अर्थ

एकै वर्षमा शिक्षा र भ्रमणमा दुई खर्ब बाहिरियो

नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी दुई प्रयोजनमा दुई खर्ब नौ अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपाली विदेश अध्ययन गर्न जाँदा एक खर्ब ४१ अर्ब रुपैयाँ र घुम्न जाँदा ६७ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ।

नेपालले आर्थिक वर्ष २०८२/८३ मा विदेशीको भ्रमणबाट ९० अर्ब पाँच करोड रुपैयाँ आम्दानी गरेको भए पनि नेपालबाट एक खर्ब १९ अर्ब रुपैयाँ बाहिरिएको छ।

विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ्नु र नेपालीमा अन्तर्राष्ट्रिय भ्रमणप्रतिको आकर्षण बढ्दै जानुले यस्तो खर्चमा वृद्धि भएको हो। शिक्षा र भ्रमणमा हुने खर्चले नेपाली नागरिकको बदलिँदो जीवनशैली, शैक्षिक आकांक्षा र आर्थिक गतिविधिलाई प्रतिविम्बित गर्छ। ठुलो परिमाणमा रकम बिदेसिँदा देशभित्रको पुँजी परिचालन, शैक्षिक क्षेत्रको विकास र विदेशी मुद्रा व्यवस्थापनमा चुनौती थपिन सक्छ।

पछिल्ला वर्ष विद्यार्थी अध्ययनका लागि विदेश जाने क्रम बढेको छ। विद्यार्थी विदेश पढ्न जाँदा सुरुका वर्षमा स्वदेशबाट पैसा लैजाने गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) को तथ्यांक हेर्दा आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म पाँच लाख ४८ हजार सात सय १७ जनाले ८३ देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि ५ खर्ब ५६ अर्ब ६८ करोड रुपैयाँँ बाहिरिएको सरकारी तथ्यांक छ। यसले युवा पुस्तामा पढाइसँगै कामको अवसरका लागि पनि बिदेसिने लहर बढ्दै गएको देखाउँछ।

नेपालबाट विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ्दै जाँदा शिक्षातर्फको खर्च पनि बढेको छ। विद्यार्थीले विश्वविद्यालय शुल्क, आवास, खाना, यातायात तथा अन्य शैक्षिक गतिविधिमा पैसा खर्च गर्छन्।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले गुणस्तरीय शिक्षा, रोजगारीका अवसर र अन्तर्राष्ट्रिय अनुभवलाई प्राथमिकतामा राख्ने गरेका छन्।

विदेश घुम्न जाने नेपालीको संख्या र खर्च बढ्दा भ्रमणतर्फ विदेशी मुद्रा बहिर्गमन पनि बढेको छ। विद्यार्थी बिदेसिने क्रमसँगै शिक्षाका नाममा नेपालबाट बाहिरिने विदेशी मुद्रा पनि बढ्दो छ। अध्ययनका लागि विदेश जाने विद्यार्थीले सुरुका दिनमा नेपालबाट पैसा लगे पनि अध्ययन पूरा गरेपछि रेमिटेन्स पठाउँछन्।

आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो। २०८३ असारमा विप्रेषण आप्रवाह २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ रह्यो। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ८९ अर्ब ११ करोड थियो।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६ हजार ४ सय १४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८५ हजार ७ सय ८९ थियो। अघिल्लो वर्ष यो संख्या क्रमशः ५ लाख ५ हजार ९ सय ५७ र ३ लाख ३३ हजार ३ सय ९ थियो।

नेपालीले गत आर्थिक वर्ष ६७ अर्ब १८ करोड रुपैयाँ विदेश घुम्न जाँदा खर्च गरेका छन्। नेपाली विदेश घुम्न जाने क्रम बढ्दै जाँदा ठुलो परिमाणमा विदेशी मुद्रा बाहिरिने गरेको हो। पछिल्ला वर्षहरूमा नेपालीहरू विदेश घुम्न जाने प्रवृत्ति तीव्र रूपमा बढेको छ।

विशेषगरी छिमेकी तथा दक्षिणपूर्वी एसियाली देशहरू नेपालीका लोकप्रिय गन्तव्य बनेका छन्। नेपाली सबैभन्दा बढी जाने देशहरूमा भारत, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, मलेसिया, सिंगापुर, चीन र जापान छन्। विशेषगरी थाइल्यान्ड, दुबई र मलेसिया नेपाली पर्यटकका लागि सस्तो र सहज गन्तव्य हुन्।

पछिल्ला वर्षहरूमा दक्षिणपूर्वी एसियाली देशहरूमा ‘प्याकेज टुर’ मार्फत घुम्न जाने चलन पनि बढेको छ। यसैगरी धार्मिक तथा सांस्कृतिक भ्रमणका लागि ठुलो संख्यामा नेपाली भारत जाने गरेका छन्। त्यस्तै नेपाली अध्ययन, तालिम र व्यावसायिक भ्रमणका लागि विभिन्न देश जाने गरेका छन्।

पछिल्लो समय नेपालीको आयस्तर केही बढेको छ। वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सका कारण धेरै परिवारको आर्थिक क्षमता बढेको छ। त्यसको प्रभाव विदेश भ्रमणमा पनि देखिएको छ।

ट्राभल एजेन्सीहरूले सस्तो प्याकेज उपलब्ध गराउन थालेका छन्। पाँचदेखि सात दिनसम्मका प्याकेज टुरमार्फत थाइल्यान्ड, मलेसिया वा दुबई जस्ता देशमा सहज रूपमा भ्रमण गर्न सकिने भएकाले नेपाली आकर्षित भएका छन्।

राष्ट्र बैंकका अनुसार विदेश भ्रमण गर्दा हवाई टिकट, होटलमा बस्ने–खाने, यातायात, किनमेल तथा मनोरञ्जनमा खर्च हुन्छ। त्यसैगरी क्यासिनो, मनोरञ्जन केन्द्र, सपिङ मल तथा विभिन्न पर्यटकीय गतिविधिमा हुने खर्च रकम पनि भ्रमण व्ययमा गणना हुन्छ।

विभिन्न कर्पोरेट हाउसले विदेशमा हुने अल्पकालीन तालिम, सम्मेलन, प्रदर्शनी वा व्यावसायिक भेटघाटमा कर्मचारीलाई लैजाने गरेका छन्। यी खर्च सेवा खाताअन्तर्गत भ्रमण व्ययमा समावेश गरिन्छ।

प्रकाशित: १२ आश्विन २०८३ ०८:३१ सोमबार