सम्पादकीय

पुनर्निर्माण अर्को विपद् बन्नु हुँदैन

भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको तीन महिना बितिसकेको छ तर बाढीले घरबार, जीविकोपार्जन र वर्षौंको मेहनत गुमाएका हजारौं नागरिकका लागि विपद् अझै सकिएको छैन। उद्धार र तत्कालीन राहतको चरण पार भए पनि प्रभावित परिवारको जीवन सामान्य अवस्थामा फर्किन सकेको छैन। कसैको घर छैन, कसैको रोजगारी गुमेको छ, कसैको व्यवसाय बन्द छ। सडक, पुल, विद्युत् र अन्य सार्वजनिक संरचना क्षतिग्रस्त हुँदा दैनिक जीवन कष्टकर बनेको छ। तीन महिना बितिसक्दा पनि धेरै परिवार अस्थायी आवास र आश्रयस्थलमा बस्न बाध्य छन्। उनीहरूका लागि पुनःस्थापना र पुनर्निर्माणको प्रतीक्षा झन् पीडादायी बन्दै गएको छ।

नुवाकोटको बेत्रावतीदेखि रसुवाको स्याफ्रुबेँसी र टिमुरेसम्म सडक तथा पुल पुनर्निर्माणले अपेक्षित गति लिन सकेको छैन, यातायात सहज नहुँदा स्थानीयको दैनिक गुजारा र आर्थिक गतिविधि प्रभावित छन्। विस्थापित परिवारको स्थायी पुनःस्थापनाका लागि जग्गा पहिचान गरिएको भए पनि उनीहरूलाई सुरक्षित स्थानमा बसोबास गराउने काम अझै बाँकी छ। राहत वितरण, प्रारम्भिक नगद सहयोग र विद्युत् आपूर्ति पुनःस्थापनाका प्रयास त भएका छन् तर तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणबिचको खाडल देखिन थालेको छ। प्रभावित नागरिकले सरकारका तीनै तहलाई दबाब दिन संघर्ष समिति गठन गर्नुपर्ने अवस्था आउनु आफैंमा चिन्ताको विषय हो।

यस्तो अवस्थामा सरकारले हानि तथा नोक्सानी कोषबाट प्राप्त हुने सहायता परिचालन गर्न अवधारणापत्र माग गर्नु सकारात्मक कदम हो। कोषको सञ्चालक समितिले गत अक्टोबर २२ मा नेपाललाई २१.६ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसमध्ये २० मिलियन डलर भोटेकोसी–त्रिशूली नदी करिडोरका प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण र जीविकोपार्जन सुधारका लागि छुट्याइएको छ भने १.६ मिलियन डलर प्रशासनिक तथा व्यवस्थापकीय खर्चका लागि हो।

सरकारले एफआरएलडीबाट मान्यता प्राप्त नेपालस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई अवधारणापत्र पेस गर्न आह्वान गरेको छ। आगामी ५ डिसेम्बरसम्म प्रस्ताव पेस गर्न सकिने व्यवस्था गरिएको छ। ढिलै भए पनि यो सहयोग भित्र्याउन गरिएको पहल स्वागतयोग्य छ र अब संस्था छनोट र पुनर्निर्माण र पुनस्र्थापनाको कार्य अगाडि बढाउन कुनै ढिलाइ हुनु हुँदैन।

यो सन्दर्भमा भएको ढिलाइ र सुस्तगतिले महत्त्वपूर्ण प्रश्न पनि उठेको छ– के हामी पुनःस्थापना र पुनर्निर्माणका लागि पर्याप्त रूपमा तयार छौं? विपद्का बेला उद्धार र राहतमा सक्रियता देखाउने तर त्यसपछि पुनर्निर्माणमा ढिलाइ हुने प्रवृत्ति नेपालमा नयाँ होइन। जिम्मेवारीको अस्पष्टता, निकायबिच समन्वयको अभाव, प्रशासनिक झन्झट, कमजोर अनुगमन र जवाफदेहिताको कमीले पुनर्निर्माण प्रभावित हुने गरेको छ। भोटेकोसीको हकमा यस्तो कमजोरी दोहोरिनुहुँदैन। विपद्पछिको पुनर्निर्माण अर्को विपद् बन्न दिनु हुँदैन।

राष्ट्रिय योजना आयोगको विपद्पछिको आवश्यकता मूल्यांकनअनुसार समग्र पुनर्निर्माण तथा पुनरुत्थानका लागि सात खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने देखिएको छ। निजी सम्पत्तिमा मात्रै करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

यस्तो विशाल आवश्यकताका तुलनामा एफआरएलडीको सहयोग महत्त्वपूर्ण भए पनि पर्याप्त होइन। त्यसैले उपलब्ध रकमको उपयोग अत्यन्तै प्राथमिकतासाथ हुनुपर्छ। सबैभन्दा बढी प्रभावित, घरबारविहीन, आर्थिक रूपमा कमजोर तथा जीविकोपार्जन गुमाएका परिवारलाई केन्द्रमा राखेर कार्यक्रम बनाउनुपर्छ।

पुनर्निर्माणको अर्थ बाढीले बगाएका संरचना पुरानै ठाउँमा पुनर्निर्माण गर्नु मात्र होइन। जोखिमयुक्त बस्ती, नदी किनार र पहिरोको सम्भावना भएका क्षेत्रमा वैज्ञानिक अध्ययनबिना घर, सडक, पुल र अन्य संरचना बनाउनु अर्को जोखिम निम्त्याउनु हो। जोखिम मूल्यांकन, भूगर्भीय अध्ययन र जलवायु परिवर्तनका सम्भावित प्रभावलाई आधार बनाएर सुरक्षित पुनर्निर्माण गर्नुपर्छ।

आवश्यक परे प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ। त्यसका लागि उनीहरूको सहमति, पर्याप्त क्षतिपूर्ति र जीविकोपार्जनको सुनिश्चितता आवश्यक रहन्छ। त्यसैगरी, पुनर्निर्माणमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्छ। कुन क्षेत्रमा के बनाउने, कसलाई प्राथमिकता दिने र उपलब्ध स्रोत कसरी खर्च गर्ने भन्ने निर्णय प्रभावित नागरिकको आवश्यकताका आधारमा हुनुपर्छ।

भोटेकोसी विपद्ले नेपालको विपद् व्यवस्थापन क्षमता मात्र होइन, जलवायु परिवर्तनका कारण बढ्दो जोखिमप्रति हाम्रो तयारीको अवस्थासमेत परीक्षण गरेको छ। अबको चुनौती क्षतिग्रस्त संरचना उठाउनु मात्र होइन, भविष्यमा त्यस्तै विपद् आउँदा कम क्षति हुने समाज र पूर्वाधार निर्माण गर्नु पनि हो।

अन्तर्राष्ट्रिय जलवायु वित्त प्राप्त गर्नु उपलब्धि हो तर त्यसको वास्तविक सफलता प्रभावित नागरिकको जीवनमा आएको परिवर्तनले मापन गर्नेछ। तीन महिना बितिसक्दा पनि अनिश्चिततामा रहेका नागरिकलाई अब आश्वासन होइन, परिणाम चाहिएको छ। पुनःस्थापना र पुनर्निर्माणमा हुने ढिलाइ, अव्यवस्था र कमजोर तयारीले उनीहरूमाथि अर्को विपद् थपिनु हुँदैन।

प्रकाशित: ११ मंसिर २०८३ ०६:१२ शुक्रबार

Download Nagarik App