किशोरकिशोरीलाई सही दिशामा डोर्याउन व्यवस्थित यौन शिक्षा दिनुपर्नेमा जोड दिइएको छ।
बियोन्ड बेजिङ समितिले शुक्रबार यहाँ आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष डा. लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य भए पनि लाजका कारण विद्यार्थीले नपढ्ने र शिक्षकले पढाउन नसक्ने अवस्थाले समस्या भइरहेको बताए। कक्षा ९ र १० मा स्वास्थ्य शिक्षासम्बन्धी विषय ऐच्छिक समूहमा राखिएकाले सबैले पढ्न नपाएको उनले जानकारी दिए।
माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गर्नुपर्ने अभियानकर्मी तामाङको जोड छ। किशोरकिशोरीलाई यौन शिक्षा दिएर सचेत बनाउन सके यौन रोगलगायत विकृतिबाट जोगिन सकिने भएकाले सञ्चारमाध्यमले यस्ता विषयमा जागरण अभियान चलाउनुपर्ने उनको भनाइ छ। रासस
प्रकाशित: ३ जेष्ठ २०८२ ०६:२८ शनिबार