शिक्षा

निजी विद्यालयको पाठ्यपुस्तक धन्दा: शङ्कास्पद शैलीमा स्थानीय तहको हस्तक्षेप

सिरहाका पालिकाहरूले पब्लिकेशन नै तोकेर संस्थागत(निजी) विद्यालयहरूमा पाठ्यपुस्तक लागु गर्न परिपत्र गरेका छन्। शिक्षा नियमावलीमा भएको व्यवस्था विपरीत पालिकाहरूले गरेको यस परिपत्रले पब्लिकेशन्ससँग पालिकाको सन्देह पूर्व संलग्नता आशङ्का गरिएको छ । 

सिरहा नगरपालिकाको शिक्षा शाखाले गत चैत २० मा पाठ्य पुस्तकमा एकरूपता अनिवार्य लागू गर्ने सम्बन्धी सूचना जारी गरेको थियो। जसमा नगरमा सञ्चालित निजी विद्यालयहरूले नगरपालिकाले तोकेकै पब्लिकेशनको किताब अनिवार्य रूपमा प्रयोगमा ल्याउनुपर्ने उल्लेख छ । 

नगरपालिकाले जारी गरेको सूचनामा विद्यालयहरूमा लागू हुने पब्लिकेशनको नाम नै तोकिदिएको छ । कक्षा एकदेखि सातसम्मको नेपाली किताब तक्षशिला पब्लिकेशनको, कक्षा आठदेखि दशसम्मको नेपाली किताब जनक शिक्षा सामग्री केन्द्रको अनिवार्य प्रयोग गर्न नगरपालिकाले विद्यालयहरूको नाममा निर्देशन जारी गरेको छ ।

सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको हस्ताक्षरमा जारी गरिएको पत्रमा पब्लिकेशनको नाम मात्रै तोकी दिएको छैन, यो निर्णय नगर शिक्षा समितिबाट भएकोले अवज्ञा गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । 

यसै गरी, कक्षा एकदेखि सातसम्मको अंग्रेजी किताब टाइम्स पब्लिकेशनको, कक्षा आठदेखि दशसम्मको अंग्रेजी किताब जनक शिक्षा सामग्री केन्द्रको मात्रै प्रयोग गर्न निर्देशन गरिएको छ । 

अनिवार्य गणित किताब भने कक्षा एकदेखि दशसम्म वेदन्ताको प्रयोग गर्नुपर्ने जारी निर्देशन पत्रमा उल्लेख छ । यस्तै, कक्षा एकदेखि दशसम्मको विज्ञान तथा प्रविधि किताब विद्यार्थी पब्लिकेशन र कक्षा एकदेखि दशसम्मको सामाजिक अध्ययन किताब रिडमोरको प्रयोग गर्न नगरपालिकाले जारी गरेको पत्रमा उल्लेख छ । 

सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको हस्ताक्षरमा जारी गरिएको पत्रमा पब्लिकेशनको नाम मात्रै तोकी दिएको छैन, यो निर्णय नगर शिक्षा समितिबाट भएकोले अवज्ञा गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । 

मिर्चैया नगरपालिकाले त गत शैक्षिक सत्रमै नै पाठ्य पुस्तकमा एकरूपताका नाममा यसै गरी पब्लिकेशन तोकेरै किताब लागू गरिसकेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख भरत बानियाँका अनुसार, मिर्चैया नगरभित्रका निजी विद्यालयहरूमा वेदन्ता, अस्मिता, ओसिस, एकता, रिडमोर, विद्यार्थी र ब्रिलेन्ट प्रकाशनको किताब लागू गरिएको छ । 

तर, स्थानीय तहहरुले यसरी पब्लिकेशन तोकेरै किताब लागू गर्न कानुनी रूपमा मिल्दैन । 

‘पाठ्यक्रम विकास केन्द्रमा सूचिकृत रहेका कुनै पनि पब्लिकेशनका किताब निजी विद्यालयहरूले प्रयोग गर्न पाउँछन्’, शिक्षा विकास तथा समन्वय इकाई, सिरहाका प्रमुख दीपकराज कलौनी भन्छन्, ‘व्यवहारिक कुरा म भन्दिनँ, तर कानुनी हिसाबले यो मिल्दैन, कुन पब्लिकेसनको किताब प्रयोग गर्ने त्यसका पाठ्यक्रम विकास केन्द्रले सूचिबद्ध गरेका मध्येबाट प्रयोग गर्न निजी विद्यालयहरू स्वतन्त्र छन्।’ 

यसमा कुनै पनि निकाय, संस्था वा व्यक्तिले यो पब्लिकेशन वा त्यो पब्लिकेशनको किताब लगाऊ भनेर भन्छ भने त्यो कानुन विपरीतको कार्य रहेको कलौनीले नागरिकसँग बताए। 

‘पब्लिकेशनका मान्छेहरू पालिकामै चहारिरहन्छन्, २०–२५ प्रतिशतसम्म कमिसन दिन्छु भन्छन्,’ नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, ‘कानुनले यो मिल्दैन, हामी गरेका छैनौँ ।’ 

प्याब्सनका सिरहा जिल्ला अध्यक्ष उमेश चौधरीले पाठ्य पुस्तकमा एकरूपताका नाममा स्थानीय तहहरूले पब्लिकेशनसँग कमिसनको डिल गरेर सिन्डिकेट लाद्न खोजेको आरोप लगाए । ‘सिन्डिकेट लाद्न खोजिएको छ, यो मान्य छैन,’ उनले भने ‘पब्लिकेशन तोकेरै यो किताब लगाऊ भन्नु उर्दी जारी गर्नु सरह हो, हामी कानुनी उपचार खोज्छौँ ।’ 

स्थानीय तहले पब्लिकेशन नै किटान गर्नुको पछाडिको कारण कमिसन नै रहेको सिरहाकै एक पालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि दाबी गर्छन् । ‘पब्लिकेशनका मान्छेहरू पालिकामै चहारिरहन्छन्, २०–२५ प्रतिशतसम्म कमिसन दिन्छु भन्छन्,’ नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, ‘कानुनले यो मिल्दैन, हामी गरेका छैनौँ ।’ 

तर, सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले भने ‘पालिकाको यो कदम विद्यार्थी र अभिभावककै हितमा रहेको दाबी गर्छन् । आफूहरूले यसका लागि पब्लिकेशनसँग कमिसनमा डिल गरेको कुरा भने गलत रहेको दाबी उनको छ । 

‘पब्लिकेशनसँग कमिसनमा डिल गरेको कुरा असत्य हो, हामी कहाँ कुनै पनि पब्लिकेशनका मान्छे पनि आएका छैनन्,’ उनले भने, ‘हामीले यो काम विद्यार्थी र अभिभावककै हितमा गरेका छौैं ।’

प्रकाशित: ६ वैशाख २०८२ १८:३८ शनिबार

#Boarding School #School Textbook