पृथ्वीचोकस्थित कृषिबजार व्यवस्थापन समितिको मूल्य अनुसार बुधबार पोखरामा काउलीको प्रतिकिलो औसत मूल्य १४० रुपैयाँ थियो। तर, पोखराकै सिद्धार्थचोकस्थित तरकारी बजारमा त्यही काउलीको मूल्य दोब्बर भन्दा बढी प्रतिकिलो ३ सय रुपैयाँ थियो। त्यस्तै प्रतिकिलो ११० रुपैयाँको लौकाको मूल्य बजारमा १५० रुपैयाँ थियो।
अझ एकसाता अघि (असोज २) सम्म पृथ्वीचोकस्थित कृषिबजारमा सबैखाले तरकारीको औसत मूल्य अझै कम थियो। एकसाता अन्तरमा तरकारीको मूल्यले आकाश छोएको छ। एकसाता अवधिमै थोक मूल्य पनि आकाशिएको छ। त्यत्तिमात्र नभई बाढीपहिरोले राजमार्ग अवरोध भएको निहुँमा व्यावसायीले उपभोक्ताको ढाड सेक्नेगरि तरकारीको मूल्य झनै बढी लिने गरेका छन्। बजार अनुगमन नहुँदा जसले जति मन लाग्छ, उत्ति मूल्य तोकेर तरकारी बेच्ने गरेका छन। त्यसको उदाहरण हो बुधबार पोखराको बजारमा काउलीको मूल्य।
एकसाता अवधिमा पोखरामा थोक मूल्य अनुसार काउलीको औसत मूल्य प्रतिकिलो ११० रुपैयाँ थियो। तर, बुधबार त्यो मूल्य १४० रुपैयाँमा उक्लेको छ। त्यस्तै प्रतिकिलो ५५ रुपैयाँमा पाइने बन्दाको मूल्य पनि ७० रुपैयाँ पुगेको छ। गोलभेंडाको मूल्य प्रतिकिलो ६७ बाट बढेर १०५ पुगेको छ। सिमीको मूल्य प्रतिकिलो १४० बाट बढेर १८० पुगेको छ। घिरौलाको मूल्य पनि प्रतिकिलो ११० बाट बढेर १४५ पुगेको छ। लौकाको मूल्य प्रतिकिलो ७० बाट बढेर ११० पुगेको छ। करेलाको मूल्य पनि प्रतिकिलो ९० बाट अकाशिएर ११० र भिण्डिको मूल्यको १ सय बाट बढेर १६० रुपैयाँ प्रतिकिलो पुगेको छ।
‘तरकारीको मूल्य यो बेला केही बढ्छ नै, तर, दोब्बर भन्दा बढी मूल्य लिने भने अचाक्ली नै हो,’ पृथ्वीचोकस्थित कृषिबजार व्यवस्थापन समितिका अध्यक्ष नवराज दुवाडी भन्छन, ‘राज्यले नियन्त्रण गर्न नसक्दा उपभोक्ता ठगिएका छन। थोक मूल्यमा किनेको तरकारी खुद्रामा बेच्दा केही नाफा लिनु स्वभाविक भएपनि दोब्बर बढी मूल्य असुल्नु ठाडै ठगि हो।’ तरकारीको मूल्य वृद्धि रोक्ने निकाय नै नहुँदा व्यवासायीलाई सहज भएको पनि उनले बताए।
उनका अनुसार सामान्यतः थोकमूल्यमा २० प्रतिशतसम्म बढाएर खुद्रा व्यावसायीले उपभोक्तालाई तरकारी बेच्ने हो। तर, सतप्रतिशत भन्दा पनि बढी मूल्य लिन ठगि नै हो। ‘व्यावसायीलाई राजमार्ग बन्द भएको बहानामा तरकारीको मूल्य बढी लिन सहज भएको हो। तर, पोखरा भित्रिने तरकारीलाई मुग्लिन–नारायणगढ राजमार्ग अवरुद्ध हुँदा उत्तिसारो असर पर्दैन। दोब्बर बढी मूल्य पर्दै पर्दैन,’ उनले भने।
एकसाता अन्तरमा तरकारीको थोक मूल्य नै बढेर उपभोक्ताको ढाड सेकिएको अवस्थामा व्यवासायीले झनै बढी मूल्य असुल्नु अन्याय नै भएको उनले बताए। ‘पोखरामा अधिक तरकारी धादिङ, मकवानपुर (पालुङ) लगायतका जिल्लाबाट आउँछ। मंगलबार मुग्लिन–काठमाडौं राजमार्ग अवरुद्ध हुँदा तरकारी भित्रिन पाएको थिएन। तर, बुधबार सहज भईसकेको छ। व्यावसायीले मुग्लिन–नारायणगढ सडक अवरोधलाई बहाना बनाएर मूल्य असुल्नु सिधै ठगि नै हो,’ उनले भने, ‘पोखरा–काठमाडौं राजमार्गमा अवरोध भएमा केही असर पर्छ। तर, व्यावसायीले उपभोक्तालाई भ्रममा पारेर ठगिरहेका छन।’ चाँडबाँडको मौका र राजमार्गको अप्ठेरो देखाउँदै तरकारीमा दोब्बर मूल्य असुल्नु सिधै ठगि भएको पनि उनले बताए।
‘बजार अनुगमन कतैबाट हुँदैन। व्यावसायीले मनपरि तरिकाले मूल्य असुल गरिरहेका छन। कसैसँग डरत्रास नभएपछि यस्तै हो,’ उनले भने, ‘वर्षायाम सकिएर हिउँद सुरु हुँदा उत्पादनमा असर भएर केही मूल्य बढ्नु स्वभाविक हो। तर, दोब्बर मूल्यमा उपभोक्तालाई तरकारी किन्न पार्नु अन्याय नै हो।’
कृषि बजार व्यवस्थापन समितिकी योजना सहायक रुपा दाहालका अनुसार एकसाताकै अन्तरमा थोक मूल्यमा वृद्धि भएपनि दोब्बर भन्दा बढी भने पर्दैन। ‘एकसाताकै अन्तरमा तरकारीको मूल्य केही बढेकै छ। यो नियमित प्रक्रिया हो। वर्षा सकिएर हिउँद लाग्न थाल्दा हरेक वर्ष यो बेला मूल्य केही महंगो पर्छ। तर, दोब्बर भन्दा बढी लिन पाइँदैन,’ दाहालले भनिन, ‘उपभोक्तामाथि सरासर ठगि गरिएको छ। उपभोक्ताको ढाड सेक्ने गरि मूल्य लिन पाइँदैन।’
दाहालका अनुसार वर्षायाममा कतिपय तरकारी स्थानीयस्तरमा उत्पादन हुँदैन। त्यसपछि बाहिरबाट ल्याउँदा केही महंगो पर्छ। एकसाताकै अन्तरमा पनि मूल्य बढेकै हो। तर, अचाक्ली हुनेगरि भने बढेको होईन। ‘मुग्लिन–नारायणगढको बाटो बन्दको बहानामा उपभोक्ता ठग्नु राम्रो होईन। मुग्लिन–नारायणगढ राजमार्गले पोखरामा तरकारी ल्याउन उत्तिसारो बाधा पु¥याउँदैन। तर, मुग्लिन–काठमाडौं खण्ड रोकियो भने त्यसले असर गर्छ,’ दाहालले भनिनन, ‘मुग्लिन–नारायणगढको अप्ठेरोले बढीमा २० प्रतिशत तरकारी आयातमा असर पर्छ। नत्र धेरै तरकारी त मुग्लिन–काठमाडौं खण्ड हुँदै आउने हो। मुग्लिन–काठमाडौंमा मंगलबार केहीघण्टा अवरोध भएपनि मूल्य नै अकाशिने गरि प्रभावित पारेको छैन।’
तरकारी उत्पादनका लागि यो बेला अफसिजन मानिएपनि यतिबेलाका लागि पोखरामा धेरैजसो तरकारी धादिङ र मकवानपुर (पालुङ क्षेत्र)ले धान्ने गरेको उनले बताईन। केही तरकारी काभ्रेबाट पनि भित्रिने उनको भनाई छ। गोलभेंडा त काठमाडौंले नै पोखरालाई पुर्याउने उनले सुनाईन। ‘थोक मूल्यमा बढीमा २० प्रतिशत बढेर उपभोक्तालाई मूल्य पर्नुपर्ने हो। तर, यहाँ जसले जे गरेपनि भएको छ। चाँडबाँडको फाइदा उठाएर उपभोक्तालाई अन्योलमा पारेर दोब्बर भन्दा बढी मूल्य लिएका छ। यो सरासर ठगि हो। राज्यले अनुगमन गर्न ढिला गर्नुहुँदैन।’
दाहालका अनुसार पोखरामा दिनमा ४ सय मेट्रिक टनसम्म तरकारी खपत हुन्छ। त्योमध्ये स्थानीय उत्पादनले पोखराको मागको करिब २० प्रतिशत मात्र हिस्सा ओगटछ। स्थानीयले नपुगेपछिको अपुग तरकारी छिमेकी र अन्य जिल्लाबाट आयात गर्ने गरिएको छ। लगातारको झरिले यो बेला लहरेबालीका तरकारीका बोट मर्ने तथा टनेल बाहेक अन्यत्र खेती नहुँदा उत्पादन भने कमि हुँदा केही मूल्य बढ्ने उनले बताईन।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया विचौलिया हावि हुँदा उपभोक्ता मारमा परेको बताउँछन। ‘स्थानीय प्रशासनदेखि महानगरसम्मले पनि बजार अनुगमनको जिम्मा लिनैपर्छ। तर, अनुगमन भएको छैन। त्यसैको फाइदा उठाएर व्यावसायीले उपभोक्तामाथि आर्थिक भार थोपरेका छन। यसमा सरोकारवालाको चाँसो जानैपर्छ,’ उनले भने। उनका अनुसार थोक मूल्यमा २० प्रतिशत बढाएर खुद्रा मूल्यमा उपभोक्तालाई उपभोग्य बस्तु उपलब्ध गराउँदा कालोबजारी मान्न मिल्दैन। तर, बजारमा दोब्बरभन्दा बढी मूल्य लिने गरिएको छ।
तरकारीमा बिचौलिया हावी भएको भन्दै महानगरले कृषि एम्बुलेन्स संचालन गरेर किसानले उत्पादन गरेको तरकारीलाई बजारमा ल्याएर बेच्ने गरेको छ। त्यसरी बेच्दा किसानसँगको खरिद मूल्यमा २० प्रतिशत बढी पर्ने उनले बताए। ‘किसानसँग किनेको कतिपय तरकारी नोक्सान हुन्छ। त्यसको घाटा बेहोर्नुपर्ने भएकोले २० प्रतिशत बढाएर बेचेर घाटा बेहोरेको मात्र हो। तर बाहिर खुला बजारमा भने अधिकतम ठगि हुने गरेको छ,’ उनले भने।
प्रकाशित: ८ आश्विन २०८२ १७:३६ बुधबार