शिक्षा

पालिकामै उत्कृष्ट चेपाङ विद्यालय

चितवनको राप्ती नगरपालिकामा पर्ने कान्दा अझै विकट छ। सवारीसाधन र बिजुलीसमेत नपुगेको यो ठाउँमा शिक्षामा भने रूपान्तरण भइरहेको छ। आवासीय सुविधासहितको विद्यालय स्थापनापछि यहाँका चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएका छन्। राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यसपटक कक्षा ८ को परीक्षामा पालिकाकै उत्कृष्ट विद्यालय बनेको छ।

कक्षा ८ मा अध्यापन थालिएको पहिलो वर्षमै चेपाङ बालबालिका मात्रै अध्ययनरत विद्यालय उत्कृष्ट बनेको हो। विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले शिक्षक, विद्यार्थी र अभिभावक र विभिन्न संघसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको बताए।

 उनका अनुसार यस वर्ष १३ विद्यार्थीले कक्षा ८ को परीक्षा दिएको थिए। उनीहरूमध्ये एक जनाले ‘ए प्लस’, सात जनाले ‘ए’ र दुईजनाले ‘बी प्लस’ नतिजा ल्याएको उनले बताए। ‘पहिलो वर्षमै यसरी उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छौं,’ उनले भने, ‘शिक्षक र विद्यार्थीको अथक मेहनतले यो सम्भव भएको हो।’

यस विद्यालयमा लक्ष्मी प्रतिष्ठानले आवासीय सुविधासहित छात्रावास सञ्चालन गरेपछि चेपाङ बालबालिकाको शिक्षामा सुधार आएको हो। ‘यहाँ बिहान ४ देखि राति ९ बजेसम्म नै विद्यार्थीलाई पढाइन्छ,’ उनले भने, ‘शिक्षकहरू पनि आवासीय रूपमै बसिरहनुभएको छ।’

 राप्ती नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय छन्। तीमध्ये कान्देश्वरीसहित तीनवटा विद्यालयले कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले जानकारी दिइन्। यस नतिजालाई नगरपालिकाले समेत सकारात्मक रूपमा लिएको उनले बताइन्।

कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रूपमा चिनिन्छ। यहाँ पुग्न अझै पनि दुई÷तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ। यहाँका विद्यार्थी कक्षा ८ उत्तीर्ण भएपछि थप पढाइका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता छ। गरिबीका कारण यहाँका बालबालिकाले बिचमै पढाइ छाड्ने गर्छन्। पछिल्लो समय कक्षा ८ उत्तीर्ण बालबालिकालाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने बताएको छ।

यहाँ २०७२ सालअगाडि कक्षा ३ सम्म मात्रै अध्यापन हुने गरेको थियो। २०६७ सालमा एकै घरका आठजनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि यहाँ विभिन्न संघसंस्थासँगै राज्यको ध्यान केन्द्रित हुन थाल्यो।

लक्ष्मी प्रतिष्ठान र मितेरी फाउन्डेसनले गरिबी र अभाव देखेर चेपाङ समुदायको उत्थान र बालबालिकाको शिक्षाका लागि काम गर्न थाले। स्कुलमा लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको छ भने फाउन्डेसनले दुई शिक्षकको व्यवस्था गरिदिएपछि कक्षा ८ सम्मको पढाइ सम्भव भएको हो। त्यसअघि यहाँका अधिकांश बालबालिकाले कक्षा ३ पढेपछि बिचमै पढाइ छाड्ने गरेको विद्यालयका प्रधानाध्यापक थपलियाले बताए। ‘अहिले पनि अभिभावकको पढाउने क्षमता छैन। विभिन्न संघसंस्थाले सहयोग नगरे यहाँका बालबालिका पढाइबाट वञ्चित हुनेछन्,’ उनले भने।

विभिन्न दाताको सहयोगमा कक्षा ८ सम्मको पढाइ गरे पनि दरबन्दी अभावका कारण कक्षा सञ्चालन गर्न समस्या आएको थपलियाले बताए। उनका अनुसार निम्न माध्यमिक विद्यालयमा १० शिक्षकको दरबन्दी आवश्यक पर्छ। 

प्रकाशित: ९ जेष्ठ २०८२ ०७:१६ शुक्रबार

# Nagarik # Residential facility # Community school