शिक्षा

पाठ्यपुस्तक छपाइमा ‘जनक अब्बल’, निजी क्षेत्र खुम्चिए

निजीले कक्षा १–४ र जनकले कक्षा ५–१२ सम्म पुस्तक छाप्ने

विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्न सरकारी स्वामीत्वमा रहेको जनकशिक्षा सामाग्री केन्द्र सक्षम भएको भन्दै सरकारले पाठ्यपुस्तक छपाइमा निजी प्रकाशन गृहहरुको अधिकार कटौती गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिव सापकोटाका अनुसार अगामी शैक्षिक सत्रकोलागि पाठ्यपुस्तक छपाइमा निजीको अधिकार कटौती गरि जनकको अधिकारमा बढोत्तरी गरिएको छ।

मन्त्रालयले बुधबार गरेको मन्त्रीस्तरीय निर्णयले विद्यालय तहको शैक्षिक सत्र ०८१ को लागि कक्षा १–४ सम्मको पुस्तक छपाइको अधिकार निजी प्रकाशन गृहहरूलाई दिने र कक्षा ५ देखि १२ सम्मको छपाइको अधिकार जनकशिक्षा सामाग्रीलाई दिने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए।

नयाँ शैक्षिक सत्रदेखि निजी प्रकाशन गृहको हकमा कक्षा ५ को पुस्तक छपाइको अधिकार कटौती भएको हो। गत वर्षसम्म निजी प्रकाशन गृहहरुले कक्षा १–५ सम्मको र जनकले कक्षा ६–१२ सम्मको पुस्तक छाप्दै आएको थियो।

‘अहिलेको अवस्थामा हाम्रो सरकारी स्वामीत्वको जनक शिक्षा सबल भएको छ। पुस्तक छपाइको क्षमतामा जनकले वृद्धि गरेको छ,’ प्रवक्ता सापकोटाले मन्त्रालयको निर्णय सुनाउँदै भने  ‘यस पटक मन्त्रालयले जनको क्षमता, निजीको सहकार्यको अनुभव र समय सीमा भित्र पाठ्यपुस्तक पुर्‍याउने गरेको आधारलाई मापदण्ड मानेर निजीको अधिकार कटौती गर्दै जनकको पुस्तक छपाइको अधिकार  बढाइएको हो।’ उनले थपे ‘निजी प्रकाशन गृहहरुले सातै प्रदेशका विद्यालयकोलागि पाठ्यपुस्तक छपाइको अधिकार पाएका हुन्।’

प्रकाशित: १९ पुस २०८० ०९:४४ बिहीबार