ग्यासको माग उच्च भएसँगै आयल निगमले आधा परिमाण (७.१ किलो) ग्यास भरिएको सिलिन्डर बजारमा पठाउने निर्णय केहीदिन अघि गर्यो। निगमको निर्णयसँगै ग्यास उद्योगले पनि आधा सिलिन्डर ग्यास भरेर बजारमा पठाए। तर, पर्यटन क्षेत्रले भने आधा सिलिन्डरले झनै नोक्सानी खेप्नुपरेको गुनासो गरेको छ।
व्यावसायीका अनुसार होटल र रेस्टुरेन्टमा एकैपटक धेरैवटा सिलिन्डर जडान गरिने र हाईप्रेसर चुलो संचालन गरिने हुँदा आधा सिलिन्डरको प्रावधान पर्यटन क्षेत्रका लागि उपयुक्त हुन नसकेको हो। कास्की प्रशासनमा समेत उनीहरुले पर्यटन क्षेत्रका लागि पूर्ण क्षमतायुक्त सिलिन्डर (१४.२ किलो) आवश्यक रहेको भनेर जानकारी दिएका छन्।
रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार ठुला होटल र रेस्टुरेन्टका भान्सामा एकैपटक धेरै संख्यामा सिलिन्डर जडान हुने र हाईप्रेसर चुलो प्रयोग गरिने हुँदा आधा सिलिन्डरको उपयोग प्रभावकारी हुन सकेको छैन। ‘घरायसी प्रयोजनमा आधा सिलिन्डरले सहजै काम चल्छ। तर, हाईप्रेसर चुलोलाई भने आधा सिलिन्डरले समस्या पारेको छ। काम नै नगर्ने भन्ने होईन, बढि नोक्सानी भएको छ,’ उनले भने।
उनका अनुसार ठुला आकारका रेस्टुरेन्टको भान्सामा पूर्ण क्षमताको सिलिन्डर प्रयोग गर्दा हरेक सिलिन्डरमा करिब २ किलो ग्यास पिँधमा मौज्दात रहने गर्दथ्यो। पिँधमा मौज्दात रहेको ग्यास यत्तिकै खेर जाने वा सानो चुलोमा जडान गरेर खपत हुने गरेको थियो। तर, अहिले आधा सिलिन्डर ग्यास प्रयोग गर्दा त्यत्ति नै परिमाण अर्थात झन्डै २ किलो ग्यास पिँधमा मौज्दात रहने गरेको छ।
‘पूर्ण क्षमताको सिलिन्डरबाट हामीले १२ किलो मात्र ग्यास खपत गर्न पाएका थियौ। अहिले आधा सिलिन्डरबाट पनि २ किलो मौज्दात रहँदा पाँचकिलो मात्र उपयोग भएको छ,’ उनले भने, ‘हरेक सिलिन्डरबाट २ किलो ग्यास उपयोग नहुँदा बढि नोक्सानी भयो। पूर्ण आकारमा भरिएको र आधा सिलिन्डरबाट बराबरी २ किलो ग्यास खपत हुन सकेन। हरेक सिलिन्डरमा २ किलो ग्यास पिँधमा उपयोगविहीन हुँदा समस्या परेको छ।’
पौडेलका अनुसार २ वटा सिलिन्डरको नोक्सानी चारकिलो हुने गरेको छ। सातवटा सिलिन्डर प्रयोग हुँदा हरेकबाट २/२ किलो ग्यास पिँधमा संकलन हुँदा पूर्ण क्षमताको एउटा सिलिन्डर बराबर ग्यास उपयोग गर्न नसक्ने अवस्था रहेको उनले बताए। ‘आधामात्रै भरिएका सिलिन्डर धेरैवटा थुप्रिएका छन। त्यसले समस्या पारेको छ,’ उनले भने।
उनका अनुसार आधा सिलिन्डरको ग्यासको प्रेसर पूर्ण क्षमताको भन्दा कमजोर हुँदा भान्साको काम पनि प्रभावित हुने गरेको छ। ‘एकैपटक ठूलो परिमाणमा खाना तयार पार्नुपर्ने अवस्थामा ग्यासको खपत पनि बढि हुन्छ। त्यो बेला हाइप्रेसर चुलोको प्रयोग हुन्छ। घरायसी प्रयोजनमा जस्तो तरिकाले ठूला भान्सामा किफायती गर्न पनि सकिन्न,’ उनले भने, ‘पर्यटन क्षेत्रका लागि पूर्ण भरिएका र घरायसी प्रयोजनका लागि आधा सिलिन्डरको व्यवस्थापन गर्न आवश्यक छ।’ व्यवासायीले कास्की प्रशासनमा पनि यो बारेमा जानकारी दिएको र पहल हुने आश्वासन पाएको उनले बताए।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पनि आधा सिलिन्डर ग्यासले ठुला भान्सामा समस्या परेको बताउँछन्। ‘अहिलेसम्म त जसोतसो चलेको छ। कतिपय व्यावसायीले त आधा सिलिन्डर पनि प्रयोग गर्न थालिसकेका छन। तर, हाईप्रेसर चुलोमा आधा सिलिन्डरले नोक्सानी बढाउँछ,’ उनले भने, ‘सिलिन्डरको सबै ग्यास बल्नै पाउँदैन। एउटा सिलिन्डरबाट कम्तिमा २ किलो ग्यास पिँधमै रोकिन्छ। त्यसको नोक्सान व्यवासायीलाई परेको छ।’
होटल र रेस्टुरेन्टका लागि आधाको साटो भरिभराउ सिलिन्डर उपलब्ध गराएमा सहज हुने उनले बताए। ‘एकैपटक १० वटा आधा भरिएका सिलिन्डर दिने हो भने सट्टामा पाँचवटा दिनुस, तर, पूर्ण क्षमतामा भरिएका सिलिन्डर दिनुस भनेका छौ,’ उनले भने। उनका अनुसार भरिभराउ सिलिन्डर प्रयोग गर्दा पनि पिँधमा २ किलोजति मौज्दात रहन्थ्यो। आधा सिलिन्डरबाट पनि त्यत्तिकै परिमाणमा पिँधमा रहने हुँदा नोक्सानी खेप्नुपरेको छ।
ग्यास उद्योगीसँग पनि पर्यटन व्यावसायीले आधा सिलिन्डरको व्यवस्थापन पर्यटन क्षेत्रका लागि अव्यवहारिक भनेर गुनासो गरेका छन्। तर, आयल निगमले गरेको निर्णय अनुसार नै उद्योगले ग्यास भरेर पठाएको व्यावसायीको भनाई छ। ‘डिलरमार्फत पर्यटन क्षेत्रमा ग्यास जाने गरेको छ। त्यसले गर्दा एउटै डिलरकहाँ दुईथरि तौलका सिलिन्डर पठाउन पनि सम्भव हुँदैन,’ गृहलक्ष्मी ग्यास उद्योगका महाप्रबन्धक भीमराज लामिछाने भन्छन, ‘कि त उद्योगले नै होटल र रेस्टुरेन्टलाई सिधै ग्यास दिने हो भने सम्भव हुन्छ। नत्र दुईथरी तौलका सिलिन्डर भर्न झन्झट हुन्छ। एकैपटक दुई फरक तौलका सिलिन्डर भर्न मिल्दैन। त्यसका लागि पनि निगमले स्वीकृति दिनुपर्छ।’
होटल र रेस्टुरेन्ट व्यावसायीले हाइप्रेसर चुलो संचालन गर्न समस्या भयो भनेर उद्योगमा गुनासो गरेको पनि उनले बताए। ‘हाईप्रेसर चुलो चलाउने हुँदा सिलन्डरको पिँधमा ग्यास बचत हुने पक्का हो। घरायसी प्रयोजनका सिलिन्डरमा खासै धेरै रहन्न। तर हाईप्रेसरमा केही परिमाणमा ग्यास रहनु स्वभाविक हो,’ उनले भने, ‘हाईप्रेसर चुलोमा प्रयोग भएका सबै सिलिन्डरलाई दोहो¥याएर घरायसी काममा उपयोग गर्छु भन्दा पनि सबै व्यवहारिक नहुन सक्छ।’
आधा र पूर्ण तौलका सिलिन्डर भरेर बजार पठाउँदा उद्योगलाई खासै फरक नपर्ने उनले बताए। ‘गाडिको बोक्ने क्षमता मात्र फरक पर्ने हो। नत्र सिलिन्डर क्षमता, गन्तव्यसम्म पु¥याउँदाको इन्धन र जनशक्तिमा कम हुँदैन। ग्यास भर्नेदेखि ढुवानीसम्मको समय एउटै हो। मात्र गाडिले बोक्ने तौल केमी कम हुन्छ’ उनले भने।
प्रकाशित: ५ चैत्र २०८२ १८:३० बिहीबार