नेपाल आयल निगमले सामान्यता १५-१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ। तर यसअघि चैत २ गते डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोल तथा मट्टितेलमा प्रतिलिटर १५-१५ रुपैयाँ बढाएको निगमले ११ दिनपछि आज (बिहीबार)देखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
निगमले आजदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५-१५ रुपैयाँ बढाएको हो।
मूल्य बढेसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ।
मूल्य समायोजनसँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेकाे छ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल डिपोलाई तोकेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ।
'यसअघि नै समायोजन गर्नुपर्ने थियो। हामीले नागरिकलाई राहत दिनुपर्छ भनेर चैत २ गते थोरै मात्र बढाएका थियौं। १०-११ दिन भएपनि नागरिकलाई राहत पनि भयो।,' कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले भने, 'तर यो बीचमा बाहिरको मूल्यको ट्रेण्ड पनि हेर्यौं त्यसमा फेरि पनि बढ्ने देखिएपछि मूल्य समायोजन गरेका हौं।'
अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढ्ने देखिएपछि निगमले बाध्य भएर बढाएको उनको भनाइ छ। 'घट्ने भए केही फरक पर्दैन थियो। तर बढ्ने जस्तो ट्रेण्ड देखिएको र नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई भुक्तानी गर्न पनि समस्या हुने देखिएपछि मूल्य बढायौं।,' उनले भने।
हाल आइओसीलाई समयमा भुक्तानी गर्दा नै आपुर्ति सहज भएको निर्देशक भट्टकाे दाबी छ। भुक्तानी समयमा नहुँदा त्यो समस्या हुनसक्ने भएकाले नै मूल्य बढाएकाे उनले बताए।
उनले स्वचालित मूल्य प्रणाली पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा निगम घाटामा गएकाे बताए। अब ४ दिनपछि मूल्य समायोजन गर्ने विषयमा भने निगम संचालक समितिको निर्णय अनुसार अघि बढ्ने उनको भनाइ छ। ' विश्वभरको ट्रेण्ड हेरेर संचालक समितिले जे निर्णय गर्छ त्यही अनुसार अघि बढ्छौं किनभने मूल्य घटाउने बढाउने निर्णय नेपाल आयल निगमको संचालक समितिले नै गर्छ।,' उनले भने।
अंग्रेजी महिनाको १ र १६ तारिखदेखि लागु हुने गरि महिनामा दुइ पल्ट निगमले मूल्य समायोजन गर्दै आएको छ।
हाल नेपालमा पेट्रोलियम पदार्थको आयात सामान्य तरिकाले नै भइरहेको निगमले जनाएको छ । निगमका अनुसार दैनिक ९० वटा ग्यास बुलेट माग हुने गरेकोमा त्यसको हाराहारीमा नै नेपाल भित्रिरहेको छ। यस्तै दैनिक २० लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल माग हुने गरेकोमा त्यसको सहज आपुर्ति भइरहेको निगमले स्पष्ट पारेको छ।
प्रकाशित: १२ चैत्र २०८२ १६:४१ बिहीबार