शिक्षा

प्रविधिमैत्री बन्दै कामपाका विद्यालय

काठमाडौं महानगरपालिकाले शैक्षिक गुणस्तरका लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ।

कामपा–२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ। वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई वोर्ड हस्तान्तरण गरेका छन्। प्रदान गरिएका बोर्डहरू ६५ इञ्चका छन्। वडाले सार्वजनिक खरिद प्रक्रियाबाट  ४३ लाख ५९ हजार ५४० रूपैयाँ मूल्यमा सामान प्राप्त गरेको हो।

बोर्ड हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भने, “पूर्वाधार, सामान तथा उपकरण र प्रविधि प्राप्त गर्नु भनेको गुणस्तरीय कार्यक्रमका जग हो सही उपयोग भएन भने नतिजा आउँदैन। यसकारण शिक्षकहरूले पनि आफूलाई समयसापेक्ष रूपान्तरण गर्दै प्रविधिमा आधारित कक्षा सञ्चालनमा दक्ष बनाउनुपर्छ। तालिम आवश्यक परे भन्नुपयाे त्यसका लागि कामपा उपलब्ध गराउन तयार छ।”

उनले विद्यालयका लागि करिब ४० लाख रूपैयाँ लागत बराबरको कम्प्युटर ल्याब बनाउने योजना सार्वजनिक खरिद प्रक्रियामा रहेको समेत जानकारी दिँदै सबै प्रक्रिया पूरा भएपछि जडान हुने बताए। वडाबाट गरिएको  लगानीले विद्यालयलाई कामपाकै नमूना विद्यालयका रूपमा विकास गर्नका लागि हो। वडाध्यक्ष तिवारीले अपेक्षा राखे।

शैक्षिक गुणस्तर विकासका लागि आउँदो १० वर्षपछिको समय पूर्वानुमान गरेर अहिलेदेखि नै कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले धारणा थियो। वडाका सचिव केदार रिमालका अनुसार स्थानीय परिवेशलाई विश्वको अवस्थासँग दाँजेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कामपाका  कार्यक्रममा वडाले आफ्नो लगानी जोडेको बताए।

त्यस्तै कामपाले केही दिन अघिमात्रै सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरू गरेको थियो। कामपाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको थियो।

कामपाको गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड रूपैयाँ विनियोजित रहेको कामपाको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताए। 

प्रकाशित: ६ वैशाख २०८२ १०:३१ शनिबार

# Nagarik # Poem