अर्थ

पर्यटनलाई भावनासँग जोड्नुपर्छ: मन्त्री मण्डल

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटनलाई भावनासँग जोड्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सचिवालयबीचको समझदारी पत्र सम्झौतामा हस्ताक्षर समारोहमा मन्त्री मण्डलले पर्यटनको विकासलाई भौतिक भन्दा पहिले भावनात्मक विकास गर्नुपर्ने आवश्यकता आत्माबोध भएको बताए ।  

उनले भने, ‘पर्यटनको विकास भावनासँग जोड्नुपर्ने देखेँ । म एक वर्षदेखि मन्त्रालयको नेतृत्वमा छु । तर अपेक्षाकृत काम गर्न सकेको छैन । तर अहिले मेरो भावना पर्यटनसँग छ । यो अवधिमा धेरै कुरा सिक्ने मौका पनि पाएँ । अब पूर्वको पर्यटन प्रवर्दधनमा धेरै काम हुन्छ । लामो समयदेखि काम गरिरहेको पर्यटन बोर्डसँगको यो सहकार्यले हाम्रो क्षमता विकासमा पनि सहयोग गर्नेछ ।’

मन्त्री मण्डलले पूर्व प्राकृतिक रुपले, धार्मिक रुपले र सांस्कृतिक रुपले सम्पन्न भए पनि त्यसको प्रयोगमा काम नभएको बताए । उनले भने, ‘हामी प्राकृतिक, धार्मिक, सांस्कृतिक रुपले धनी छौँ । अब यसलाई पर्यटनसँग जोड्न आवश्यक छ । चितवन, पोखरालगायतका क्षेत्र यसअघि नै परिचित भएका छन् । अब काम गर्ने पालो कोशीमा हो । यसका लागि सरकार निजी क्षेत्र सबैले मिलेर गर्नुपर्छ ।’

भारतीय पर्यटक भित्र्याउन सजिलो भएको सुनाउँदै मन्त्री मण्डलले सुनाए, ‘भारतीय भूमिबाट नेपालको भेडेटारजस्तो ठाउँ आउन ६० किलोमिटर हिँडे पुग्छ । तर भारतमै त्यस्तो ठाउँ खोज्न ५००देखि ७०० किलोमिटर हिँड्नुपर्छ । ती भारतीयलाई हामीले नेपालमा ल्याउन सक्यौँ भने धेरै काम हुन्छ । पर्यटकीय गतिविधि अघि बढ्छ । कोशी प्रदेश सरकारले यसरी नै काम गरिरहेको छ।’

नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष २०८२ को सचिवालयबीच सहकार्य बढाउने समझदारी पत्रमा सम्झौता भएको छ । नेपाल पर्यटन बोर्डको कार्यालयमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक दीपक जोशी र मन्त्रालयका सचिवल इन्द्र सापकोटाले हस्ताक्षर गरेका छन् ।  

कार्यक्रममा पर्यटन बोर्डका विभिन्न विभाग प्रमुख तथा कोशी पर्यटन वर्षको सचिवालयका पदाधिकारीको उपस्थिति थियो ।

प्रकाशित: २९ मंसिर २०८२ १४:३९ सोमबार