‘पढ्ने मन हुँदाहुँदै नजिकमा क्याम्पस नहुँदा उच्च शिक्षाको चाहना त्याग्नुपरेको थियो, अब घरकै खाना खाएर पढ्न पाइने भयो,’ महोत्तरीको भङ्गाहा–५ की विभा कापरले भनिन्, ‘अब मेरो चाहना पूरा हुनेछ।’ भङ्गाहामा स्नातक क्याम्पस सञ्चालन भएपछि उनले नामाङ्कन गराएकी हुन्।
छ वर्षअघि कक्षा ११ र १२ पूरा गरेकी विभाले नजिकमा स्नातक तह पढाइ हुने क्याम्पस नहुँदा उच्च शिक्षा लिन नसकेको बताइन्। ‘आर्थिक अवस्था कमजोर भएकाले बाहिर गएर पढ्न सकिएन, छोरीलाई बाहिर पढ्न पठाउन अभिभावकले मानेनन्,’ उनले भनिन्।
विभाजस्तै भङ्गाहा–३ की ममताकुमारी चौधरी थारुले कक्षा ११ र १२ सकेको पाँच वर्षपछि स्नातक तहमा नामाङ्कन गरिन्। नजिकमा क्याम्पस नहुँदा उच्च शिक्षाको चाहना त्यागेका अमृता चौधरी, जेसिका भुजेल, गुड्डुकुमारी चौधरी, मञ्जु साह र निशा महतोलाई पनि अब उच्च शिक्षा पढ्ने अवसर प्राप्त भएको छ। भङ्गाहा–५ सीतापुरबजारमा सिद्धनाथ क्याम्पस सञ्चालनमा आएपछि नगरक्षेत्रका विपन्न परिवारका छोराछोरीलाई उच्च शिक्षा सहज भएको छ। क्याम्पसको उद्घाटनसँगै नामाङ्कनको लहर चलेको क्याम्पस प्रमुख राजेन्द्र यादवले बताए।
‘क्याम्पस सञ्चालन भएको एक साता भयो, विद्यार्थीले धमाधम नामाङ्कन गराइरहेका छन्,’ उनले भने, ‘हालसम्म ४० जनाले नामाङ्कन गराइसकेका छन्।’ पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित क्याम्पसमा भर्ना हुनेमा छात्रभन्दा छात्रा बढी छन्।
अहिलेसम्म २५ छात्रा र १५ छात्र भर्ना भएका छन्। नगरपालिकाको पहलमा सिद्धनाथ महादेव मन्दिरको नाममा क्याम्पस स्थापना भएको हो। हाल शिक्षाशास्त्र सङ्कायमा अङ्ग्रेजी, नेपाली र स्वास्थ्य विषयको पढाइ सुरु भएको यादवले बताए। आगामी वर्ष थप विषय र वाणिज्य सङ्कायको स्वीकृतिका लागि पहल गरिने उनको भनाइ छ।
भङ्गाहा नगरपालिकामा ९ वडा र ४० भन्दा बढी बस्ती छन्। २०७८ को जनगणनाअनुसार यहाँको जनसङ्ख्या ५५ हजार ३५४ छ, तर पछिल्ला चार वर्षमा यो सङ्ख्या ६० हजार नजिक पुगेको नगर प्रमुख सञ्जीवकुमार साहले बताए। नगरमा ३० सामुदायिक विद्यालय छन्, जसमध्ये नौ वटा माध्यमिक तहका छन्। तर कक्षा ११ र १२ पढाइ हुने एउटा मात्र माध्यमिक विद्यालय छ।
नगरमा पहिलो क्याम्पस सञ्चालन भएसँगै कक्षा १२ उत्तीर्ण विद्यार्थी स्नातक तहमा भर्ना हुन थालेका छन्, जसमा छोरीको सङ्ख्या बढी छ। थारु, दनुवार, बाँतर, मुसहर, कापर, चमार, धानुक र मुस्लिम समुदायको बाहुल्य रहेको भङ्गाहामा क्याम्पस स्थापनाले सर्वसाधारण खुसी छन्।
‘हाम्रो ठाउँमा क्याम्पस खुल्यो, नातिनातिनाले घरकै खाना खाएर पढ्न सक्छन्,’ भङ्गाहा–४ पलारका ८० वर्षीय चौठी बाँतरले भने, ‘यो क्याम्पसले छोरीलाई सजिलो भएको छ।’ आफूले पढ्न नपाए पनि नयाँ पुस्ताले पढ्नुपर्छ भन्ने उनले बताए।
हुनेखानेले छोराछोरीलाई सहर पठाएर पढाए पनि विपन्न बस्तीका थारु, दनुवार, बाँतर, मुसहर, कापर, धानुक र मुस्लिम समुदायका छोराछोरीले उच्च शिक्षा पाउन सकेका छैनन्। बाँतर र मुसहर समुदाय शैक्षिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवसरबाट वञ्चित छन्। गरिबीले सन्तान पढाउन नसकेको भङ्गाहा–४ रामनगरका जुगल सदा मुसहरले बताए। भङ्गाहा–५ सीतापुरका ६२ वर्षीय अमरबहादुर भुजेलले क्याम्पसले छोराछोरीलाई उच्च शिक्षा लिन सहज हुने बताए। रासस
प्रकाशित: ९ जेष्ठ २०८२ १६:२१ शुक्रबार