभागी विद्यार्थीमध्ये उत्कृष्ट सामाजिक व्यवसायिक योजना प्रस्तुत गर्ने विद्यार्थी समूह अघिल्लो चरणको क्षेत्रीय प्रतिस्पर्धाको लागि छनोट हुने छन्। क्षेत्रीय प्रतिस्पर्धाका विजयी विद्यार्थीहरूले अमेरिकामा आयोजना गरिने अन्तिम चरणको प्रतिस्पर्धामा भाग लिने मौका पाउने छन्। एक वर्षसम्म चल्ने यस कार्यक्रमको ग्लोबल विजेताले दश लाख अमेरिकी डलर पुरस्कार स्वरुप पाउने छन्। प्रत्येक वर्ष हल्ट प्राइज फाउन्डेसन र संयुक्त राष्ट्रसंघको सहकार्यमा विश्वभर हल्ट प्राइज आयोजना हुने गरेको छ।
नेपालमा हुने कार्यक्रमका लागि तयारी अगाडि बढिसकेको हल्ट प्राइज नेपाल इन्जिनियरिंग कलेज कार्यक्रमका निर्देशक तेश्रो वर्षका विद्यार्थी निरज बिकले जानकारी गराए। खाद्य सुरक्षा, शुद्ध खानेपानी, शिक्षा, उर्जाको क्षेत्रमा रहेका विश्वव्यापी साझा सामाजिक समस्याका चुस्त समाधान खोज्दै आएको हल्ट प्राइज फाउन्डेसनले यस वर्षका लागि फुड फर गुड ट्रान्सफरिङ फुड इन्टु भेइकल फर चेन्ज शीर्षकको चुनौती छनोट गरेको छ।
सन् २००९ मा शुरु भएको र पहिलो वर्षमा नै २५ देशका एक हजार बिद्यार्थी सहभागी हल्ट प्राइजको प्रतिस्पर्धामा अहिले विश्वका एक सय २० देशका दुई हजार भन्दा बढी विश्वविद्यालयका बिद्यार्थीहरूले भाग लिने गरेको जनाइएको छ।
हल्ट प्राइजले बिद्यार्थीहरूलाई सामाजिक उधमी बन्न उत्प्रेरित गर्ने गरेको छ। प्रत्येक वर्ष विश्वव्यापी रुपमा देखिएका समस्याहरू जस्तै भोकमारी, प्रदूषण, जलवायु परिवर्तन जस्ता समस्याहरूको समाधानको लागि एउटा विषय निरधारण गर्दछ। हल्ट प्राइज प्रतिस्पर्धा सन् २०२०।२१ को लागि फुड फर गुड : टान्फर्मिग फुट इन्टु अ भेइकल फर चेन्ज विषय छनोट गरिएको छ। यस वर्षको हल्ट प्राइजको चुनौतीले दिगो विकासका ७ वटा लक्ष्यहरू पूरा गर्ने सोच राखेको छ। यसको समाधान र यसका वैकल्पिक पाटाहरूलाई केलाउदै प्रतिस्पर्धीहरूले प्रतिस्पर्धामा उत्रिनु पर्दछ र आफ्नो प्रोजेक्टलाई व्यवसायमा उतार्नु पर्दछ। हल्ट प्राइज जित्न अगामी एक दशकभित्र एक करोड मानिसलाई रोजगार दिन सक्ने खालको व्यवहारिक उत्कृष्ट योजना प्रस्तुत गर्नु पर्दछ।
कोरना महामारीको विषम परिस्थिति कायमै रहेको खण्डमा हल्ट प्राइजका सबै कार्यक्रम वैकल्पिक माध्यम (अनलाइन) मार्फत संचालन गर्ने योजना रहेको हल्ट प्राइज नेपाल इन्जिनियरिंग कलेज कार्यक्रमका संचार प्रबन्धक दोश्रो वर्षका बिद्यार्थी रोबर्टराज उपाध्यायले बताए।
विभिन्न समस्याहरू दिनहुँ हाम्रो समाजमा देखिरहेका हुन्छन्, कुनै प्रत्यक्ष र कुनै अप्रत्यक्ष। कुनै समस्याहरू तत्काल समाधान हुने हुन्छन् भने कुनै वर्षौसम्म हामीसँगसँगै रहने हुन्छन्। कुनै समस्याहरू मानव समाजद्वारा निर्मित हुन्छन् भने कुनै समस्याहरू प्रकृतिक रुपमा देखा पर्दछन्। यस्ता विश्वव्यापी समस्याहरूलाई विचारको धाराबाट प्रकट गरी समाधान गर्नुलाई नै हल्ट प्राइज भनिन्छ।
प्रकाशित: २१ आश्विन २०७७ ०६:४७ बुधबार