अर्थ

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले बिहीबार एक सूचना जारी गर्दै टोल शुल्क सङ्कलन सुरु हुने जानकारी दिएको हो।

सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम टोल शुल्क सङ्कलन गर्न लागिएको आयोजनाले जनाएको छ।

आयोजनाले सार्वजनिक गरेको दरअनुसार सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बसलगायत हलुका सवारीसाधनले ६५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ। काठमाडौं हुँदै बाहिरिने यस्ता सवारीसाधनका लागि ६० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

त्यस्तै, मिनी बस तथा मिनी टिपर वा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ तिर्नुपर्नेछ।

बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेशमा २६० रुपैयाँ र काठमाडौंबाट प्रस्थानमा २०० रुपैयाँ शुल्क तोकिएको छ।

मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा २५० रुपैयाँ टोल शुल्क लाग्नेछ।

प्रकाशित: १२ कार्तिक २०८३ ०८:५९ बिहीबार