पश्चिम चितवनका किसान यतिबेला आफ्ना उत्पादन बिक्री नहुँदाको गम्भीर चिन्तामा परेका छन्। तिनको एउटै आशा भनेको महिनौंको मेहनतपछि फलेको उपजले बजारमा यथोचित मूल्य पाओस् भन्ने हो। राजधानी काठमाडौंजस्ता ठुला सहरी क्षेत्रमा उपभोक्ताले सुपथ मूल्यमा तरकारी तथा फलफूल उपभोग गर्न पाउँदैनन्। अझ ताजा उपभोग्य सामग्री पाउनु भनेको निकै ठुलो कुरा हो। एकातिर किसानले यथोचित बजार मूल्य नपाउने, अर्कातिर सर्वसाधारण उपभोक्ताले सहज मूल्यमा यस्ता सामग्री फेला नपार्ने स्थिति छ। यस्तो विषम स्थितिबारे चित्रण गर्दा सदैव हामीलाई चिन्ता लाग्छ। तैपनि समाधान निकट भविष्यमा देखिन्छजस्तो लाग्दैन।
यो पश्चिम चितवनका किसानले उत्पादन गरेको काँक्रो, बोडी, चिचिन्डो, करेलालगायतका तरकारीको कथा हो यो। यसलाई बिक्री गर्न उनीहरूलाई हम्मे परेको छ। किसानहरूका अनुसार अहिले पाँच रुपैयाँ किलोमा पनि यी तरकारी बिक्री हुँदैनन्। किसानले बिक्री नभएका तरकारी बारीमा कुहाएर फाल्नुपरेको छ। हाम्रो देशको समस्या भन्नु नै कृषि उपजको यथोचित मूल्य नपाउनु हो। यसले गर्दा बर्सेनि कृषि पेसा छाडेर अन्यत्र लाग्ने संख्या बढ्दो छ। एकातिर विशेष गरी अन्य मुलुकबाट आउने कृषिजन्य पदार्थ स्वदेशीभन्दा सस्तो तुल्याइन्छ, अर्कोतिर स्वदेशमा उत्पादन नभएपछि बाहिरबाट ल्याएको कृषिवस्तु फेरि महँगोमा बिक्री गर्ने गरिएको छ।
कृषि क्षेत्रमा काम गर्नु यसै पनि सहज छैन। प्रत्येक वर्ष यसका निम्ति विषादि, बिउ आदि बाहिरबाट ल्याउनुपर्छ। रासायनिक मल भनेको बेलामा नपाइने समस्या नयाँ होइन। विगतमा पशुपालन र कृषिलाई एकअर्कासँग जोडिएको थियो। यसले गर्दा प्राङ्गारिक मल प्रयोग गरी तरकारी र फलफूल उत्पादन बढाउने गरिएको थियो। हामीले उत्पादन गरेका कृषि उपज आफैंमा स्वस्थकर थिए। पछिल्ला दिनमा स्वदेशी उत्पादन पाउनै मुस्किल छ। प्रांगारिक मल प्रयोग गरेर उत्पादन गरिने उच्च गुणस्तरका कृषिउपज पाउने हो भने काठमाडौं उपत्यकामा रहेका कैयन् व्यक्तिले भनेजति मूल्य तिर्छन्।
यहाँ कृषि उत्पादनमा फलफूल, तरकारी र अनाजको मात्र होइन, अन्य उत्पादनको बजारमा पनि उत्तिकै समस्या छ। प्रत्येक पटक यहाँ मह उत्पादन गर्ने किसानले मूल्य पाएका छैनन्। दुग्धजन्य पदार्थका उत्पादक किसानको रुवाबासी पनि उस्तै हुन्छ। सहरमा बस्ने मानिसले गुणस्तरयुक्त मह खान पाउँदैनन्। तर, तिनीसम्म गुणस्तरीय वस्तु पु¥याउने गरिएको छैन। गुणस्तरयुक्त वस्तु उपभोग गर्न चाहने र यसका उत्पादकबिच ठुलो खाडल छ। नक्कली मह बनाएर सहरमा बिक्री गर्नेलाई कारबाही गरेको समाचार बेलाबेलामा आउँछ तर एकपटक नक्कली वस्तु किनेर फसिसकेको उपभोक्ताले फेरि त्यस्तो सामग्री किनेर खाने आँट गर्दैन।
देशमै उत्पादन भएका तरकारी र फलफूल मात्र होइन, हाम्रो बजारमा बिक्री भइरहेको ‘ड्राइफ्रुट्स’को गुणस्तर अत्यन्तै घटिया किसिमको छ। आयातित यस्ता वस्तुको गुणस्तर कम छ। बजारका पसलमा घुमेर खोज्ने हो भने डेट्स, काजु, किसमिस, बदाम आदिको गुणस्तर धेरै कमजोर छ। यस्ता सामग्री आयात गर्न विगत सरकारहरूले दिए। त्यस्तो सामग्री देशभित्र आउँदासमेत रोक्ने काम भएन। भन्सार नाकाबाटै तोकिएको गुणस्तरभन्दा कमको सामग्री रोक्न सक्नुपर्छ।
हाम्रा उपभोक्ताहरू मूल्य तिरेर पनि गुणस्तरीय सामग्री नपाउने मध्येमा पर्छन्। विगतमा यस्ता वस्तुको गुणस्तर अनुगमन गर्ने निकायबाट अपेक्षित कार्य हुन सकेन। त्यसैको परिणामस्वरूप सर्वसाधारणले महँगो मूल्य तिरेर पनि गुणस्तरहीन सामग्री उपभोग गर्नुपरेको छ। देशभित्रको गुणस्तरीय कृषि उपजले बजार नपाउने तर विदेशबाट आएको सडेगलेको सामग्री सजिलै बेचिने अवस्था टिठलाग्दो छ। यसैलाई भनिन्छ– बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन।
हाम्रो मुलुकमा बिचौलियातन्त्र जतासुकै छ। किसानले महँगो मूल्यको तरकारीका निम्ति मूल्य पाएका छैनन्। त्यही तरकारी बिचौलियाले महँगो मूल्य तिरेको देखाएर बिल बनाएर लगिरहेको किसानहरू बताउँछन्। यसरी लैजाँदा उत्पादक किसान र तरकारी पसलबिच ठुलो अन्तर देखिँदैन। यथार्थमा त्यहाँ मूल्यको ठुलो अन्तर छ। किसानले पनि वर्षभरि गरेको मेहनतको फल सस्तोमा बेच्न बाध्य हुँदा मन कुँडिन्छ नै।
हाम्रो मुलुकले व्यापार घाटाको स्थितिमा रहनुपरेको छ। देशभित्रै उत्पादन हुने कृषिउपजसमेत आयात गर्दा त्यसका लागि तिरेको मूल्यले व्यापार घाटा बढाएको छ। बरु हाम्रो देशको गुणस्तरीय कृषिउपजलाई देशमा सहजै उपभोगको व्यवस्था मिलाउने मात्र होइन, विदेशमा समेत पठाउन सकिन्छ। अरब मुलुकमा ताजा तरकारी र फलफूल पठाउने हो भने त्यसले हामीलाई राम्रो रकम भित्र्याउन सहयोग गर्छ। यसले हाम्रो व्यापार घाटा पनि कम गर्छ।
देशभित्र रोजगारी सिर्जना गर्न पनि कृषिवस्तुको मूल्य बढाउनतिर ध्यान दिनुपर्छ। हाम्रै मुलुकका सर्वसाधारण विदेशमा गएर कृषि र पशुपालनमा सहयोग गरिरहेका छन्। देशभित्रै कृषि, पशुपालन र अन्य व्यवसाय बढाउने हो भने उत्पादन बढाउन सकिन्छ । त्यसलाई निर्यात गरेर पनि हामीले आफूलाई सक्षम बनाउन सक्ने अवस्था छ। त्यसैले हरेक क्षेत्रमा यो भएन र त्यो भएन भन्नुभन्दा पनि भइरहेकै अवसरलाई उपयोग गर्नतिर लाग्नुपर्ने देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले यतिबेला चारैतिर आफ्नो कामको दायरा बढाइरहेको छ। कृषिजन्य वस्तुको मूल्य किसानलाई दिलाएर यस क्षेत्रबाट बिमुख हुन खोजेको जनशक्तिलाई यहीं अड्याइराख्ने अवस्था छ। त्यसका निम्ति सरकारले तत्काल ध्यान दिने हो भने धेरै फरक पर्छ। अहिले पश्चिम चितवनका मेहनती किसानले भोगिरहेको समस्यामा तत्काल ध्यान जानु आवश्यक छ। तिनको उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिदिने र त्यसअनुसार सरकार आफैंले खरिद गरेर बजारमा लैजाने मात्र काम गर्ने हो भने पनि स्थिति फरक हुन सक्छ।
किसान भनेका धर्ती पुत्रपुत्री हुन्। तिनलाई खुसी पार्न सक्दा मात्र मुलुक अगाडि बढ्छ । किसानलाई रुवाएर गरिने कुनै पनि विकासले मुलुक अगाडि बढ्दैन। किसानको एक सिजन खतम हुनु भनेको तिनको वर्ष बिग्रिनु हो। प्रतिकूल मौसम र कठिन परिश्रमका बाबजुद भएको उत्पादनले उचित बजार पाउनैपर्छ। सरकारको ध्यान तत्काल यता जाओस्।
प्रकाशित: १४ वैशाख २०८३ ०५:५७ सोमबार