अर्थतन्त्रको ऐनाका रूपमा हेरिने सेयर बजार (नेप्से) को पुँजीकरण करिब एक वर्षको अवधिमा करिब १२ खर्ब रुपैयाँले बढेको छ। सेयरमा लगानीकर्ताको आकर्षण, बजारमा नयाँनयाँ कम्पनीको प्रवेश, बजारको वृद्धिको कारण १३ महिनाको अवधिमा सेयर बजारको पुँजीकरण १२ खर्ब दुई अर्ब रुपैयाँले बढेको छ।
गत वर्ष २०८१ जेठ मसान्तमा नेप्से सूचकांक २११२.३० बिन्दुमा रहँदा बजार पुँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो। २०८२ जेठ मसान्तमा २६५५.३९ बिन्दुमा पुगेको धितोपत्र बजार पँुजीकरण ४४ खर्ब २३ अर्ब चार करोड रुपैयाँ कायम भएको छ। असारको २६ गते (बिहीबार) बजार बन्द हुँदा सेयर पुँजीकरण ४५ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ थियो। बिहीबार नेप्से सूचकांक २७३१.८० पुगेको छ।
मूल्य बढेको कारण सेयर बजार पुँजीकरण बढेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बताए। ‘यो वर्ष नेप्सेको पुँजीकरण न्यूनतम साढे ३४ खर्बदेखि अधिकतम करिब ४८ खर्बसम्म पुगेको छ,’ पराजुलीले भने, ‘सेयर संख्यावृद्धिभन्दा मूल्य बढेको छ।’ चालु आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा धेरै फागुन १८ गते बजार पुँजीकरण ४७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो भने सबैभन्दा कम २०८१ असार २६ गते ३४ खर्ब ५० अर्ब रुपैयाँ थियो।
अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले पनि त्यसको प्रभाव सेयर बजारमा परेको सरोकारवाला बताउँछन्। आर्थिक क्रियाकलाप वृद्धिको पहिलो प्रभाव सेयर बजारमा पर्ने भएकाले सेयर र पुँजीकरण वृद्धि भएको इन्भेस्टर फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले बताए। ‘आर्थिक वृद्धिमा सुधार, राजस्व वृद्धि, आयात तथा निर्यात वृद्धि हुँदा बजार चलायमान भएको छ,’ पौडेलले भने, ‘नयाँ कम्पनीको प्रवेशसँग बजार पनि वृद्धि भएको छ।’ बजार बढ्नु स्वाभाविक भएको उनको दाबी छ। ‘नयाँ मौद्रिक नीतिको कारण अझै वृद्धि हुन सक्छ,’ पौडेलले भने।
राष्ट्र बैंकका अनुसार अर्थतन्त्र क्रमशः लयमा फर्कन थालेको छ। मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ। विप्रेषण आप्रवाह, विदेशी पर्यटक आगमन र निर्यातको बढोत्तरीले विदेशी विनिमय सञ्चिति बढेको छ। विगत दुई वर्षदेखि संकुचनमा रहेका आर्थिक क्षेत्रहरूसमेत विस्तार भई आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार भएको छ। यसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८२ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाई २५ करोड रुपैयाँ पुर्याएको छ। सेयर कारोबार गर्ने व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अब सेयर धितो राखेर कुल २५ करोड रुपैयाँसम्म कर्जा पाउने भएका छन्। कर्जा लिएर सेयरमा लगानी गर्ने सम्भावना बढ्छ। लगानीकर्तामा मनोबल बढ्ने देखिन्छ।
सेयर बजारको पक्षमा देखिएका गर्भनर डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीति पनि सेयर बजार अनुकूल देखिन्छ। मौद्रिक नीतिले ब्याजदर थप घटाउन जोड दिएकाले यसको प्रभाव सेयर बजारमा पर्ने जानकार बताउँछन्। यसले बजारमा सकारात्मक प्रभाव पार्ने अनुमान छ।
२०८२ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ७२ पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये एक सय ३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, सात होटल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र आठ अन्य समूहका छन्।
प्रकाशित: २९ असार २०८२ ०६:०८ आइतबार