त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि पूर्णरुपमा अनलाइन सेवा उपलब्ध गराउन थालेपछि पनिका खालि देखिन थालेको छ ।
असार १५ गतेदेखि कार्यन्वयन हुने गरी विश्वविद्यालयले आफ्नो परीक्षा नियन्त्रण कार्यालयका दश वटा मुख्य कामलाई अनलाइन प्रणालीमा थपेर अघि बढेको छ । सधैंजसो भिडभाड हुने पनिका यसैकै कारण सोमबार खालि जस्तै देखियो ।
पनिका पुगेका विद्यार्थी पनि अनलाइनबाटै ट्रान्सक्रिप्टका लागि फर्म भरिरहेका पाइए । झापाकी सुनिता केसीलाई त्रिवि पनिका अनलाइनमा गएको थाह थिएन । उनले स्नातक पास गरे पनि ट्रान्सक्रिप्ट लिन पनिकाको कार्यालय बल्खु पुगेकी थिइन् । तर पनिकाका कर्मचारीले अबदेखि घरबाटै अनलाईन अप्लाई गर्ने व्यवस्थाबारे जानकारी दिएपछि सुनिताले आफ्नो मोवाइल फोनबाटै अनलाइन फर्म भरिन् । ‘मलाई अनलाइन अप्लाईबारे थाह थिएन,’ सुनिताले नागरिकसँग भनिन्, ‘त्यसैकारण पनिका परिसरबाटै अनलाइन सहजै अप्लाई गरे ।’ उनले थपिन्, ‘अब अनलाइनबाटै ट्रान्सक्रिप्ट, मूल प्रमाणपत्र र नाम सच्याउनेलगायतका सबै कामका लागि अप्लाइको व्यवस्था पनिकाले गरिदिएर केहि सहज बनायो।’ तर प्रमाणपत्र भने प्रदेश स्तरका कार्यालयबाट लिनु पर्ने पनिकाले जनाएको उनले बताइन् ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अहिले पनिकाले आफ्ना १० प्रमुख सेवाहरू थपेर असार १५ गतेदेखि पूर्णरूपमा अनलाइनमार्फत् फारम भर्ने कामको सुरुवात गरेको छ ।‘ पनिकाको सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन हामीले पेपरलेस अवधारणामा पनिकालाई लाने तयारी गरेका छौं,’ नियन्त्रक जोशीले नागरिकासँग भने,‘ दीक्षान्त समारोहका लागि अनलाइन फारम र त्रिवि इमिस प्रविधिको प्रयोग सफल भएपछि पनिकाले विद्यार्थीका सबै काम अनलाइन गर्ने ब्यवस्था गरेको हो ।’ उनले थपे,‘ अब विद्यार्थीले घरबाटै नयाँ रजिस्ट्रेसन आवेदन फाराम, परीक्षा आवेदन फारम, ट्रान्सक्रिप्ट आवेदन फारम तथा प्रोभिजनल सर्टिफिकेट, पुनर्योगका लागि आवेदन फारम, मूल प्रमाणपत्र, शैक्षिक कागजात, नाम, थर, रजिष्ट्रेसन नम्बर सच्याउने फारमलगायत विभिन्न सिफारिसका लागि अनलाइन अप्लाईको व्यवस्था गरिएको छ । प्रमाणपत्रहरुको प्रमाणीकरण, ट्रान्सक्रिप्ट र मार्कसिटको प्रतिलिपि तथा ट्रान्सक्रिप्ट र मार्कसिटको प्रतिलिपि पनि अब अनलाइनबाटै प्राप्त गर्न सकिन्छ ।’
नियन्त्रक जोशीका अनुसार अब विद्यार्थीले आधिकारिक अनलाइन पोर्टल प्रयोग गरी सेवाहरूका लागि घरबाटै आवेदन दिन सक्ने छन् । साउन १ गतेदेखि प्रदेश स्तरबाटै आफ्ना शैक्षिक प्रमाणपत्रहरु प्राप्त गर्न सक्छन् । ‘कोशीको विराटनागर, गण्डकीको पोखरा, लुम्बिनी र कर्णालीको नेपालगञ्ज तथा सुदूरपश्चिमको धनगढीबाट विद्यार्थीले प्रदेशगत रुपमा प्रमाणपत्र प्राप्त गर्न सक्छन्,’नियन्त्रक जोशी भन्छन्,‘ विश्वविद्यालयले यसका लागि सूचना तथा प्रविधि तर्फ ११ कर्मचारी थपिदिएर अनलइन काम सहज बनाइयो ।’ हाल १५ हजार विद्यार्थीले अनलाइनबाट सेवा लिइसकेको उनको भनाइ छ ।
पनिकाका परीक्षा प्रशासन प्रमुख नविन्द्र भण्डारीले पनिकामा प्रमाणपत्रहरु दिलाइदिने भन्दै विचौलियाको चलखेल रोक्न पनि पनिका अनलाइन जानु पर्ने अनिवार्य बनेको स्पष्ट पारे । ‘केहि दिन अघिसम्म पनि स्नातकका ट्रान्सक्रिप्टको लागि ४५० शुल्क पर्नेमा बिचौलीले ५ हजारसम्म लिएर पनिकाको छवी खराब बनाउने खबर पनि हामीले पाएका थियौं,’ प्रमुख भण्डारीले भने, ‘अहिले पनि पनिकाको अनलाइन सर्वर ह्यक गर्न बिचौलीयाहरु लागि परेका छन् । तर पनिकाले सफलतापूर्वक आफ्ना विद्यार्थीसँग सम्बन्धि सबै काम अनलाइन नै गर्दै जानेछ । केहि वर्षमा पनिका पेपरलेस बनाउने लक्ष्य हो,’ उनले थपे, ‘यति मात्र होइन विद्यार्थीले अनलाइन अप्लाइ गरेपछि आफ्ना कागजात पनिकाको कुन झ्यालमा पुग्यो र कहिले काम हुन्छ भन्ने अवस्था थाह पाउनकोलागि ट्र्याकिङ प्रणालीको समेत विकास गरिएको छ ।हाल मानविकी र शिक्षा शास्त्र संकायमा लागु भइसकेको छ ।अब व्यवस्थापन, विज्ञान र कानूनमा ट्रयाकिङ प्रणाली कार्यन्वयन गर्ने तयारी छ ।’
प्रकाशित: १६ असार २०८२ १८:५५ सोमबार