शिक्षा

नागरिक नायक: स्कुल उत्कृष्ट बनाउने पाठक पाठ

केहीका लागि शिक्षण पेसा जागिर हो, केहीका लागि जीवन बदल्ने माध्यम हो। घनश्याम पाठक, ६३, का लागि शिक्षण पेसा गरिब निमुखाका लागि जीवन परिवर्तनको माध्यम हो। असाक्षर व्यक्तिले भन्दा साक्षर व्यक्तिले तुलनात्मक रूपमा चाँडो परिवर्तनको भेउ पाउँछ र आफूसँगै समाजलाई परिवर्तन गर्न सक्छ। यो अनुभवले नै पाठकले यस्तो पेसा रोजे, जसले उनलाई सम्मान मात्र दिलाएन, समुदायले शैक्षिक नायकका रूपमा समेत मान्यो।

२०१७ सालमा बागलुङ जिल्लाको गल्कोट–९, हरिचौरमा जन्मिएका घनश्याम पाठकको घरनजिकै स्कुल थियो। स्कुलमा घण्टी नलागी सितिमिती उनी पुग्न पाउँदैन थिए। स्कुल जानुअघि घाँसदाउरा नगरी सुखै थिएन। गाउँमा व्याप्त गरिबी र अभावकै कारण उनका सबैजसो दौंतरीहरू ५ कक्षाअगावै स्कुल छाडेर हलो जोत्थे वा मजदुरीका लागि भारत पस्थे। आफूले पनि यस्तै नियति भोग्नुपर्ने हो कि भन्ने डरले उनलाई सताइरहन्थ्यो। त्यसैले उनी मिहिनेतका साथ पढ्थे। कतिसम्म भने गोठालो जाँदा लुकाएर किताब लैजान्थे र कसैले नदेख्ने गरी पढ्थे।

‘स्कुलबाहेकको समयमा किताबकापी होइन, काम छोप्नुपर्छ भनेर बुवाआमा भन्नुहुन्थ्यो,’ बाल्यकाल सम्झँदै पाठक भन्छन्, ‘काम नगरेर किताब समातेको देख्दा बुवाको गाली खाइन्थ्यो। त्यसैले घरपारिको पन्थकोढाँडको ठुलो ढुंगामुनिको ओडारमा लुकेर पढ्थें।’

 पढाइप्रतिको लगन देखेर उनका मामाले उनलाई बुटवल ल्याए। ९ र १० कक्षा बुटवलको कालिका माविमा पढे। उनी एसएलसी दिने कालिकाको पहिलो ब्याची थिए। त्यसपछि इन्जिनियर बन्ने सपना बोकेर उनी काठमाडौं हान्निए।

पुलचोक क्याम्पसमा सबओभरसियरमा प्रवेश परीक्षा दिए, नाम पनि निकाले, पढ्न भने पाएनन्। काठमाडौंमा खानबस्न र पढाइ खर्च पुर्‍याउन सकिँदैन भनेर बुवाले सम्झाएपछि उनी गाउँ फर्कन बाध्य भए। त्यतिबेलै उनको मनमा एउटा गहिरो छाप बस्यो। आफूजस्तै गरिब जेहेन्दार विद्यार्थीलाई उत्कृष्ट बनाएर उनीहरूले रोजेको कलेजमा रोजेको विषय पढ्न सक्ने बनाउने अभियानमा लाग्ने अठोट गरे। त्यही अठोट पूरा गर्न केही समय उनले गाउँकै स्कुलमा पढाए। त्यतिबेला गाउँघरमा शिक्षकको निकै महत्त्व थियो। गाउँका ठुलाबडाले समेत ‘मास्टरसाब’ भनेर इज्जत गर्थे। जसले उनलाई आइएड पढेर शिक्षक बन्ने हौसला पनि दियो। पछि उनले शिक्षा संकायमा नै स्नातकोत्तरसम्मको अध्ययन गरे। तिनै पाठक अहिले सामुदायिक विद्यालय सुधारकका रूपमा चिनिन्छन्।

उनमा राजनीतिक चेत पनि थियो। पञ्चायतविरोधी क्रियाकलापमा उनी सक्रिय रूपमा सहभागी हुन्थे। बुटवल बहुमुखी क्याम्पस पढ्दाताका उनी स्ववियु सभापति समेत भए। २०४५ असारदेखि शिक्षण पेसामा आबद्ध उनी पछि त राजनीतिक परिवर्तनको आन्दोलनमा आठपटकसम्म गिरफ्तार भए। भैरहवा कारागारमा एक पटक तीन महिना र अर्को पटक सात महिना बसे। पञ्चायती व्यवस्थामा मात्रै होइन, माओवादी द्वन्द्वका बेलामा समेत उनी गिरफ्तारीमा परे।

सानैदेखि हक्की स्वभावका उनी राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने हिम्मत गर्थे। नराम्रोलाई सुधारेर अगाडि बढाउनुपर्ने उनको मान्यता थियो। देशको परिवर्तनका लागि सबैभन्दा पहिले शिक्षामा सुधार हुनुपर्छ भन्ने मान्यता बोकेका पाठक बालबालिकाका लागि शिक्षाको ज्योति छर्नु र लोकतान्त्रिक व्यवस्थाका लागि आवाज उठाउनु दुवै उत्कृष्ट कार्य भएकाले आफ्नो अभियानबाट कहिल्यै पछाडि नहटेको बताउँछन्।

२०४५ सालदेखि बागलुङको पृथ्वी मावि गल्कोटमा शिक्षक रूपमा अध्यापनमा लागेका पाठक २०४७ सालमा सोही विद्यालयको प्रधानाध्यापक भए। उनी शिक्षक भएर आउँदा पृथ्वी मावि जिल्लामै कमजोर विद्यालयका रूपमा परिचित थियो। तर उनले नेतृत्व प्रदान गर्न थालेको तीन वर्षमै पृथ्वी मावि बागलुङको उत्कृष्ट विद्यालय बनेर पुरस्कृतसमेत भयो।

 २०५५ सालसम्म उनले सोही विद्यालयमा काम गरे। दुईवटा निजी विद्यालयका बिचमा रहेको पृथ्वी माविलाई १० वर्षको अवधिमा उनले यति उत्कृष्ट बनाए कि ती बोर्डिङमा पढ्ने उत्कृष्ट भनिएका विद्यार्थीहरू समेत उनको विद्यालयमा भर्ना हुन भनसुन गर्न थाले।

त्यसो त बागलुङ छँदा उनले आफ्नो विद्यालय मात्रै बनाएनन्, परीक्षा संयोजक बनेर जिल्लाका विद्यालयको परीक्षालाई समेत मर्यादित बनाए। आफूले अक्षर चिनेको गाउँको स्कुललाई उत्कृष्ट स्कुलका रूपमा स्थापित गराएपछि २०५६ सालमा उनी बुटवल झरे। त्यतिबेला सरुवा भएर बुटवलको कालिका माविमा आउँदा उनलाई निकै नरमाइलो लाग्यो। स्कुलको अवस्था उनले पढ्दाताकाको भन्दा कमजोर थियो। सिसौघारीमा हराएका थोत्रा संरचना, भाँचिएका बेन्च­–डेक्स, थोरै विद्यार्थी, थोरै शिक्षक अनि नतिजामा पनि निकै कमजोर थियो, कालिका मावि।

स्कुलको अवस्था शैक्षिक र भौतिक रूपमै कति दयनीय थियो भने सरकारी नीतिअनुरूप न्यूनतम १५ प्रतिशत परिणाम ल्याउन नसकेकै कारण कारबाहीस्वरूप सरकारले अनुदान रोकिदिएको थियो। आफैंले एसएलसी पास गरेको स्कुलको यो दयनीय अवस्थाले उनलाई निकै छटपटी हुन थाल्यो। शिक्षकका रूपमा कार्यरत छँदै उनले विद्यालय प्रशासनलाई विद्यालयको शैक्षिक र भौतिक सुधारका योजनाहरू बनाउन सघाउन थाले। विद्यालय सुधारको उनको अभियानकै कारण विद्यार्थी, स्कुल प्रशासन र अभिभावकमाझ लोकप्रिय शिक्षकका रूपमा चिनिन थाले। पछि त लगातार तीन वर्ष जिल्लामै उत्कृष्ट शिक्षकका रूपमा पुरस्कृत पनि भए।

उत्कृष्ट शिक्षणकलासँगै रहेको नेतृत्वदायी र व्यवस्थापकीय क्षमताकै कारण २०६५ सालमा पाठक कालिकाको प्रधानाध्यापक बने। नेतृत्व सम्हालेसँगै उनले कालिकालाई उच्च मावि बनाए। विद्यालयमा शैक्षिक सुधारका योजना लागु गरे। ती सुधारका योजनाको सफलताबाट उनी कुशल योजनाकार पनि रहेको प्रमाणित गरे।

जुन बेला उनी कालिका माविको प्रधानाध्यापक थिए, त्यतिन्जेल सरकारी तथा सामुदायिक विद्यालयको गुणस्तर खस्किसकेको थियो। निजी स्कुलहरूको बोलवाला थियो। सरकारी स्कुल पनि भनिने सामुदायिक स्कुल गरिब विद्यार्थीले अध्ययन गर्ने कमजोर शैक्षिक संस्थाका रूपमा चिनिन्थ्यो र त्यहाँ पढ्नेलाई हेयका दृष्टिले हेरिन्थ्यो। तिनलाई अब्बल बनाउनेतर्फ कसैको चासो थिएन। एक किसिमले सामुदायिक स्कुलले आफूलाई अब्बल साबित गर्न सकिन्छ भन्ने आफ्नो विगत बिर्सिसकेका थिए। त्यसैले भौतिक र शैक्षिक पूर्वाधार कमजोर थिए। नतिजामा त झनै कमजोर बन्न पुगेका थिए।

यो साझा समस्यामा बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेको कालिका मावि पनि परेको थियो। कतिपय वर्षहरूमा त कालिकाको रिजल्ट शून्य आउँथ्यो। जसका कारण सरकारी अनुदान पनि कटौतीमा पर्ने गथ्र्यो। दरबन्दीभन्दा निकै कम शिक्षक–कर्मचारी हुनु, पुरानो शिक्षण पद्धति रहनु, प्रयोगात्मक कक्षाहरू नहुनुजस्ता समस्याले गाँजेको थियो। स्कुलमा विद्यार्थी संख्या पाँच सयको हाराहारीमा थियो। दरबन्दीमा जम्मा २४ शिक्षक र कर्मचारी थिए। निजी स्रोतका शिक्षक राख्ने विषयलाई राजनीतिक भागबन्डाले गाँजेको थियो।

२०६५ सालमा जब पाठकले प्रअको जिम्मेवारी सम्हाले, उनको अगुवाइमा विद्यालयले मुहार फेर्न थाल्यो। उनको कार्यकालमा कालिकानगरमै रहेको मानव ज्ञान माविलाई कालिकामा गाभियो। र, कालिका मानव ज्ञान माविका रूपमा परिचय स्थापित भयो। उनको व्यवस्थापकीय कुशलताका कारण यो स्कुल छोटो अवधिमै नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा स्थापित हुन सफल भयो।

पाठक प्रअ हुँदाको अवधिमा विद्यालय लगातार चार पटकसम्म देशमै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा पुरस्कृत भयो। २०७२ सालमा सामुदायिकतर्फ नेपाल प्रथम भई राष्ट्रिय ध्वजासहित सर्वोत्कृष्ट पुरस्कार पाएको थियो। २०७१ सालदेखि हालसम्म प्राविधिकतर्फ नेपाल प्रथम भई पुरस्कृत हुँदै आएको छ। २०७४ मा तृतीय पुरस्कार प्राप्त गर्न स्कुल सफल भयो। २०७५ देखि नमुना विद्यालयमा छनोट भई अनुदान प्राप्त गर्दै आएको छ। कक्षा ११ र १२ मा पनि पटकपटक नेपालमै उत्कृष्ट नतिजा हासिल गर्न यो विद्यालय सफल भएको छ।  

विद्यालयका अभिभावक, भूपू विद्यार्थी, शिक्षक तथा शिक्षाविद्हरू पाठकमा भएको समयसापेक्ष योजना निर्माण र कार्यान्वयन गर्ने क्षमता, नेतृत्व कौशल र प्रशासनिक गुणले स्कुललाई नयाँ दिशा दिन सफल भएको बताउँछन्। पढाइमा मात्रै होइन, खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि यो विद्यालय अब्बल छ। विद्यालयको अर्को विशेषता भनेको अधिकांश जिल्लाका विद्यार्थी यहाँ भेटिन्छन्। यो विद्यालय अहिले देशका जुनसुकै जिल्ला­–सहरका विद्यार्थीको रो जा स्कुल बन्न सफल भएको छ। यो विद्यालयमा भर्ना पाउन गाउँठाउँबाट मात्रै होइन, सहरबजारका साभ्रान्त अभिभावकहरू समेत धाउने गर्छन्।

प्रअ भएको १२ वर्षपछि अर्थात् २०७७ सालमा पाठकले अनिवार्य अवकाश लिँदा कालिका मानव ज्ञान मावि नेपालमै सबैभन्दा धेरै विद्यार्थी संख्या भएको, नमुना र उत्कृष्ट विद्यालयका रूपमा परिचय स्थापित भएको छ। उनी शिक्षक भएर आउँदा पाँच सय विद्यार्थी संख्या रहेको स्कुलमा उनी निस्कँदा विद्यार्थी संख्या सात हजार आठ ५० थिए। अहिले यस विद्यालयमा आठ हजार विद्यार्थी अध्ययनरत छन्। विद्यालय सुधारका कार्यक्रम मात्रै होइन, उनले टुहुराहरूलाई एक सय क्षमताको छात्रवास निर्माण गरेका छन्। यहाँ टुहुरालाई १२ कक्षासम्म निःशुल्क शिक्षा दिइन्छ।

राजनीतिबाट शिक्षालाई टाढा राख्न सके सामुदायिक विद्यालय र क्याम्पसलाई देशका उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्न सकिन्छ। ‘विद्यालय भनेको नितान्त विद्यार्थीको भाग्य र भविष्य निर्माण गर्ने थलो हो। निर्णायकहरूले यति बुझे पुग्छ,’ उनी भन्छन्।

पाठकले कालिका स्कुललाई मात्र अब्बल बनाएनन्, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको उच्च शिक्षाका लागि उत्कृष्ट सामुदायिक क्याम्पस खोल्ने अठोटका साथ २०७० सालमा कालिका स्कुलकै भवनमा कालिका क्याम्पसको स्थापना गरे। अहिले उनी कालिका क्याम्पसका प्रमुख छन्। बुटवल कालिका क्याम्पसलाई पनि देशकै उत्कृष्ट सामुदायिक क्याम्पस बनाउने उनको सपनाले अहिले साकार रूप लिँदै छ।

हाल कालिका क्याम्पसमा तीन हजार आठ सय विद्यार्थी अध्ययनरत छन्। शिक्षक कर्मचारीको संख्या ८९ छ। क्याम्पसको भौतिक पूर्वाधार विद्यार्थी र शिक्षकमैत्री बनाइएको छ। क्याम्पसमा एक हजार जना अट्ने सभाहल छ। दुई सय जना क्षमताको सेमिनार हल छ। बैठक कक्ष, युग सुहाउँदो प्रविधि छ र अध्ययन गर्न पर्याप्त पूर्वाधार पनि छ। यहाँ आइटी क्लब छ। आइटी पढेका विद्यार्थीहरूले कम्प्युटर नपढ्ने विद्यार्थीलाई कम्प्युटर सिकाउँछन्। शिक्षा सेवा आयोगका तयारी कक्षा पनि क्याम्पसमै सञ्चालन हुन्छ।

कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीहरूका लागि क्याम्पसले डिजिटल प्रविधिमार्फत भिडियो अनलाइन कक्षा सञ्चालन गरिरहेको छ। जसका लागि कलेजमै अत्यावश्यक प्रविधि सहितको स्टुडियो सञ्चालनमा ल्याइएको छ। ‘हामीले बुटवलमा क्याम्पस कम भए अर्को नयाँ क्याम्पस खोलौं भनेर चलाएको होइन। नयाँ र फरक ढंगले क्याम्पस अगाडि बढाउनुपर्छ भनेर काम गरेका हौं,’ पाठक भन्छन्, ‘क्याम्पसको यो सफलताका लागि उत्कृष्ट व्यवस्थापन, उत्कृष्ट शिक्षण पद्धति, उत्कृष्ट परिणाम, भौतिक तथा शैक्षिक पूर्वाधार सबैले काम गरेका छ।’ उनी आफैं मात्र यो सफलताको श्रेय लिन चाहँदैनन्। ‘अहिलेसम्म अध्ययन गर्दा सिकेका सैद्धान्तिक पक्षलाई व्यवहारमा उतार्न सकेकै कारण उत्कृष्ट बनाउन सफल भइयो भन्ने लाग्छ,’ उनी भन्छन्।

उनको ठहर छ, कुनै पनि संस्थाको नेतृत्वकर्तासँग व्यवस्थापकीय कला, योजना बनाउने क्षमता र नेतृत्वदायी भूमिका भए, संस्था उत्कृष्ट बन्नबाट कसैले रोक्न सक्तैन। रोचक त के भने बुटवल कालिका क्याम्पस देशकै एउटा यस्तो क्याम्पस हो, जहाँ स्ववियुको नाममा चरम राजनीति हुँदैन। अहिलेसम्म क्याम्पसमा चुनाव भएको छैन र कसैले स्ववियु चाहियो भनी माग पनि गरेका छैनन्।

क्याम्पसले विद्यार्थीहरूको निर्णय आवश्यक पर्ने ठाउँमा स्टुडेन्ट क्वालिटी सर्कल बनाएको छ। सो सर्कलका अध्यक्ष क्याम्पसको व्यवस्थापन समितिको पदेन सदस्य हुन्छन्। ती सदस्यले क्याम्पसका विद्यार्थीको समस्याका लागि आवाज उठाउने, निर्णयमा सहभागी हुनेलगायत कार्य गर्ने गर्छ।

यस क्याम्पसमा बिबिएस, बिबिए, बिसिए, बिएसडब्लु, बिएड तथा एमएका कक्षाहरू सञ्चालित छन्। आगामी वर्षदेखि एमबिएस, बिएससिसी आइटीका कक्षाहरू सञ्चालनको तयारी भइरहेको छ। क्याम्पस हाताभित्र अत्याधुनिक पुस्तकालय निर्माण हुँदै छ। लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको पुस्तकालयको सञ्चालन तथा व्यवस्थापन कालिका क्याम्पसले गर्नेछ। स्थापनाको छोटो समयमै कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यावन प्राप्त गर्दै छ। त्रिभुवन विश्वविद्यालयले तोकेका मापदण्डमध्ये अधिकांशमा क्याम्पसले उत्कृष्ट परिणाम ल्याएको पनि पाठक बताउँछन्।

‘अब कालिकाको लोगोभित्र नर्सरीमा भर्ना भएको विद्यार्थी मास्टर डिग्री गरेर निस्कन सक्ने वतावरण बनेको छ,’ पाठक भन्छन्, ‘यो मेरो सपना थियो। पूरा भएको छ। म विद्यार्थी छँदा मन परेको विषय पढ्न पाइनँ, यहाँबाट उत्पादन भएका विद्यार्थीको अवस्था सायद त्यस्तो हुन्न होला !’ कालिका स्कुल/क्याम्पसको सफलता अन्य सार्वजनिक विद्यालय तथा क्याम्पसका निम्ति उदाहरण बन्न पुगेको छ। यहाँको सिको गर्न देशभरिबाट शिक्षक तथा व्यवस्थापकहरू अध्ययन भ्रमणमा आउने गरेका छन्।

पाठकको बुझाइ छ– राम्रो व्यवस्थापकीय क्षमता भएको व्यक्तिलाई नेतृत्व गर्ने अवसर प्रदान गर्न सके देशका सबै सामुदायिक विद्यालय र क्याम्पसलाइ उत्कृष्ट बनाउन सकिन्छ। अभिभावकहरूले शिक्षक तथा विद्यालयप्रति गर्ने नकारात्मक टिप्पणीप्रति पाठक भन्छन्, ‘शिक्षक र विद्यालयप्रति नकारात्मक टीकाटिप्पणी गर्ने अभिभावकमा पनि खोट देख्छु म। उनीहरूले पनि आफ्नो बानी सुधार्नुपर्ने खाँचो छ।’

घर नै पहिलो विद्यालय भएकाले आफ्ना सन्तानलाई तिमी राम्रा छौ, सक्छौ भनेर हौसला दिने, घरका ससाना काम र निर्णयमा सहभागी गराउने, चाडपर्व रीतिरिवाजबारे जानकारी दिने, शिक्षा र प्रगतिका कुराहरू गर्ने र खुसीको वातावरण तयार गर्न सके त्यसको सकारात्मक प्रभावले बाल विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनी देख्छन्। त्यसतर्फ अभिभावकको चासो नरहने र विद्यालयको मात्र मुख ताक्ने प्रवृत्तिले विद्यार्थीहरू पनि कमजोर भएको उनको टिप्पणी छ।

प्रकाशित: १३ वैशाख २०८२ १२:५६ शनिबार

# Nagarik #NagarikNayak2082