खेल

महिला विश्वकप : ३२ बाट ४८ टोली पुर्‍याइयो, थप देशका सुनौलो अवसर

सन् २०३१ बाट फिफा महिला विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट ४८ बनाइने भएको छ। फिफाले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो निर्णय सर्वसम्मतिले पारित भएको जनाएको छ।

फिफाका अनुसार, विश्वभर महिला फुटबलमा भएको प्रगतिलाई सम्मान गर्न यो निर्णय लिइएको हो। यसले थप राष्ट्र र खेलाडीलाई उच्चस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर दिनुका साथै विश्वभर महिला फुटबलमा लगानी बढाउन सहयोग गर्ने अपेक्षा छ।

नयाँ ढाँचामा ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ, जसले खेल संख्या ६४ बाट १०४ पुर्‍याउनेछ र प्रतियोगिता एक हप्ता लम्बिनेछ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, ‘यो केवल थप १६ टोली खेलाउने कुरा मात्र होइन, यो निर्णयले सदस्य राष्ट्रहरूलाई समग्र रूपमा महिला फुटबल संरचना विकास गर्न प्रेरित गर्नेछ।’

महिला विश्वकप सन् १९९१ मा १२ टोलीबाट सुरु भएको थियो। सन् २०११ सम्म १६ टोलीले भाग लिए, भने सन् २०१९ मा क्यानडा र फ्रान्समा भएको प्रतियोगितामा २४ टोली सहभागी थिए। सन् २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डमा भएको विश्वकपमा पहिलोपटक ३२ टोलीले खेले। सन् २०२७ को विश्वकप ब्राजिलमा हुनेछ।

यसैबिच, पुरुष विश्वकप पनि सन् २०२६ बाट ४८ टोलीसहित आयोजना हुँदैछ, जुन अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन्। सिन्ह्वा

प्रकाशित: २८ वैशाख २०८२ ०९:२३ आइतबार

#NagarikNews #FIFA 48 teams women