शिक्षा

'नागरिक नायक' पाठकको गुरु मन्त्रः ट्यालेन्ट विद्यार्थीलाई शिक्षक बनाएर भित्र्याउँछु

रुपन्देहीको कालिका माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाएका प्रधानाध्यापक घनश्याम पाठक नागरिक नायक २०८२ बाट सम्मानित भएका छन्। नेपाल रिपब्लिक मिडियाले शनिवार राष्ट्रपति रामचन्द्र पौडेलबाट पाठकलाई सम्मान गरेको हो।  

सम्मानको घोषणापछि नागरिक नायक पाठकले आफ्नो अनुभव र केही सुझाव पनि प्रस्तुत गरे। नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै पाठकले आफ्नो विद्यालयमा १५० कक्षा कोठा सबै भरिभराउ रहेको सुनाए। ‘विद्यालयमा ४, ५ र ६ कक्षामा मात्रै नयाँ भर्ना लिन्छौँ माथिल्ला कक्षामा आफ्नै विद्यार्थी मात्रै पढ्छन्,’ पाठकले सुनाए।  

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियर अध्ययनमा नाम निकालेर पाठकले आर्थिक अवस्था कमजोर रहेकाले पढ्न नपाएको बताए। उनले भने, 'तर, अहिले लाग्छ म झुक्किएर इन्जिनियर बनिनँ। अहिले शिक्षक भएकामा गर्व लाग्छ।’

आफू छात्रवृत्ति कहाँ पाइन्छ भन्दै खोज्दै जाँदा शिक्षामा पाएको र  शिक्षा पढ्दा त्यहाँ पढेका सैद्धान्तिक कुरा कक्षामा कसरी लागू गर्न सकिन्छ भन्ने प्रयास गर्दा अहिलेको नतिजा आएको उनले सुनाए।  

‘यस्तै म आफूले पढाएको सबैभन्दा ट्यालेन्ट विद्यार्थीलाई विद्यालयमा सिफारिस गर्छु र आफ्नै विद्यालयमा भित्र्याउन कोसिस गर्छु। त्यसको नतिजा पनि हो,’ नागरिक नायक पाठकले भने।

प्रकाशित: १३ वैशाख २०८२ १६:५२ शनिबार

#NagarikNayak2082 #NepalRepublicMedia