अफगानिस्तान अहिले मानव इतिहासकै सबैभन्दा गहिरो सामाजिक र आर्थिक संकटसँग जुधिरहेको छ। त्यहाँका अभिभावकहरू आफ्ना सन्तानलाई बेच्न बाध्य भएका समाचार सार्वजनिक भएका छन् । उनीहरूले केवल भोकमरी र गरिबीका कारण आफ्नो परिवारका अन्य सदस्य बचाउन अत्यन्त कठोर निर्णय लिनुपरेको छ । कतिपय सहरमा बिहान नहुँदै कामको खोजीमा सडकमा उभिएका पुरुषहरूले आफ्नो दैनिक जीवनका लागि संघर्ष गरिरहेका छन् । काम पाउने सम्भावना न्यून र ज्याला अत्यन्त कम छ।
उनीहरूले कुनै दिन काम पाउँदा परिवारले खान पाउँछ, अन्यथा भोकै बस्न बाध्य छन् । यस्तो परिस्थितिमा अभिभावकले सन्तान बेच्ने निर्णय लिन्छन्, जुन कुनै पनि मानव समाजमा अस्वीकार्य भए पनि त्यहाँको वास्तविकता बनिसकेको छ।
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार अफगानिस्तानको जनसंख्याको ठुलो हिस्सा आधारभूत आवश्यकताबाट विमुख छ । ४७ लाखभन्दा बढी मानिस भोकमरीको सीमा नजिक छन् । स्वास्थ्य सेवा कमजोर छ, बेरोजगारी व्यापक छ र मानवीय सहायतामा कटौतीले स्थिति झन् जटिल बनाएको छ । अस्पताल र शिशु कक्षमा औषधि र साधनको अभाव, बालमृत्युदरमा उल्लेखनीय वृद्धि र अभिभावकहरूको असहाय अवस्था यहाँको दैनिक जीवन बनेको छ।
अफगान अभिभावकहरूको निर्णय उनीहरूको रोजाइ होइन, यो त्यस देशको सामाजिक संरचना र राजनीतिक अस्थिरताको परिणाम हो । तालिबान सरकारको प्रतिबन्ध र दातृ राष्ट्रहरूको सहयोग कटौतीले समस्या झन् गहिरो बनाएको छ । गरिब परिवारका लागि दैनिक आवश्यकता पूरा गर्नु नै चुनौती बनेको छ । बालबालिका बेचेर शल्यक्रिया वा उपचारको खर्च जुटाउने उदाहरणले देखाउँछ– जतिबेला आधारभूत मानव अधिकार सुनिश्चित हुँदैन, त्यतिबेला मानव जीवन र छनोटको निर्णय परिवारको स्तरमा आउँछ।
नेपाल र अफगानिस्तान हिन्दुकुश हिमालयले जोडिएका सार्क राष्ट्र हुन् । हिमालय क्षेत्रको पश्चिमी किनारामा रहेको अफगानिस्तानको पीडाले नेपाललाई पनि छुन्छ र केही सन्देश पनि दिन्छ । नेपालमा पनि ग्रामीण क्षेत्रका गरिब परिवार, सीमित रोजगारी, बालबालिकाको शिक्षा र पोषणको पहुँच असमान छ । समयमै समावेशी सामाजिक सुरक्षा जाल, गरिबी निवारण कार्यक्रम, बालअधिकार संरक्षण र स्वास्थ्य पहुँच सुनिश्चित गरिएन भने भविष्यमा त्यसप्रकार मानव संकट नेपालमा नआउला भन्न सकिन्न।
यस सन्दर्भमा बालबालिकालाई सुरक्षा, शिक्षा र पोषणको पहुँच एकातिर अत्यन्त महत्त्वपूर्ण छ भने अर्कातिर अभिभावकको आर्थिक सुरक्षा सुनिश्चित गर्नुपर्ने विषयले पनि समान महत्त्व राख्छ । गाउँ–सहरमा रोजगारी सिर्जना, कृषिमा आधुनिक प्रविधिको प्रयोग, साना व्यवसायको प्रोत्साहन, महिला सशक्तीकरण र आपत्कालीन राहत प्रणाली निर्माणले मात्र यस्तो मानव संकटबाट बच्न सकिन्छ।
प्रस्ट छ, अफगानिस्तानको कथा केवल दुःखको होइन, यो चेतावनी, पाठ र प्रेरणाको कथा पनि हो । बालबालिकालाई बेच्न बाध्य पार्ने गरिबी, असमानता र असुरक्षित सामाजिक संरचना कुनै पनि मानव समाजमा स्वीकार्य छैन । नेपालले समयमै नीति निर्माण र कार्यान्वयनमा ध्यान दिए हामी आफ्ना बालबालिकालाई सुरक्षित, शिक्षित र स्वस्थ जीवन सुनिश्चित गर्न सक्छौं । बालबालिकाको मुस्कान हाम्रो राष्ट्रिय प्रतिष्ठा र मानवताको प्रतिपिम्ब हो।
अन्ततः मानव जीवनको मूल्य, बाल अधिकारको संरक्षण र गरिबी निवारण नीतिको महत्त्व हामीले बुझ्नैपर्छ । कलिला बालबालिकालाई बेच्न बाध्य पार्ने सामाजिक–आर्थिक संरचना अस्वीकार्य हुन्छ । त्यो विश्वका कुनै पनि देशमा आउनु भनेको दुर्भाग्यपूर्ण अवस्था हो।
त्यसैले अफगानिस्तानको पीडा र पाठबाट हामीले पनि सिक्न आवश्यक छ । विदेशी सहयोग, कृपा र प्रेरणामा मात्र देशको विकास सम्भव हुँदैन । यसका लागि आन्तरिक स्रोत व्यवस्थापन, परिचालन, सुशासन र राजनीतिक स्थिरता पूर्वसर्त हुन् । नेपालले सशक्त, समावेशी र सुरक्षित समाज निर्माण गर्ने बाटो रोज्नुपर्छ । गरिबी, बेरोजगारी र असमान पहुँचले सृष्टि गरेको संकटले केवल अफगानिस्तानलाई मात्र नभई सम्पूर्ण क्षेत्रलाई चेतावनी दिन्छ । हामीले समयमै कदम चाल्नुपर्छ– बालबालिका र परिवारको सुरक्षा हाम्रोे परीक्षा हो।
प्रकाशित: ७ जेष्ठ २०८३ ०५:५७ बिहीबार