शिक्षा

गणित तथा विज्ञान प्रविधि सरोकारवालाद्वारा विरोध प्रदर्शन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रदेखि लागु गर्न खोजेको कक्षा ११ र १२ को ‘नयाँ पाठ्यक्रम प्रारूप’ गणित एवं विज्ञान तथा प्रविधिविरोधी भएको भन्दै विज्ञान तथा प्रविधि क्षेत्रका सरोकारवाला आन्दोलनमा उत्रिएका छन्। सरकारले कक्षा ११ र १२ मा गणित विषयलाई बेवास्ता गरी विज्ञानका विद्यार्थीलाई गणित विषय अध्ययनबाट बन्चित पारेको भन्दै नेपाल गणित समाज, गणित शिक्षा परिषद् नेपाल, नेपाल गणित केन्द्र, गणित विज्ञान ट्रस्ट नेपाल, ओनिम्स र म्याथमेटिकल असोसिएसन अफ नेपालले संयुक्त रुपमा शनिबार माइतीघर मण्डलामा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्।

नेपाल गणित समाजका सभापति प्राडा चेतराज भट्टले सरकारले आफैंले गठन गरेको गणित विषयको समस्या र समाधानका लागि उच्चस्तरीय समितिको प्रतिवेदन लुकाई निहितस्वार्थ परिपूर्तिका लागि विद्यार्थीलाई उत्तीर्ण गराउने मात्र उद्देश्य राखी तयार पारेको गणित विषयलाई विस्थापित गर्ने पाठ्यक्रम मान्य नहुने बताए। पाठ्यक्रम विकास केन्द्रले हाल गणित विषयलाई चौथो ऐच्छिक विषयमा राखेको छ। जसले जीवविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले गणित अध्ययन गर्न नपाउने र भौतिक विज्ञान अध्ययन गर्ने विद्यार्थीले जीवविज्ञान अध्ययन गर्न बाटो रोकिएको छ। 

यसले विज्ञान विषयलाई नै मेरुदण्डविहीन बनाएको उनको ठहर छ। ‘सरकारले तयार गरेको पाठ्यक्रम लागु गर्ने हो भने कक्षा ११ देखि नै जीवविज्ञान समूहले गणित अध्ययन गर्न नपाउने र भौतिक विज्ञान समूहका विद्यार्थीले जीवविज्ञान अध्ययन गर्न नपाउने व्यवस्था गरेर आम विद्यार्थीको गणित पढ्न पाउने अधिकारलाई नै कुण्ठित गरेको छ,’ सभापति भट्टले भने, ‘यसले १२ पछि जीव विज्ञानतर्फको विद्यार्थीको गणित विषयको १०० पाठ्यभारको अभाव हुन्छ। यसले विभिन्न विश्वविद्यालयमा विद्यार्थीले इन्जिनियरिङ र आइटी अध्ययनतर्फको ढोका बन्द हुन्छ।’

समाजका महासचिव तथा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय गणित विभाग उपप्राध्यापक डा. जीवन काफ्लेले सरकारले पाठ्यक्रम नसच्चाई जबरदस्ती लागु गर्न खोजे कडा आन्दोलनमा उत्रने चेतावनी दिए।

प्रकाशित: ११ आश्विन २०७७ ०१:२८ आइतबार

गणित तथा विज्ञान