अर्थ

सुनसरीमा हावाहुरीले मकैखेतीमा क्षति, उत्पादन २० प्रतिशतसम्म घट्ने अनुमान

सुनसरीको इनरुवासहित विभिन्न स्थानीय तहमा बुधबार राति आएको हावाहुरीले व्यावसायिक मकैखेतीमा ठूलो क्षति पुर्‍याएको छ।

हुरीले इनरुवा, भोक्राहा, हरिनगर र देवानगञ्ज लगायतका क्षेत्रमा लगाइएको मकै बाली नष्ट गरेपछि किसानहरू चिन्तित बनेका छन्।

कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहका अनुसार हावाहुरीका कारण मकैको कुल उत्पादनमा करिब १० देखि २० प्रतिशतसम्म कमी आउने प्रारम्भिक अनुमान गरिएको छ।

केन्द्रले हाल जिल्लाभर भएको क्षतिको यकिन विवरण सङ्कलन गरिरहेको उनले जानकारी दिए।

भोक्राहा-६ का किसान नगेन्द्रकुमार साहले १ बिघा १५ कठ्ठामा लगाएको मकैखेती हुरीले सोत्तर बनाएपछि लगानी नै डुब्ने अवस्था आएको सुनाए।

‘मकैखेतीमा १ लाख ५० हजार रुपैयाँ लगानी भएको थियो, ४ लाख रुपैयाँसम्म आम्दानी हुने आशा थियो,’ साहले भने, ‘अहिले लगानी नै जोगाउन गाह्रो पर्ने देखियो।’

जिल्लामा पछिल्लो समय गहुँको विकल्पमा मकैखेतीतर्फ किसानको आकर्षण बढ्दो छ। तथ्याङ्कअनुसार सुनसरीमा आर्थिक वर्ष २०८२/८३ मा ११ हजार २०० हेक्टर क्षेत्रफलमा हिउँदे र वसन्ते मकैखेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०८३ १६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App