अर्थ

माथिल्लो मुस्ताङः प्रतिदिन ५० डलर तिरेर घुम्न पाइने

यसअघि दशदिनका लागि ५ सय डलर अनिवार्य थियो

मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ। फाइल तस्बिरः नागरिक

अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङ घुम्न जाने विदेशी पाहुनाले अबदेखि प्रतिदिन ५० अमेरिकी डलरका दरले शुल्क तिर्नुपर्ने भएको छ। यसअघि विदेशी पाहुनाले एकमुष्ठ ५ सय डलर तिर्नुपर्ने बाध्यता थियो। दैनिक ५० डलरका दरले शुल्क तिरेर घुम्न पाउने भएपछि उक्त क्षेत्रमा विदेशी पाहुनाको आकार ह्वात्तै बढ्ने अपेक्षा स्थानीयको छ।  

उक्त क्षेत्रको भ्रमणमा जाने विदेशी पर्यटकले यसअघि कम्तिमा १० दिनका लागि अनुमति लिएर शुल्क तिर्नुपर्ने बाध्यता थियो। यात्रामा एक्लै जान नपाउने र समूह (कम्तिमा २ जना) हुनैपर्ने बाध्यता पनि थियो। तर, अबदेखि पाहुनाले आफुले बस्न चाहेको दिन अनुसार प्रतिदिन ५० डलरका दरले शुल्क तिरे पुग्नेछ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्ने उक्त स्थानमा घुम्न जाँदा तिर्नुपर्ने महंगो शुल्ककै कारण विदेशी पाहुनाहरु हच्किने समेत गरेका थिए।  

एक्याप जोमसोमका प्रमुख राजेशप्रसाद गुप्ताले प्रतिदिन ५० डलरका दरले शुल्क तिरेर घुम्न जान पाउने भएपछि माथिल्लो क्षेत्रमा विदेशी पाहुनाको आकार बढ्ने अपेक्षा रहेको बताए। ‘यसअघि दशदिनका लागि ५ सय अमेरिकी डलर तिर्नैपर्ने बाध्यता थियो। तर, अब भने त्यो बाध्यता कम भएको छ। आफुलाई बस्न मन लागेको दिनको हिसाब गरेर प्रतिदिन ५० डलरका दरले तिरे पुग्नेछ,’ उनले भने। उनका अनुसार यसअघि कुनैपनि विदेशी १० दिन भन्दा बढी बस्नुपर्दा प्रतिदिन ५० डलरका दरले शुल्क बुझाउनु पर्दथ्यो।  

‘दशदिनको अनुमति लिनैपर्ने र एकमुष्ट ५ सय अमेरिकी डलर तिनुपर्ने बाध्यताले विदेशी पाहुना माथिल्लो क्षेत्रमा जान रुचाउँदैनथे। दशदिन भन्दा कम समय बसेको खण्डमा महंगो पर्दथ्यो। तर, अब भने दिनको ५० डलरका दरले तिरे हुनेछ,’ उनले भने, ‘अघिल्लो प्रावधान अनुसार एकसाता बस्दा ५ सय डलर पर्दथ्यो। तर, अब भने एकसाता बस्ने पर्यटकले प्रतिदिन ५० डलरका दरले ३ सय ५० डलर तिरे पुग्नेछ।’

गुप्ताका अनुसार उक्त क्षेत्रमा प्रवेश शुल्क महंगो परेको भन्दै स्थानीयले शुल्क घटाउन बारम्बार आग्रह गर्दै आएका थिए। मोटरको पहुँच नपुगेको बेला जोमसोमबाट माथिल्लो क्षेत्र घुमेर फर्किदाको समयलाई मध्यनजर राख्दै उक्त शुल्क लागु गरिएको भएपनि अहिले त्यो यात्रा सहज बनेको उनले बताए।

‘सडक पहुँच सहज नहुँदासम्म जोमसोमसम्म जहाजमा गएका पाहुना हिडेरै लोमान्थाङ पुगेर फर्किदा १० दिन जति लाग्थ्यो। त्यही हिसाबले ५ सय डलर शुल्क तोकिएको थियो,’ गुप्ताले भने, ‘अहिले त एकैदिनमा जोमसोमबाट गएका पाहुना नेपाल–तिब्बत सिमाना कोरला नाका पुगेर फर्किन सक्छन। त्यसैले अहिलेका लागि त्यो शुल्क अलि अव्यवहारिक थियो। तर, अब भने सस्तो पर्नेछ।’

सरकारले मुस्ताङका लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपाकिाको पुरै क्षेत्र तथा वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–३ को केही गाउँलाई अर्धनिषेधित क्षेत्रको रुपमा राखेको छ। गुप्ताका अनुसार शुल्क घटेसँगै अहिले भन्दा बढी संख्यामा विदेशी पर्यटक माथिल्लो मुस्ताङ उक्लिने अनुमान छ। अहिले वर्षमा हजारौं भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न मुस्ताङ पुग्छन। तर, महंगो शुल्ककै कारण ती पर्यटकहरु माथिल्लो क्षेत्रमा घुम्न जानबाट रोकिने गरेका थिए। दैनिक शुल्कका दरले तिरेर जान पाए जान हुन्थ्यो भन्ने उनीहरुको भनाई हुने गरेको थियो।  

‘अबको समय माथिल्लो क्षेत्रमा जाने विदेशीको संख्या अहिले भन्दा निकै नै माथि हुने अनुमान छ। मुक्तिनाथ गएर फर्किनुपर्ने बाध्यतामा रहेका पर्यटकहरु अरु लोमान्थाङसम्म पनि घुम्न जानेछन,’ उनले भने, ‘पाहुनाको आकार कोरला नाकासम्म बढ्नेछ । त्यसले त्यहाँको पर्यटन क्षेत्रमा लाभ दिलाउनेछ।’

गत आर्थिक वर्षमा मुस्ताङको उक्त अर्धनिषेधित क्षेत्रमा मात्र करिब ३६ सय विदेशी पाहुना भ्रमणमा गएका थिए। एक्यापका अनुसार मुस्ताङको उक्त क्षेत्रमा मात्र सन् २०२३ मा ३ हजार ४ सय ८४ जना विदेशी पर्यटक पुगेका थिए। यो संख्या सन् २०२२ मा ३ हजार १ सय १२ जना थिए। २०२१ मा भने जम्मा ३ सय ३७ जना मात्र गएका थिए। पछिल्लो २० वर्षमा सबैभन्दा बढी सन् २०१४ मा मुस्ताङको निषेधित क्षेत्रमा जाने विदेशीको संख्या ४ हजार १ सय ४७ रहेको थियो।

लोमान्थाङका अगुवा इन्द्रधारा विष्ट दशदिन अनिवार्य गर्दै प्रतिव्यक्ति ५ सय डलर महंगो शुल्क परेकोमा अब सस्तो पर्ने बताउँछन। उनका अनुसार अर्धनिषेधित क्षेत्रमा जाँदा यसअघि एक्लै जान नपाउने र कम्तिमा ५ सय डलर तिर्नुपर्ने बाध्यताले पर्यटकलाई महंगो परेकोमा अब भने केही सहज हुनेछ।  

‘सरकारले समूहमा मात्र जान पाइने प्रावधान राखेर शुल्क लिँदै आएको थियो। त्यो अवस्थामा कम्तिमा दुइजना जानैपर्ने बाध्यता थियो। त्यो हिसाबले पनि एकहजार डलर (प्रतिव्यक्ति ५ सय) परेको थियो। तर, अब दिनकै ५० डलर तिरेर जान पाउँदा पर्यटकको आकार पक्का बढ्नेछ,’ उनले भने, ‘अबपनि दिन तोकेर बस्नैपर्ने बाध्यता बनाउनु हुँदैन। तर, प्रतिदिन ५० डरले जान पाउने हुँदा पर्यटकलाई सहज हुन्छ। स्थानीयले लामो समयदेखि यो माग राख्दै आएका थिए।’  

जोमसोमबाट सुरु हुने उपल्लो मुस्ताङको पदयात्रा जोमसोममै फर्केर टुंगिन्छ। तिब्बतको सिमामा पर्ने यो क्षेत्र विदेशी पर्यटकको लागि आकर्षक गन्तव्यस्थल मानिन्छ। उपल्लो मुस्ताङको भौगोलिक वनावट, हिमाली सभ्यता र संस्कृतिको अध्ययन तथा अवलोकनका लागि वर्षेनी विभिन्न देशका पर्यटक त्यहाँ पुग्ने गर्छन्। सांस्कृतिक सम्पदाका रुपमा रहेका सयौंवर्ष पुराना मन्दिर, दरवार, गुम्बा लोमान्थाङका प्रमुख आकर्षक भ्रमणयोग्य केन्द्र हुन्।

उपल्लो मुस्ताङको पदयात्रा जाने पर्यटकले काठमाडौं वा पोखराको अध्यागमन कार्यालयमा शुल्क तिरेर अनुमति लिनुपर्छ। ट्रेकिङ एजेन्सीले उक्त क्षेत्र जाने पर्यटकको सम्पुर्ण बन्दोबस्त मिलाएपछि मात्र अध्यागमनले अनुमति दिन्छ । सन् २००८ देखि अध्यागमनको पोखरा कार्यालयले पनि स्विकृति दिन थालेको छ। त्यसअघि उक्त क्षेत्रको पदयात्रा जाने पर्यटकले राजधानीको अध्यागमन कार्यालयबाट मात्र स्विकृति पाउँथे।

अर्धनिषेधित क्षेत्रमा पर्ने यस भेगमा सन् १९९२ देखि मात्र विदेशी पर्यटकका लागि खुल्ला गरिएको थियो। उक्त क्षेत्रमा सन् २००९ अघि प्रवेश शुल्क ७ सय डलर थियो। सन् २००९ देखि शुल्क कटौती गरिएको थियो। पर्यटकले बसाई लम्बाउन चाहे थप शुल्क तिर्नुपर्छ। लोमान्थाङ जाँदा कम्तिमा २ जना विदेशी पाहुना हुनुपर्छ। सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङ खुला गर्दा त्यो वर्ष ४ सय विदेशीले घुमेका थिए। त्यसपछि वर्षेनी संख्या बढ्दै गएपनि द्वन्द्वका कारण बीचमा घटेको थियो।  

प्रकाशित: ३ मंसिर २०८२ १७:३१ बुधबार

माथिल्लो मुस्ताङः अर्धनिषेधित क्षेत्र