नयाँ आर्थिक वर्षको पहिलो महिनासँगै वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर पुनरावलोकन गरेका छन्। साउन १ गतेदेखि लागू हुने नयाँ ब्याजदरअनुसार २० वाणिज्य बैंकमध्ये ८ बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने १२ बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
सबैभन्दा बढी ब्याजदर कटौती गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ०.७५ प्रतिशत बिन्दु र संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।
यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। एनएमबी बैंकले व्यक्तिगतमा ०.२५ प्रतिशत तथा संस्थागतमा ०.५० प्रतिशत बिन्दुले कटौती गरेको छ भने सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगतमा ०.१५ प्रतिशत र संस्थागतमा ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।
कृषि विकास बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.०३ प्रतिशत बिन्दुले घटाएको छ। कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः ०.०६ प्रतिशत र ०.१० प्रतिशत बिन्दुले कम गरेका छन्।
यता, नेपाल बैंक लिमिटेडले भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ। चार वर्ष वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दती निक्षेपमा उक्त दर लागू हुनेछ। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भने बैंकले ४.२५ प्रतिशतमै यथावत् राखेको छ।
अधिकांश बैंकहरूले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एशिया र प्राइम कमर्सियल बैंकले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्।
नयाँ दरअनुसार नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम अधिकतम ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ, जहाँ ग्राहकले अधिकतम ३.८५ प्रतिशत ब्याज पाउनेछन्।
संस्थागत मुद्दती निक्षेपतर्फ नेपाल बैंकले सबैभन्दा बढी ४ प्रतिशत ब्याजदर तोकेको छ। प्रभु बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने संस्थागत मुद्दती निक्षेपमा सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
प्रकाशित: १ श्रावण २०८३ २०:५० शुक्रबार



