शिक्षा

सामुदायिक विद्यालयमा एक हजार ११५ जनाले गरे अक्षरारम्भ

काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सरस्वती पूजाको अवसर पारेर आज १ हजार ११५ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् । 

यसरी अक्षरारम्भ गर्नेहरुमा ५२५ जना छात्रा र ५९० जना छात्र छन् । यो संख्या गएको वर्षभन्दा १४४ जनाले बढी हो । गएको वर्ष यस दिन ९७१ जना बालबालिकाले अक्षरारम्भ गरेका थिए । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये कारागारभित्रका विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छैनन् । बाँकी विद्यालयहरुमा छन् ।  

बालबालिकाहरुको अक्षरारम्भ कार्यक्रम अन्तर्गत ज्ञानोदय माध्यमिक विद्यालयमा सहभागी हुँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, बालमैत्री वातावरणमा उनीहरुको सर्वाङ्गीण विकासको जग बलियो बनाउने कामलाई महानगरपालिकाले प्राथमिकता राखेको बताइन ।  

उनले भनिन्, ‘सामुदायिक विद्यालयहरुबाट प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने नतिजाका लागि नीति, योजना तथा कार्यक्रम तर्जुमा गरिएको, स्रोध साधन र उपकरणमा लगानी बढाइएको, मानव संशाधन विकासमा जोड दिएका छौँ । यसबाट विद्यालयहरुबाट उत्कृष्ट नतिजा प्राप्त हुनेछ ।’

धेरै बालबालिकाले अक्षरारम्भ गरेका विद्यालयमध्ये ज्ञानोदय माध्यमिक विद्यालय वाफलमा ८७ जना, नीलबाराही माध्यमिक विद्यालय, टंकेश्वरमा ५० जना र भानु माध्यमिक विद्यालय, रानीपोखरीमा ४२ जना छन् ।  

प्रारम्भिक बाल विकास कक्षाहरुमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले विद्यार्थी संख्याका आधारमा प्रारम्भिक बाल विकास सहजकर्ता व्यवस्थापन गरेका कारण प्रारम्भिक बाल विकास कक्षामा बालबालिकाको आकर्षण बढेको हो ।  

शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार अक्षरारम्भ गरेका बालबालिका नियमित विद्यालय आउन चाहेमा कक्षा कोठाको प्रबन्ध गरिएको छ । नियमित कक्षाको भर्ना बैशाखमा हुनेछ ।

प्रकाशित: ९ माघ २०८२ २०:५८ शुक्रबार