शिक्षा

गोरखा क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन गरेको खुसीयालीमा मनायो उत्सव

गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरेको अवसरमा क्याम्पसले आयोजना गरेको उत्सवमा सहभागीहरु।

गोरखाको एक मात्र आङ्गिक क्याम्पस गोरखा क्याम्पस गोरखाले गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरेको खुसीयालमा शुक्रवार उत्सव मनाएको छ। गोरखा सदरमुकामको हरमटारी देखि पञ्जेबाजा सहित र्‍यालीको आयोजना गरिएको थियो। र्‍यालीमा प्राध्यापक, कर्मचारी, विद्यार्थी, सामाजसेवी लगायत छमछमी नाचेका थिए।

२०३५ सालमा स्थापना भएको गोरखा क्याम्पसले २०७४ जेठ ३ गते आशयपत्र स्वीकृत गरेर विश्वविद्यालय अनुदान आयोगमा गुणस्तर सुनिश्चितता प्रत्यायनको प्रक्रिया थालेको थियो। २०७९ कात्तिक ३० गते क्याम्पसलाई आयोगले गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाण पत्र प्रदान गरेको क्याम्पस प्रमुख रामशरण बानियाँले बताए।

एक हजार ५६ जना विद्यार्थी अध्ययनरत उक्त क्यापस गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गर्न सफल त्रिभुव विश्वविद्यालय अन्तरगतको ६१ वटा क्याम्पस मध्ये पाँचौँ हो। यसले क्याम्पसको शैक्षिक, भौतिक स्तवृद्धीसँगै विद्यार्थीहरुको क्षमता बिकासमापनि मद्धत पुग्ने उनले बताए।

गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त भईसकेपछि क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले उर्तिण विद्यार्थी संख्याका आधारमा आर्थिक सहयोग उपलब्ध गराउने गर्छ। उर्तिण प्रति विद्यार्थी ३५ हजार रुपैयाँ सहयोग उपलब्ध हुने स्वअध्ययन समिति संयोजक सञ्जय अधिकारीले बताए।

क्याम्पसले शुक्रवार पत्रकार सम्मेलन गरि गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गर्न पुरा गरेको प्रक्रिया, यसबाट हुने फाईदाका बारेमा जानकारी गराएको थियो। ‘हरेक वर्ष हामीले आयोगको मापदण्ड अनुसार स्तर कायम राख्नुपर्छ’ संयोजक अधिकारीले भने ‘पाँच वर्षपछि पुन गुणस्तर सुनिश्चितता प्रत्यायन नबिकरण गर्नुपर्छ, प्रक्रिया पुरा गर्न सकिएन भने त्यो खारेज हुनपनि सक्छ।’ क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन कायम राख्न योजना बनाएर काम गरेको, विभिन्न रणनीति सहित समिति निर्माण गरेको र यसले निरन्तर काम गर्ने उनले बताए।

गोरखा क्याम्पसलाई राष्ट्रिय स्तरको फुटबल मैदान, हल तत्काल आवस्यक रहेको क्याम्पस प्रमुख रामशरण बानियाँले बताए। ‘हामीले पाँच वर्ष भित्र यो तयार गरिसक्नुपर्ने छ’ उनले भने।

शैक्षिक नीति र प्रक्रिया, शिक्षा सिकाई र मूल्याङ्कन, सुचना प्रणाली, विद्यार्थी सहयोग र परामर्श लगायत बिभिन्न आठ वटा क्षेत्र अन्तरगत एक सय २० वटा मापदण्ड पुरा गर्ने उच्च शैक्षिक संस्थालाई आयोगले गुणस्तर सुनिश्चितता प्रत्यायन प्रदान गर्दै आएको छ। क्याम्पसको शैक्षिक प्रमाणपत्र अन्तराष्ट्रिय स्तरमा पनि मान्यता पाउने, शिक्षाको गुणस्तरवृद्धीसँगै विद्यार्थीको गोरखा क्याम्पसप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको क्याम्पस प्रमुख बानियाँले बताए।

गोरखा क्याम्पसमा स्नातोकोत्तर तहमा अंग्रेजी शिक्षा, नेपाली शिक्षा, गणित शिक्षा, पाठ्यक्रम तथा मूल्याङ्कन शिक्षा र जीववित्रानको अध्यापन हुन्छ। स्नातक तहमा शिक्षाशास्त्र र ब्यवस्थापन संकायका बिभिन्न विषयमा पढाई हुँदै आएको छ। क्याम्पसमा २१ जना स्थायी, १२ जना करार, १९ जना आंशिक गरी ५२ जना प्राध्यापकहरु छन्। १५ जना स्थायी, आठ जना करार र सात जना सेवा कारार गरी ३० जना कर्मचारी छन्।

प्रकाशित: ९ मंसिर २०७९ १०:०२ शुक्रबार