शिक्षा

शिक्षाबाट अझै पनि टाढा छन् डोम समुदायका बालबालिका

फाइल तस्बिर

डोम समुदायका बालबालिका शिक्षाबाट अझै पनि टाढा रहेको पाइएको छ। रौतहटको माधव नारायण नगरपालिका २ खेसरहियाका डोम समुदायका बालबालिका अझै पनि विद्यालय गइरहेका छैनन्।

खेसरहियामा रहेको डोम समुदायका २५ बालबालिका अझै पनि विद्यालय जानबाट वञ्चित रहेको डोम समुदायका अगुवा विजय मल्लीले जानकारी गराएका छन्। डोम समुदायबाट शिक्षा प्राप्त गरी सरकारी सेवामा प्रवेश गरेका विजय मल्लीले डोम बालबालिकालाई विद्यालय पठाउन जनचेतनाको खाँचो रहेको औँल्याएका छन्।

मल्ली सक्रिय रहेको डोम समुदाय विकास केन्द्र रौतहटले खेसरहियामा चेतनामुलक कार्यक्रम गरेको छ। केन्द्रका अध्यक्ष विजय मल्लीको अगुवाईमा डोम समुदायका बालबालिका तथा किशोर किशोरीलाई शिक्षा तथा सरसफाइ सम्बन्धि जनचेतना अभियानमा सहभागी गराइएको छ।

डोम समुदायमा शिक्षा र सरसफाइको आवश्यकता रहेकोबारे रुपमा तुलसी बैठा र डोम समुदायका अगुवा वीरेन्द्र मल्लीले सहजीकरण गरेका छन्।

गरिबी, अभाव र बेरोजगारीका साथै सुकुमबासी समस्याले डोम समुदाय ग्रसित छ। गाउँको छेउछाउ, सडकको छेउ तथा ऐलानी जमिनमा बस्ने अधिकांश डोम समुदायमा अशिक्षा र अन्धविश्वास रहेको छ। खेसरहियाका डोम समुदाय पनि निजी जमिनको अभावमा पोखरी किनारमा बस्दै आएका छन्।

विजय मल्ली, वीरेन्द्र मल्ली लगायत डोम समुदायका केही अगुवाहरुले डोम बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा जनचेतना जगाउने अभियानमा जुटेका छन्।

गत हप्ता गढीमाई नगरपालिका २ हथिऔलमा पनि सरसफाइ तथा शिक्षासम्बन्धी जनचेतना कार्यक्रमको संचालन गरिएको थियो।  

प्रकाशित: १० फाल्गुन २०७९ १२:१३ बुधबार

बालबालिका डोम समुदाय