शिक्षा

अनुदानको रकम हत्याउन फर्जी क्याम्पस प्रमुख, वार्षिक ९० लाखसम्म हिनामिना

सिरहाको गोलवजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले अनुदानको रकम हत्याउनैकै लागि फर्जि क्याम्पस प्रमुख खडा गरेको खुलेको छ । क्याम्पसका प्रमुख साहले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्तहुने अनुदानका लागि क्याम्पसका सञ्चालक समिति अध्यक्ष सुर्यमान तामाङको मिलोमतोमा फर्जी क्याम्पस प्रमुख बनाएका हुन् ।

पूर्णकालिन क्याम्पस प्रमुख भएकालाई मात्रै अनुदान दिने बाध्यकारी नियम लागु गरेपछि क्याम्पसका प्रमुख किशोर कुमार साहले अध्यक्ष तामाङसँगको मिलेमतोमा विश्वविद्यालय अनुदान आयोगमा क्याम्पसका अर्का शिक्षक मनोज कुमार साहलाई फर्जी क्याम्पस प्रमुख बनाएको तत्थ वाहिरिएको हो ।

किशोर कुमार साह धनगढीमाई नगरपालिका ११ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका स्थायी मावि शिक्षक हुन्। पूर्णकालिन क्याम्पस प्रमुख नरहेकै कारण केही वर्षदेखि विश्वविद्यालय अनुदान आयोग सानोठिमी, भक्तपुरले अनुदान रकम घटाउँदै आएको थियो। यो पटक पूर्णकालिन प्रमुख नभएर कट्टा गर्ने भएपछि अर्का शिक्षकको नाम पठाएको एक शिक्षकले दाबी गरे ।

उनका अनुसार समितिका कुनै सदस्यलाई जानकारी नै नदिई किशोर साहले ‘क्याम्पस सञ्चालक समितिको निर्णय अनुसार २०८१ कात्तिक २४ गतेदेखि नै लागुहुने गरि ्चारवर्षका लागि पूर्णकालिन क्याम्पस प्रमुखको जिम्मेवारी मनोज कुमार साहलाई दिइएको’ पत्र विश्वविद्यालय अनुदान आयोगलाई पठाएका थिए । आयोगले भने उक्त पत्र २०८१ चैत १२ गतेमात्र प्राप्त भएको जानकारी गराएको थियो ।

अनुदान आयोगका वरिष्ठ सहायक शिवचन्द पटेलले क्याम्पसको लेटरहेडमा नयाँ क्याम्पस प्रमुख नियुक्ति गरिएको पत्र आएको बताउँदै निर्णयहरु भने आउन बाँकी रहेको जाकनारी दिए ।

तर, क्याम्पस प्रमुख बनाइएका मनोज साह भने बेखबर छन्। उनी भन्छन्, ‘यो विषयमा मलाइ केही जानकारी छैन्। कसैले औपचारिक अनौपचारिक कुनैपनि रुपमा मैले जानकारी पाएको छैन्। क्याम्पस प्रमुख अहिले पनि किशोर साह नै हुन्।’

अहिलेको क्याम्पस प्रमुख को हो ? क्याम्पस प्रमुख फेरिएको छ कि छैन ? भन्ने प्रश्नमा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष सूर्यमान तामाङले भने, ‘अहिलेको क्याम्पस प्रमुख किशोर साह नै हुनुहुन्छ। हामीले अहिलेसम्म उहाँलाई जिम्मा दिएका छौं।’

फर्जी कागजबारे अध्यक्ष तामाङले भने, ‘क्याम्पस चिफ किशोर कुमार साहले प्राविधिक कुरो मिलाउनु छ। अनुदान आयोगमा नामकै लागि पठाउनु छ। यो तपाइले नै हस्ताक्षर गरेर पठाउनु पर्न हुन्छ भन्नु भयो। क्यम्पसकै हितको लागि हो भनेपछि मैले सहि गरिदिएको हुँ।’ अध्यक्ष तामाङले कानुनी रुपमा नमिल्ने भएपनि क्याम्पसको हित र व्यवहारिक रुपमा मिलाउन प्रमुख साहले आग्रह गरेपछि हस्ताक्षर गरेको दाबी गरे ।

क्याम्पस प्रमुख किशोर कुमार साहले रुखो जवाफ दिँदै क्याम्पसभित्र भएका सबै कुराबारे जानकारी दिन आवश्यक नभएको प्रतिक्रिया दिए । उनलाई कारणबारे प्रश्न गर्दा भने,  ‘म अहिले एउटा कार्यक्रममा छु। तपाईंसँग पछि कुरा गरौंला ।’ सोपछि भने उनी फोन सम्पर्कमा आउन चाहेनन् ।

सञ्चालक समितिका सदस्य चन्दर यादबले क्याम्पस प्रमुख परिवर्तन गर्ने विषयमा आफूलाई जानकारी नभएको बताउँदै पछिल्ला कुनै बैठकमा यसबारे छलफल नभएको जानकारी दिए । उनले थपे, ‘यदि क्याम्पस चिफ फेरिएको हो भने यो फर्जी गरिएको छ। हामीलाई केही जानकारी नै छैन।’

सञ्चालक समितिका अर्का सदस्य मधेश प्रदेश सभासदस्य मनोज कुमार सिंह र गोलबजारका नगर प्रमुख श्याम श्रेष्ठले क्याम्पस प्रमुख फेरिएको बारे थाहा नभएको जानकारी दिँदै बुझेर खबर गर्ने बताएका थिए । तर पछि उनीहरु पनि सम्पर्कमा आउन चाहोनन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पनि प्रमुख किशोर साहनै रहेको बताउँदै केही दिनदेखि भने क्याम्पसमा नदेखेको बताए ।

क्याम्पसले विभिन्न शिर्षकमा विद्यार्थीसँग लिने रकमको सीमा निर्धारण गर्ने गरेपनि प्रमुख साहले विभिन्न शीर्षकमा बढी रकम असुल्ने गरेको आरोप छ । चालु शैक्षिक वर्षपनि प्रति विद्यार्थी विभिन्न शीर्षकमा वार्षिक २० हजार रुपैयाँ लिने निर्णय क्याम्पसले गरेपनि सो भन्दाबढी रकम बुझाउने गरेको विद्याथीहरु बताउँछन् । उक्त क्याम्पसमा करिब १४ सय विद्यार्थी अध्ययनरत छन् । बढी रकम असुली र विद्यार्थी संख्या हेर्दा रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसमा वार्षिक ९० लाख रुपैयाँसम्म अनियमितता हुने गरेको पाइएको छ ।

प्रकाशित: ११ वैशाख २०८२ १४:४९ बिहीबार

#Kishor Kumar Saha #Janata Bahumukhi Campus