शिक्षा

६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म ६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ। केन्द्रले नयाँ शैक्षिक सत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत उक्त सङ्ख्यामा पाठ्यपुस्तक बिक्री गरेको हो।

हालसम्म पुस्तक बिक्रीबाट रु आठ करोड ३१ लाख आम्दानी भएको जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए।

उनले भने, 'हामीले यही चैत १७ गतेदेखि पहाडी जिल्लामा पाठ्यपुस्तक बिक्री सुरु गरेका थियौँ। पहाडी जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र अछाममा पाठ्यपुस्तक गइसकेको छ। डोटी र डडेल्धुरामा बाँकी रहेको पाठ्यपुस्तक गइरहेको छ। शैक्षिकसत्र अगावै सबै जिल्लामा पुस्तक पुग्छ।'

कञ्चनपुरमा चैत २६ गतेदेखि र कैलालीमा चैत २८ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु गरिने उनले जानकारी दिए। उनले भने, 'पाठ्यपुस्तक पर्याप्त छ। समयमा प्रदेशभरिका सबै जिल्लामा पुर्याउने छौँ।'

कार्यालय प्रमुख श्रेष्ठका अनुसार प्रदेशभरि आगामी शैक्षिक सत्र २०८२ का लागि १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखिएको छ। उनले हाल कक्षा ३ देखि १० सम्मका पाठ्यपुस्तक बिक्री भइरहेको बताउँदै कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि फाट्टफुट्ट बिक्री भइरहेको जानकारी दिए।

प्रदेशमा आगामी शैक्षिक सत्रमा रु २५ करोड बराबरको पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। चालु शैक्षिक सत्रमा रु २२ करोड ५७ लाख बराबरका पाठ्यपुस्तक बिक्री गरिएको केन्द्रले जनाएको छ। रासस

प्रकाशित: २६ चैत्र २०८१ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App