वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्। देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थी भरिभराउ छन्।
विद्यार्थी नभएका अन्यत्रका सरकारी विद्यालयको तुलनामा यहाँ ठीक उल्टो छ। शिक्षाको महत्त्व बुझेका र हुनेखाने वर्गका अभिभावकले समेत आफ्ना छोराछोरी यही विद्यालयमा पढाएका छन्। प्रायः सबै शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीकारीहरूको बालबालिका यही विद्यालयमा पढछन्।
विद्यालयले गुणस्तरीय शिक्षाका लागि दश वर्षदेखि गरेको निरन्तर मेहेनतको प्रतिफल हो यो। यही मेहतनले २०७५ साल यता विद्यालयले राम्रो नतीजा ल्याएको छ। पठनपाठन नियमित गर्ने नभई कमजोर विद्यार्थीका लागि वर्षैभरि अतिरिक्त कक्षा चलाइएको छ। साना कक्षाहरूमा दुई जना शिक्षक खटाएर विशेष कक्षा सञ्चालन गरिएको छ।
त्यति मात्र नभई अधिकांश सामुदायिक विद्यालयमा देखिने सरसफाइ र अव्यवस्थाको समस्या यस विद्यालयमा छैन। अभिभावकको चाहना अनुरूप क्रमशः अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गरेपछि स्थानीयले बिस्तारै आफ्ना छोराछोरी पढाउन मात्र थालेनन्, भौतिक संरचनाको विकासमा समेत सहयोग गर्न थाले। स्थानीय समुदायकै सहयोगमा विद्यालयले जग्गा किन्यो र त्यसलाई घेराबारा लगाइयो।
प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठका अनुसार एउटा कक्षामा सरदर ३५ जना राखेर पठनपाठन गराइन्छ। सबै कक्षामा विद्यार्थी भरिएका छन्। कक्षा ९ र १० मा एकएक ‘सेक्सन’ थप्नुपरेको छ।
“एक शैक्षिक सत्रमा जम्मा ७५ जना नयाँ भर्ना लिन सकिने अवस्था थियो तर आवेदन दुई सय ५० जनाको पर्यो। कक्षाकोठामा धेरै हुने भएकाले एक सय विद्यार्थीलाई भर्ना लिइयो, बाँकीलाई भर्ना गर्न सकिएन”, प्रधानाध्यापक श्रेष्ठले भने।
भर्ना हुन चाहने सबै विद्यार्थीलाई विद्यालयमा कक्षाकोठा पुग्दैन। अहिलेको चार भवनमा ३२ कक्षाकोठा छन् जसमध्ये २५ कोठामा कक्षा सञ्चालन गरिएको छ। नयाँ भवन बनाउने साधनस्रोत तत्काल जुटेको छैन। विद्यालयले खरिद गरेको एक रोपनी पाँच आना क्षेत्रफलमा संरचना बनिसकेको छ। त्यसबाहेकका थप जमिन विद्यालयसँग छैन। विद्यालयसँगै जोडिएको १५ रोपनी पर्ती जमिनलाई खेलमैदानका रूपमा प्रयोग गरिएको छ तर त्यहाँ विद्यालयले स्थायी संरचना बनाउन पाउँदैन।
विद्यालयको समस्याबारे दक्षिणकाली नगरपालिका जानकार छ। त्यसप्रति नगरपालिका सकारात्मक रहेको र स्रोतसाधन छिट्टै उपलब्ध हुने अपेक्षा गरिएको प्रधानाध्यापक श्रेष्ठले बताए।
शिक्षाको गुणस्तरकै कारण विद्यार्थीको आकर्षण धेरै भए पनि विद्यालयले थप भर्ना गर्न नसक्ने जानकारीसहितको पत्र नगरपालिकालाई पठाएको छ।
प्रकाशित: ४ जेष्ठ २०८१ १२:२५ शुक्रबार