शिक्षा

विद्यालयको विजोगः कक्षामै निथ्रुक्क विद्यार्थी

लमजुङको बेसीशहर नगरपालिका-१ सानो घिमिरेस्थित बाल विकास प्राथमिक विद्यालयको छानो चुहिने समस्याले विद्यार्थीहरूको पठनपाठनमा गम्भीर प्रभाव परेको छ।

विगत केही वर्षदेखि जीर्ण भवन र चुहिने छानोको कारण विद्यार्थीहरूलाई पढ्न कठिन भएको हाे। बर्खा याम सुरु भएपछि समस्या झन् गम्भीर बनेको छ, र पानी परेको बेला विद्यार्थीहरूलाई अफिस कोठामा राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक सीमा लोहनीका अनुसार पुरानो भवन जीर्ण र पानी चुहिने भएको र नयाँ भवनमा पनि पानी छिर्ने समस्याले पठनपाठन प्रभावित भइरहेको छ।

विसं २०४८ मा स्थापना भएको विद्यालयमा चारकोठे पुरानो भवन र २०७४ सालमा निर्माण गरिएको दुई कोठे नयाँ भवन रहेको छ। पुरानो भवनको गाह्रो चिराचिरा परेर खस्ने अवस्थामा पुगेको छ।

प्रधानाध्यापक लोहनीले बताए अनुसार, पुरानो भवनमा जस्तापाताको छाना रहेको र काठ कुहिन थालेको छ। नयाँ भवनमा छाना मिलाएर नहालेको कारणले पनि पानी परेको बेला कक्षाकोठाभित्रै पानी छिर्ने समस्या छ।

‘पानी परेपछि सबै विद्यार्थीलाई दुई कोठे नयाँ भवनमा रहेको शिक्षकको कार्यालयमै राख्छौं। नयाँ भवनका कोठामा पनि पानी छिर्छ, तर अन्य कोठाको तुलनामा कम छिर्छ। शिक्षक/विद्यार्थी एकै ठाउँमा बस्नुपरेको छ,’ उनले भने।

पुरानो भवनको निर्माण र नयाँ भवनको छाना फेर्नका लागि वडा कार्यालय, पालिकाको शिक्षा शाखा र प्रदेश सरकारसँग केही वर्षअघिदेखि नै माग गरे पनि हालसम्म सुनुवाइ नभएको गुनासो प्रधानाध्यापक लोहनीले गरे। यस समस्याको कारण विगत तीन वर्षदेखि विद्यार्थीहरूले पठनपाठनमा समस्या भोग्दै आएका छन्।

विद्यालयमा गत वर्ष २२ जना विद्यार्थी रहे पनि यस वर्ष १५ मात्र विद्यार्थी रहेका छन्। नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा पानी परेको बेला विद्यार्थीहरूले कापीकलम झोलामा राखेर ओत खोज्न जानुपर्ने बाध्यता छ। ठूला पानी परेको बेला विद्यार्थीहरू भिज्नबाट बच्न नसकिरहेको गुनासो पनि आएको छ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव किसानराज चिलुवालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत बजेट माग गरे पनि बजेट नआएको कारण सहयोग गर्न नसकिएको बताए। विद्यालय मर्मत तथा निर्माणका लागि शिक्षा शाखासँग बजेट नहुने पनि उनले जानकारी दिए।

वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले विद्यालयमा पानी चुहिने र जीर्ण भवनमा पठनपाठन गर्न जोखिम भए पनि तत्कालका लागि आर्थिक अभावले समस्या समाधान गर्न नसकिने बताए। विद्यालयको समस्याबारे केही दिनअघि मात्र जानकारी प्राप्त भएको र आर्थिक वर्षको अन्तिम समय भएकाले तत्काल बजेट उपलब्ध नगराउन सकिएको उनको भनाइ छ।

उक्त खबर पाउनासाथ वडाबाट प्राविधिक पठाएर हाललाई नयाँ भवनको एक कोठाका लागि छानो छाउन लागत अनुमान तयार गरेर काम अघि बढ्ने योजना रहेको वडाध्यक्ष बुढाथोकीले बताए।

उनले पुरानो जीर्ण भवन भने तत्काल मर्मत गर्न नसकिने र आगामी दिनमा विद्यालय भत्काएर कसरी अघि बढ्ने भनेर छलफल गर्ने योजना रहेको जानकारी दिए।

प्रकाशित: २६ जेष्ठ २०८१ १४:३८ शनिबार

Dilapidated School Benisahar Municipality