अर्थ

मधेशका महिला हरेक क्षेत्रमा अगाडि बढिरहेका छन् : अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले मधेशका महिला हरेक क्षेत्रमा अगाडि बढिरहेको बताएकी छन्। शुक्रबार महोत्तरीको बर्दिबासस्थित मधेश प्रदेशको कार्य समिति छनौटका लागि आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले मधेशका महिला व्यापार  व्यवसाय गरेर जीविकोपार्जन गर्न सक्षम रहेको बताएकी हुन्।

‘दुई-तीन वर्षअघि मधेशमा यस्ता कार्यक्रम गर्दा महिलाको उपस्थिति थोरै संख्यामा हुन्थ्यो। तर अहिलेका कार्यक्रमहरूमा महिलाको उपस्थिति हेर्दा लाग्दा उनीहरू जागरुक भइसकेका छन्। राज्यले थौरे पहल गरिदियो भने यहाँका महिला दिदीबहिनीहरू आफ्नै व्यवसाय सुरु गरी आत्मनिर्भर बन्न सक्छन्,' उनले भनिन्।

उनले दिदीबहिनीहरूले आफ्नै ठाउँमा उत्पादन गरेका सामान देशका विभिन्न ठाउँमा बिक्री गर्न गइरहेको पनि बताइन्। महिलाहरूलाई आर्थिक शक्तीकरण तर्फ लाग्नु नै महिला उद्यमी महासंघको उद्देश्य रहेको बताउँदै महिलाहरूको आर्थिक उपार्जनका लागि महासंघले काठमाडौं पनि सम्बधित निकायसँग बारम्बार छलफल गरिहेको अध्यक्ष ज्ञवालीको भनाइ छ। 

‘हामीहरू देशभरका विभिन्न जिल्लाका दिदीबहिनीसँग जोडिएका छौं, उनीहरूले उत्पादन गरेका सामग्रीहरू देशका विभिन्न भागमा पुग्दै छ। महासंघको उद्देश्य नै हिमालमा उत्पादन गरेको सामान पहाडमा र पहाडको सामान मधेशमा बिक्री गरेर व्यवसायप्रति आकर्षित गर्ने छौँ।’

उनले महिलाहरूको आर्थिक सशक्तीकरण बलियो नभएसम्म दबिएर बस्न बाध्य हुने र आर्थिक अवस्था पनि कमजोर हुने बताइन्। यस कारण आर्थिक मजबुतिका लागि पनि महिलाहरू व्यवसायमा लाग्नुपर्ने उनको भनाइ छ।

‘महिलाहरूको आर्थिक शक्तीकरण जबसम्म बलियो हुँदैन तबसम्म दबिएर बस्न बाध्य हुन्छन्, आर्थिक मजबुतिका लागि महिलाहरूले व्यवसाय गरिनुपर्छ,' उनी अगाडि थप्छिन्, 'त्यसका लागि राज्यले पनि लगानी गरिरहेको छ, त्यसको उपयोग महिलाहरूले गर्नुपर्छ।

साथै राज्यले उपलब्ध गराएको स्रोतबाट व्यवसायी बन्छु भनेर प्रण गर्न पनि उनले आग्रह गरिन्।

व्यवसाय गर्ने महिलाहरूको लागि राज्यले ५ देखि २५ लाख रुपैयाँसम्म सहुलियतमा ऋण उपलब्ध गराइरहेको उनले जानकारी दिइन्। ‘कुन व्यवसाय गर्ने त्यसमा कति लगानी लाग्छ। त्यसको ‘प्रपोजल’ बनाएर पेस गरिनुपर्छ। त्यसमा उद्यमी महासंघ सहजीकरण तयार रहेको छ,’ उनले भनिन्।

कार्यक्रमका विशिष्ट अतिथि रहेका महोत्तरीको बर्दिबास नगरपालिकाका प्रमुख प्रहलाद क्षेत्रीले महिलाहरूको व्यवसायमा लगानी गर्न नगरपालिकाबाट तयार रहेको बताएका छन्। उनले भने, 'पछिल्लो आर्थिक वर्षमा पनि स्थानीय महिलाहरूको व्यवसायका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको थियो। आगामी दिनमा पनि नगरपालिका उद्यमी महिलाहरूको साथमा रहने छन्।’

नवनिर्वाचित प्रदेश कमिटीका सचिव सुनैना ठाकुरले आफूलाई व्यवसाय गर्न महिला उद्यमी महासंघले प्रेरित गरेको बताइन्। उनले नौ वर्षअघि महासंघले काठमाडौंमा आयोजना गरेको महिला उद्यमी मेलाको सम्झना गर्दै भनिन्, ‘महासंघका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले देशभर ७७ जिल्लाबाट महिलाहरूलाई बोलाएर मेलाको आयोजना गर्नु भएको थियो, त्यसले हामीलाई व्यवसाय गर्न थप मद्दत पुग्यो।’

महिलाले घरमा जति काम गरे पनि त्यसको मूल्यांकन नभइरहेको उनले गुनासो गरिन्। उनले महिलाले आत्मसमान र आफ्नो मूल्यांकन बढाउनका लागि आर्थिक उपार्जनमा लाग्नुपर्ने उनको भनाइ छ।

शुक्रवार गठन गरिएको नौ सदस्य प्रदेश कमिटीमा अध्यक्षमा देव कुमारी (सविना), उपाध्यक्षमा चन्चला दास, सचिवमा सुनैना ठाकुर र कोषाध्यक्षमा जानुका चौलागाईँ छनौट भएकी हुन्। सदस्यमा प्रतिमा कोइराला, संगमकुमारी गोले, लिला ठाकुर, पार्वती चौधरी र निभा दास रहेका छ्न्।

नवनिर्वाचित प्रदेश कमिटीलाई केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिइन्। कार्यभार सम्हाल्दै प्रदेश अध्यक्ष देव कुमारीले महिलाहरूलाई उद्यमी बनाउन आफू तत्पर रहने बताइन्। ‘यसअघि पनि आफू महिलालाई व्यवसायमा जोडेर आर्थिक रूपमा मजबुत बनाउने काम गर्दै आएकी छु। आजबाट थप जिम्मेवारी पाएको छु। उद्यमी महिला दिदीबहिनीहरूको साथमा रहने छु।’

प्रकाशित: ३१ श्रावण २०८२ १३:०५ शनिबार