शिक्षा

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन!

अन्नपूर्ण गाउँपालिका–५ स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर छ। 

कक्षा ५ सम्म अध्यापन हुने यो विद्यालयमा तीन जना विद्यार्थी छन्। कक्षा ३ मा दुई र कक्षा ४ मा एक जना विद्यार्थी छन्। प्रधानाध्यापक रामचन्द्र पाइजाका अनुसार विद्यालयमा एक जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना कार्यालय सहयोगी छन्।

'तीन वर्षयता विद्यालयमा विद्यार्थी आएका छैनन्,' उनले भने, 'भएका विद्यार्थी पनि गएपछि बालकक्षा, कक्षा १, २ र ५ विद्यार्थीविहीन भएको छ।'

स्वाँत गाउँमा ७० घर परिवारको बसोबास छ। विद्यार्थी सङ्ख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपरेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए। स्वाँतको छिमेकी गाउँ किन्दु आधारभूत विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून रहेको उनले बताए। रासस

प्रकाशित: १५ जेष्ठ २०८२ १०:५१ बिहीबार

#Nagariknews