देशभरका यातायात व्यवसायी आइतबार पोखरामा भेला हुने भएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनमा सहभागी हुन देशभरका व्यवसायी पोखरामा जुट्न लागेका हुन् । महाधिवेशन वैशाख २७ गते आइतबारदेखि २९ गते मंगलबारसम्म सञ्चालन हुने शुक्रबार महासंघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
पोखरामा हुने महाधिवेशनमा देशका ७७ जिल्लाबाट करिब दुई हजार व्यवसायी सहभागी हुने गण्डकी प्रदेश संयोजक केदार पौडेलले जानकारी दिए । उनका अनुसार यात्रुवाहक तथा मालवाहक सवारी साधनसँग सम्बन्धित संघ, समिति, कम्पनी, प्रालि, पर्यटन तथा सहकारी क्षेत्रका ३८७ महासंघ सदस्य संस्थाका प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् ।
महाधिवेशनको उद्घाटन सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम रहेको महासंघका केन्द्रीय सदस्य केशव अधिकारीले बताए । महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै यातायात क्षेत्रका नीतिगत विषयमा छलफल हुने जनाइएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाहीका अनुसार यसपटक स्वचालित भाडा समायोजनको विषय मुख्य एजेन्डाका रूपमा उठाइनेछ । सरकारले स्वचालित भाडा समायोजन नगर्दा व्यवसायी मारमा परेको भन्दै यसलाई साझा मुद्दा बनाइने उनले बताए । यातायात क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने विषयमा पनि महाधिवेशन केन्द्रित हुने जनाइएको छ ।
प्रकाशित: २५ वैशाख २०८३ १८:४७ शुक्रबार



