शिक्षा

उत्तरपुस्तिका गायब प्रकरण: दोषीलाई कारबाही नगरेको भन्दै अखिल समाजवादीको प्रदर्शन

अखिल समाजवादी विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र कार्यालयलाई घेराउ गरेका छन्।

उनीहरुले परीक्षाका उत्तर पुस्तिका हराउने घटनामा संलग्न परीक्षा नियन्त्रक र सह नियन्त्रकलगायत गैर जिम्मेवार कर्मचारीहरूलाई अझैसम्म कारबाही नगरेको भन्दै त्रिविका पदाधिकारी र कार्यालय घेराउ गरेका हुन्।

यसअघि त्रिविका पूर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणी पौडेलको नेतृत्वमा गठित छानबिन समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीलगायतलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो।

तर, त्रिविका पदाधिकारीहरूले दुई महिना बितिसक्दा पनि कुनै कारबाही नगरेकाले आन्दोलनको बाटो अपनाउनु परेको संगठनका अध्यक्ष नरेन्द्र सीले बताए।

अध्यक्ष नरेन्द्र सीले त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल, रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल र शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी लगायतका पदाधिकारीहरू दोषीलाई बचाउने प्रयासमा लागेकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको जनाए।

समितिले प्रतिवेदन बुझाएको दुई महिना भइसक्दा पनि कारबाहीको कुनै अत्तोपत्तो नभएको भन्दै उनीहरुले विरोध जनाएका हुन्।

प्रकाशित: ९ श्रावण २०८१ २०:३० बुधबार