पानीको संकट भन्नासाथ हाम्रो ध्यान सुक्खा, खानेपानीको अभाव वा मरुभूमीकरणतर्फ जान्छ तर विश्व मौसम संगठन (डब्लुएमओ) को पछिल्लो प्रतिवेदनले अबको समस्या पानी कम हुनुमा मात्र नभई समग्र पानीको चक्र नै अनियमित र पूर्वानुमान गर्न कठिन हुँदै जानु हो। जलवायु परिवर्तनका कारण विश्वका कैयन् भूभागमा कतै नदी सुक्दै गएका छन्, भूमिगत पानीको भण्डार घट्दै छ र हिमनदी पग्लिरहेका छन्। कतै छोटो समयमै अत्यधिक पानी परेर विनाशकारी बाढी आइरहेका छन्।
डब्लुएमओको ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेस–२०२५’ले सन् २०२५ लाई पछिल्लो ३५ वर्षमा विश्वका नदीमा सबैभन्दा सुक्खा प्रवाह देखिएका वर्षमध्ये एक भनेको छ। यो वर्ष विश्वका नदीको जलाधार क्षेत्रको ३६ प्रतिशत भूभागमा नदीको बहाब औसतभन्दा कम थियो। लगातार सातौं वर्ष सामान्य नदी प्रवाह भएका नदीको जलाधार क्षेत्रमा औसतभन्दा कम पानी हुनु अझ चिन्ताको विषय हो।
पानीको संकट बुझ्दा नदीमा बगेको पानी मात्र हेर्नु पर्याप्त हुँदैन। भूमिगत पानी, हिमनदी, हिउँ, माटोको चिस्यान र तालमा सञ्चित पानीले कठिन समयमा पृथ्वीलाई धान्ने ‘बचत खाता’को काम गर्छन्। त्यसैले डब्लुएमओकी महासचिव सेलस्टे साउलोले प्रयोग गरेको ‘बचत खाता’को उपमा निकै अर्थपूर्ण छ।
अहिलेको समस्या यही बचत खाता घट्नु हो। सन् २०१४–२०१६ आसपासदेखि जमिनमा सञ्चित पानी घट्दो क्रममा रहेको र सन् २०२५ मा अनुगमन गरिएका भूमिगत पानीका करिब दुई तिहाइ कुवामा पानीको मात्रा सामान्य अवस्थाभन्दा फरक रहेको प्रतिवेदनले देखाएको छ।
हिमनदीको अवस्था झन् गम्भीर छ। विश्वका सबै प्रमुख हिमनदी क्षेत्रमा लगातार चौथो वर्ष बरफको मात्रा घटेको छ। सन् २०२५ मा मात्रै करिब चार सय आठ गिगाटन बरफ गुमेको छ।
सन् २०२३–२०२५ बिचको तीन वर्षमा हिमनदीले गुमाएको बरफ करिब १४ सय गिगाटन पुगेको छ। यो केवल हिमाली दृश्य बदलिने विषय होइन। यो त हिमनदीमा निर्भर नदी प्रणाली, कृषि, खानेपानी र जलविद्युत्को भविष्यसँग जोडिएको विषय हो।
हिमनदी पग्लँदा सुरुमा नदीमा पानी बढ्न सक्छ तर त्यो सधैं भइरहने विषय अर्थात् लाभ होइन। हिमनदी पग्लँदै जादा बरफ घट्दै जान्छ र त्यससँगै नदीमा आउने पानी पनि घट्न सक्छ। अर्थात् आज हिमनदी पग्लेर बढेको पानी भोलिका लागि पानी अभावको संकेत हुन सक्छ। यसका लागि सबैभन्दा पहिले पानीको मापन र तथ्यांक प्रणाली बलियो बनाउनुपर्छ।
कुन नदीमा कति पानी छ, भूमिगत पानी कति घटिरहेको छ, हिमनदी कति पग्लिरहेको छ र हिमतालको जोखिम कति बढिरहेको छ भन्ने विश्वसनीय सूचनाबिना जलसुरक्षाको योजना सम्भव हुँदैन। जलवायु जोखिममा रहेका एसिया र अफ्रिकाजस्ता क्षेत्रमा तथ्यांकको अभाव अझ ठुलो समस्या हुनु विडम्बना हो।
यसैगरी पूर्वसूचना प्रणालीमा पनि लगानी बढाउनुपर्ने देखिन्छ। अब वर्षा मापन गरेर मात्र पुग्दैन। उच्च हिमाली क्षेत्रका हिमनदी, हिमताल, हिउँ र चट्टानको अवस्था पनि निरन्तर निगरानी गर्नुपर्ने हुन्छ। उपग्रह, स्वचालित सेन्सर, मौसम तथा नदी मापन केन्द्र र स्थानीय तहसम्म पुग्ने चेतावनी प्रणालीलाई एउटै सञ्जालमा जोड्नुपर्छ। डब्लुएमओको यो चेतावनी नेपालका लागि अझ सान्दर्भिक छ।
हिमनदी र हिमतालमा निर्भर नेपालले आफूलाई ‘जलस्रोतको धनी देश’ भनेर मात्र सन्तुष्ट हुन मिल्दैन। पानीको स्रोत भएर पनि गलत समयमा पानी आउनु वा आवश्यक समयमा पानी नहुनु जलसुरक्षाको संकट हो। भोटेकोसी–त्रिशूलीमा हालै आएको विपद्ले उच्च हिमाली क्षेत्रमा भएको परिवर्तन अत्यन्त छिटो तटीय भूभागमा विनाशकारी बाढीका रूपमा आइपुग्न सक्छ भन्ने देखाएको छ।
विश्वले अब पानी सकिएपछि समाधान खोज्ने होइन, पानीको चक्र बदलिनुअघि तयारी गर्ने नीति लिनुपर्छ। नेपालले पनि यही पाठ आत्मसात् गर्न ढिला गर्नुहुँदैन। आजको असामान्य पानी भोलिको नयाँ सामान्य बन्नुअघि तयारी सुरु गर्नु नै जलसुरक्षाको पहिलो सर्त हो।
प्रकाशित: १२ आश्विन २०८३ ०५:५९ सोमबार